१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आफूलाई अब्बल बनाउँदै पूर्वकम्लरी

पहिले बँधुवा मजदुर भएकाहरु अहिले उच्च शिक्षामा छन् भने कोहीले विभिन्न सामाजिक संस्थाको नेतृत्वमा रहेर उदाहरणीय काम गर्दै छन्
दुर्गालाल केसी

दाङ — कुनै बेला कम्लरी भएर अर्काको घरमा काम गर्ने शान्ति चौधरी अहिले मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय अध्यक्ष छिन् । पश्चिम तराईका विभिन्न जिल्लामा हुने महत्त्वपूर्ण बैठक र कार्यक्रममा सहभागी हुन्छिन् र कम्लरीका विषयमा आफ्ना कुरा राख्छिन् । उनी अहिले १२ हजारभन्दा बढी मुक्त कमलरीको नेता बनेकी छन् । उनी अहिले कम्लरी होइन, अरूका लागि प्रेरणाकी स्रोत बनेकी छन् । 

आफूलाई अब्बल बनाउँदै पूर्वकम्लरी

पाँच वर्ष कम्लरी बसेकी कञ्चनपुरकी शान्तिले जिल्ला सचिव हुँदै दुई वर्षदेखि केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । उनलाई अहिले सबै बालिकाले प्रेरणाको स्रोतका रूपमा लिएका छन् । उनी घोराहीस्थित मञ्चको केन्द्रीय कार्यालयमा बसेर पश्चिम तराईका पाँच जिल्लामा भइरहेका कम्लरी मुक्तिका हरेक गतिविधिको योजना बनाउँछिन् र अरूलाई त्यहीअनुसार परिचालन गर्छिन् ।

पहिले हरेक माघीमा कम्लरी राख्ने र पुरानो ठाउँमा नवीकरण गर्ने विषयमा छलफल हुन्थ्यो । थारू बालिकाहरूका लागि भने यो दासताको पर्व थियो । कम्लरी मुक्ति आन्दोलनको उपलब्धिस्वरूप सरकारले २०७० असार १३ गते देशलाई कम्लरीमुक्त घोषणा गर्‍यो । त्यसपछि खुलमखुला कम्लरी राख्ने चलनको अन्त्य भएको छ ।

अहिलेसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १२ हजार ८ सय ५० कम्लरी मुक्त भएको मञ्चकी केन्द्रीय सचिव निर्मला चौधरीले बताइन् । तीमध्ये १ हजार ५ सय ३३ जना विभिन्न तहमा अध्ययनरत छन् । ‘१० जना त स्नातकोत्तर पढिरहेका छन् । तिनीहरू अरूका लागि हौसला र प्रेरणा बनेका छन्,’ उनले भनिन्, ‘कुनै बेला अरूको घरमा बँधुवा मजदुर भएका बालिकाहरू अहिले उच्च शिक्षामा छन् । छोरीहरूले अवसर पाए भने समाजको अगुवाइ गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् ।’

निर्मला पनि कम्लरी थिइन् । मञ्चको नेतृत्वदायी पदमा रहेर उनले समाजलाई राम्रो जवाफ दिएकी छन् । कम्लरीको पुनःस्थापना, बसोबास, शिक्षा र रोजगारीका विषयमा नियमित आवाज उठाउँछिन् । कम्लरीलाई परिचयपत्र पाउन पनि कठिन भइरहेको विषयमा सरोकारवाला निकायलाई झकझक्याइरहन्छिन् । अहिलेसम्म २ हजार ९ सय ४२ जनाले मात्रै सरकारी परिचयपत्र पाएको उनले बताइन् । ‘अरूले पनि पाउनुपर्छ,’ उनले भनिन्, ‘हामी सबै मुक्त कम्लरीलाई परिचयपत्र दिएर मुक्त कम्लरीबापतको सुविधा दिनुपर्छ भनेर आवाज उठाइरहेका छौं ।’

कम्लरी जीवनबाट मुक्त भएपछि हरेक बालिकाको भविष्य सुरक्षित भएको छ । घरबास र अभिभावकविहीन १ सय ९२ बालिका छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । कम्लरी मुक्त भएपछि अधिकांश बालिका सहकारीमा आबद्ध भएर विभिन्न आर्थिक गतिविधि सञ्चालन गरिरहेका छन् । हाल पश्चिम तराईका पाँच जिल्लामा मुक्त कम्लरीका ४२ सहकारी रहेको र त्यसमा १० करोड ३७ लाख ५४ हजार रुपैयाँको कोष रहेको मञ्चकी केन्द्रीय कोषाध्यक्ष विष्णु चौधरीले बताइन् । सहकारीमा मुक्त कमलरी र उनीहरूका परिवारसहित १३ हजार १ सय ३७ सदस्य आबद्ध छन् ।

कुनै बेला आर्थिक अभावकै कारण अरूको घरमा कम्लरी बस्न बाध्य बालिका अहिले आफैं विभिन्न आर्थिक गतिविधि सञ्चालन गरेर सहकारीमा बचत गर्न सक्ने भएको मञ्चकी संस्थापक केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताइन् । उनले नै सुरुमा मञ्च र सहकारीको नेतृत्व गरेकी थिइन् । ‘सुरुमा कम्लरीलाई विश्वास गर्न नसक्नेहरू अहिले अचम्म मानिरहेका छन् । हामीले लामो संघर्ष र परिश्रमबाट आफूलाई समाजमा स्थापित गरेका छौं । अब कसैले पनि कम्लरीका रूपमा हेर्न सक्दैन,’ उनले भनिन्, ‘समाजका महत्त्वपूर्ण व्यक्तिका रूपमा पहिचान बनाउन सफल छौं ।’ अहिले अभिभावकसमेत छोरीलाई काममा भन्दा विद्यालय पठाउन प्रेरित भइरहेको उनले बताइन् ।

मुक्त कम्लरीले समाजमा अरूलाई शिक्षा दिने खालका धेरै उदाहरणीय काम गरिरहेको घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । ‘अब हिजोजस्तो थारू समुदायका बालिकालाई कम्लरी ठान्ने अवस्था छैन । मुक्त बालिकाले धेरै नमुना काम गरिसकेका छन्,’ उनले भनिन्, ‘यसबाट अरू अभिभावक र बालिकाले सिक्न आवश्यक छ । अवसर पाए समाजमा आफूलाई स्थापित गर्न छोरीहरू सक्षम छन् भन्ने उदाहरण मुक्त कम्लरी बनेका छन् ।’

प्रकाशित : पुस ३०, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?