कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अन्धविश्वासले राजधानीमै लिँदै छ ज्यान

झारफुक, बोक्सा/बोक्सीको आरोपमा यातना भोगेका कतिपय घटना अझै गुपचुपमै 
समाजशास्त्री भन्छन्– ‘अन्धविश्वास हटाउन सामाजिक, धार्मिक र सांस्कृतिक मान्यताहरु नै परिवर्तन गर्नुपर्छ’
लिला श्रेष्ठ

काठमाडौँ — गत साता नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीस्थित एक ‘माता’ को घरमा झारफुकबाट उपचार गराउन भन्दै राखिएकी एक किशोरीको तीन सातापछि मृत्यु भयो । सिन्धुपाल्चोकको चौतारा–२ बतासे घर भई भक्तपुरको मध्यपुर थिमि, मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको मृत्युपछि माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अन्धविश्वासले राजधानीमै लिँदै छ ज्यान

मृतक किशोरीको शरीरभरि नीलडाम देखिएको प्रहरीको भनाइ छ । किशोरीलाई टाउको दुख्ने समस्या थियो । लामो समयसम्म टाउको दुखिरहेको र मेडिकलमा देखाउँदा कुनै रोग पत्ता नलागेकाले किशोरीकी आमा राधिका श्रेष्ठले ठकुरीकामा लगेको बताइन् । तीन सातासम्म ठकुरीकै जिम्मामा रहेकी रोशनी शनिबार बिहान बेहोस भएको जानकारी परिवारलाई गराइएको थियो । परिवार नागार्जुन पुगेपछि मात्र किशोरीलाई मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको वृत्त प्रमुख डीएसपी मिलन केसीले बताए ।

‘अस्पतालमा उपचार गरेर पनि निको नभएकालाई उसैले झारफुक गरेपछि सन्चो भएको भन्ने सुनें, छोरीको दुखाइ निको हुने सोचेर विश्वासमा छोडेकी थिएँ,’ राधिकाले भनिन्, ‘मार्नलाई छाडेको जस्तो भयो ।’ ठकुरीले रोशनीलाई नियोजित रूपमै कुटपिट गरी त्रिशूलले घोचेर हत्या गरेको उनका ठूलोबुबा दुर्गाबहादुर श्रेष्ठको आरोप छ । डीएसपी केसीका अनुसार अनुसन्धानका क्रममा ठकुरीले बिरामी किशोरीको शरीरको रोग हटाउन झारफुक गर्दा कुटपिट गरेको स्विकारेकी छन् ।

‘ठकुरीले झारफुकका क्रममा कुटपिट गरेको स्वीकार गरेकी छन्, झारफुकका क्रममा बिरामीको शरीरबाट रोग भगाउन कुचो, त्रिशूल र रुद्राक्षको मालाले हान्ने गरेको समेत बताएकी छन्,’ डीएसपी केसीले भने, ‘उनीविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ, मृतक किशोरीको पोस्टमार्टम रिपोर्ट आएको छैन ।’

परम्परागत अन्धविश्वासमा परेर ज्यानै जानेसम्मको घटना भएको यो पहिलो पटक होइन । पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर गत भदौ २५ मा ललितपुरमा एक महिलाको हत्या भयो । हत्या आरोपी मकवानपुर राक्सिराङ–५, प्याङ्चे टोल घर भई ललितपुर महानगर–२८ हरिसिद्धि नयाँबजार बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी १८ वर्षीया प्रविना प्रजा र मोरङ पथरी शनिश्चरे–८, मंगलबारे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीका अनुसार उनीहरूले नुवाकोट बेलकोटगढी–९ घर भई ललितपुर–२७ सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरे । ज्यामी काम गरेर गुजारा गर्ने उनीहरूले छिट्टै धेरै रकम आर्जन गरेर धनी बन्ने सपनामा हत्या गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेका रहेछन्,’ एसएसपी चन्द्र कुबेर खापुङले भने, ‘सुनेकै भरमा एक्लै बसेकी महिलाको हत्या गरेछन् ।’

सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम–लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगालगायतका वस्तु करोडौं रुपैयाँमा बिक्री हुने हल्ला सुनेका थिए ।

जनचेतनाकै अभावमा सहरमै बोक्सा/बोक्सीजस्ता अमानवीय व्यवहार भएका घटना बाहिर आएका छन् । भदौ १८ मा ललितपुरको महालक्ष्मी–६ गँसी लुभुकी ३० वर्षीया सुष्मा श्रेष्ठ महर्जनले बोक्सीको आरोपमा अमानवीय यातना भोगिन् । पेट तथा खुट्टामा समस्या देखिएकी सुष्मालाई श्रीमान् जितेन्द्र महर्जनले अस्पतालमा लगेर उपचार गराउनुको सट्टा नागार्जुन–३ ठूलोभर्‍याङस्थित सानोबुबा नाता पर्ने झाँक्री दीपेन तामाङ (दीपेन्द्रकुमार थिङ) को कोठामा पुर्‍याए । लामा विधाबाट तन्त्रमन्त्र गर्ने क्रममा थिङले सुष्माको शरीरमा बोक्सी चढेको भन्दै धुपको धूँवा सुँघाएर बोक्सी भगाउनुपर्ने बताए । र, श्रीमान् जितेन्द्रलाई दुवै हात समाउन लगाएर कुटपिट गराए । काठको लट्ठी, रुद्राक्षको माला र लात्तीले सुष्मालाई मराणासन्न हुने गरी कुटपिट गरे । झाँक्री दीपेन र जितेन्द्रले सुष्मालाई कुटपिट मात्र गरेनन्, मलमूत्रसमेत खुवाएर दुई दिनसम्म राखे ।

कुटपिटबाट सख्त घाइते सुष्मालाई नदुख्ने औषधि खुवाएर यातना दिए । कुटपिटबाट हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने भएकी सुष्मालाई जितेन्द्रले २ वर्षीया छोरीसहित माइतीघर पुर्‍याएर छाडे । यातनाबाट पीडित उनी अझै तंग्रिन नसकेको आमा रूपा श्रेष्ठले बताइन् । बोक्सीको आरोपमा अमानवीय र अपमानजनक व्यवहारबाट पीडित सुष्माले भदौ २२ मा श्रीमान् जितेन्द्र, लामा झाँक्री मकवानपुर इन्द्रसरोवर–१ मार्खु घर भई काठमाडौं नागार्जुन–३ ठूलोभर्‍याङ बस्ने ३६ वर्षीय दीपेन तामाङ, मामाससुरा काठमाडौं–१४ कलंकी बस्ने दशनारायण महर्जन र नुवाकोट लिखु–१ बोहरापानी घर भई काठमाडौं–१५ स्वयम्भू बस्ने पाण्डे भन्ने जनार्दन पाण्डेविरुद्ध प्रहरीमा उजुरी गरिन् । पाण्डे ट्याक्सी चालक हुन् । प्रहरीले अपराधमा संलग्न चारै जनालाई भदौ २८ मा पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले सुष्माका पति जितेन्द्र र लामा झाँक्री थिङलाई बोक्सीको आरोपसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाएको छ । अपराधमा संलग्न दशनारायण महर्जन २ लाख रुपैयाँ र जनार्दन पाण्डे ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । सुष्माकी आमा रूपाले धरौटीमा रिहा भएकालाई थप कारबाही माग गर्दै उच्च अदालत पाटनमा उजुरी गरेकी छन् । ‘यातनापछि छोरीको मेरुदण्डमा समस्या देखिएको छ, नियमित थेरापी गराइरहेका छौं,’ उनले भनिन्, ‘अस्पताल लैजानुपर्ने बिरामीलाई झाँक्रीकामा लगेर यातना दिनेविरुद्ध लडिरहेका छौं, पक्कै न्याय पाइन्छ ।’

यी घटना प्रहरीमा उजुरी परेका र कारबाहीको दायरामा आएका मात्र हुन् । परम्परागत सोच, विकृति तथा अन्धविश्वास गाउँमा बढी र सहरमा केही कम देखिए पनि पूरै हटिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तम सुवेदीले बताए । ‘दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायरामा प्रहरीले ल्याएकै छ, यतिले मात्र पनि पुग्दैन,’ उनले भने, ‘समाज, संघसंस्था, सञ्चारमाध्यमले एक भएर जनचेतना फैलाउन जरुरी छ ।’

झारफुक, बोक्सा/बोक्सीको आरोपमा यातना भोगेका कतिपय घटना अझै गुपचुपमै भएको समाजशास्त्रीहरू बताउँछन् । ‘हाम्रो सामाजिक संरचना अझै परिवर्तन हुन सकेको छैन, मान्छेमा सचेतना छैन । अहिले पनि मान्छेहरू सजिलो बाटो खोजिरहेका छन्,’ त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र संकायमा प्राध्यापनरत सुरेन्द्र कोइरालाले भने, ‘शिक्षालाई व्यावहारिक र अभ्यासमूलक बनाउन नसकुञ्जेल सोचाइमा परिवर्तन हुन सक्दैन ।’

परम्परागत पद्धतिलाई अपनाउने र शिक्षालाई व्यवहारमुखी नबनाई अन्धविश्वासलाई हटाउन नसक्ने उनले बताए । अन्धविश्वास हटाउन सामाजिक, धार्मिक र सांस्कृतिक मान्यताहरू नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?