१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नाकाबाटै भाग्छन् संक्रमित

भारतबाट फर्किने १०% भन्दा बढीमा संक्रमण पुष्टि, नाकामा निगरानी गर्नै मुस्किल

धनगढी, कञ्चनपुर — कैलालीको त्रिनगर–भन्सार नाकामा मंगलबार भारतबाट घर फर्केका तीन जना कोरोना संक्रमण पुष्टि भएलगत्तै एकाएक हराए । नाकास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउद भन्दै थिए, ‘आँखा सामुन्नेबाटै गायब भए, कस्तो छल्न जान्या, कसरी खोज्ने होला ?’

नाकाबाटै भाग्छन् संक्रमित

उनका अनुसार नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको थियो । अलग्गै बस्न लगाएको र आइसोलेसन पठाउन एम्बुलेन्सको प्रतीक्षा गर्ने बेलासम्म त्यहाँबाट भागिसकेको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले राखेको हेल्थ डेस्कमा भारतबाट फर्कने नेपालीको एन्टिजेन परीक्षणमा संक्रमित पाइए धनगढी उपमहानगरपालिकाले बेलीमा बनाएको आइसोलेसन केन्द्रमा पठाउने गरिएको छ । ‘पोजिटिभ देखिएकालाई छुट्याएर एक ठाउँमा राख्छौं । तर केही त आँखा छलेरै भाग्ने गरेका छन्,’ डेस्क इन्चार्ज साउदले भने ।

सातायता भारतबाट फर्कने नेपालीको संख्या एक हजार हाराहारी छ । तीमध्ये दैनिक ६/७ सय जनाको एन्टिजेन परीक्षण हुँदै आएको छ । संक्रमण पुष्टि भएकामध्ये ३/४ जना भाग्ने गरेको साउदले बताए । ‘संक्रमित देखिएका न आफ्नो चिन्ता गर्छन्, न त परिवार र समाजप्रति जिम्मेवार बनेका छन्,’ साउदले भने, ‘उनीहरू आइसोलेसनमा बस्नै मान्दैनन् । जबर्जस्ती पठाउनुपरेको छ ।’ संक्रमितलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्न नसकिए नाकामा परीक्षण गर्नुको कुनै अर्थ नहुने उनले बताए ।

भारतमा कोरोनाको तेस्रो लहर बढेकाले रोजगारी गुमेर घर फर्कने नेपालीको संख्या फेरि बढेको छ । जनशक्ति अभावले हेल्थ डेस्कमा सबैको परीक्षण गर्न नभ्याइएको साउद स्विकार्छन् । ‘धेरै समय पर्खनुपर्दा पनि कोही परीक्षण नगरेरै हिँडिदिन्छन्,’ उनले भने, ‘१० देखि १५ प्रतिशत परीक्षण नगरी फुत्किने गरेका छन् ।’ नाकामा खटिएका प्रहरी र सशस्त्रको जनशक्ति पनि कम भएको उनले बताए ।

एक सय क्षमताको धनगढीस्थित आइसोलेसन केन्द्रमा बिहीबारसम्म ८० संक्रमित छन् । केन्द्र भरिन थालेपछि संक्रमितलाई राख्न समस्या भएको कैलाली जनस्वास्थ्य कार्यालय प्रमुख ललित धामीले बताए । अहिले पहाडी जिल्लाबाहेक कैलाली र कञ्चनपुरका संक्रमितलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउन थालिएको छ । आइसोलेसनको व्यवस्थापन जनस्वास्थ्य कार्यालयले नै गरिरहेको छ । ‘बिहीबार एकै दिन १ सय १४ जना पोजिटिभ देखिएको अवस्थामा आइसोलेसनको थप व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले सम्बन्धित वडाध्यक्षको सिफारिसमा पठाएका छौं ।’ हाल विभिन्न नाकामा खटिएका १८ स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भएको उनले बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले नाकामा सुरक्षाकर्मी अपर्याप्त भएको जानकारी आएको बताए । कैलाली त्रिनगर नाकाको सुरक्षा व्यवस्था कञ्चनपुरको प्रहरी प्रशासनले हेर्ने भएकाले दुवै जिल्लाबीच समन्वय गरेर थप सुरक्षाकर्मी परिचालन गर्नेतर्फ पहल गरिने उनको भनाइ छ । नाकामा खटिएका सशस्त्र प्रहरीका नायब निरीक्षक प्रेम खत्रीले पारिबाट आएका अटोरिक्सामा सिधै जाने गरेकाले पनि अलमल भइरहेको बताए ।

स्थानीय व्यवसायी हर्कबहादुर मडै नाकाबाट अनियन्त्रित रूपमा प्रवेश भइरहेकाले कोरोनाको डर बढेको बताउँछन् । ‘धेरै नेपाली फर्किरहेका छन्, कसैको परीक्षण भइरहेको छ, कोही परीक्षण नगराएरै भित्रिरहेका छन्,’ उनले भने, ‘नाकामा मेला लागेजस्तो हुन्छ, चार/पाँच सय मानिस जथाभावी घुमिरहेका हुन्छन् ।’ उनले भारतबाट भित्रिनेलाई यताउता जान नदिई सिधै होल्डिङ सेन्टरमा लगेर परीक्षण गर्ने व्यवस्था गर्न सके उचित हुने बताए ।

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बिहीबार ३६ जनाको स्वाब संकलन गरिएकामा करिब ५० प्रतिशत अर्थात् १७ जनामा संक्रमण पुष्टि भयो । बुधबार २४ जनाको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको थियो । केही दिनयता महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गराउन आउनेको संख्या दिनहुँ दोब्बरले बढिरहेको छ । यति मात्रै होइन, परीक्षणका लागि अस्पताल पुग्नेमध्ये आधामा संक्रमण देखिन थालेको छ । ‘अवस्था निकै भयावह हुन सक्ने देखिन्छ,’ महाकाली प्रादेशिक अस्पतालको कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘संक्रमण फेरि समुदायमै फैलिएको अनुमान गर्न सकिन्छ ।’

दुई साताअघि कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या १० भन्दा कम थियो । अहिले उक्त संख्या बढेर ५५८ पुगेको छ । जसमध्ये सय जनाभन्दा बढीलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । ‘५० बेडको आइसोलेसनमा दोब्बर संक्रमित राख्नुपरेको छ,’ डा. रोकायाले भने, ‘निर्माणाधीन होल्डिङ सेन्टर अझै तयार हुन सकेको छैन ।’ संघीय सरकारले महेन्द्रनगरको भगतपुरस्थित सालघारीमा निर्माण गर्न लागेको होल्डिङ सेन्टर तयार नहुँदासमेत बढी समस्या भएको हो । महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याबका २ जना प्राविधिकमा समेत संक्रमण पुष्टि भएको ल्याब इन्चार्ज केशवराज जोशीले बताए ।

भारतबाट फर्किनेमध्ये १० प्रतिशतमा संक्रमण देखिन थालेको हो । बिहीबार गड्डाचौकी नाकाबाट भित्रिएका १ हजार २७६ को एन्टिजेन परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भित्रिएका १ हजार ४६ मध्ये १ सय ६ जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले बताए । पछिल्लो एक सातामा मात्रै गड्डाचौकी नाकाबाट भित्रिएकामध्ये ४ सयभन्दा बढीमा संक्रमण देखिएको छ । अहिले १५ जना स्वास्थ्यकर्मी छन्, उनीहरूले बिहान ६ देखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा परीक्षण गरिरहेका छन् ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?