कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संक्रमण बढ्दा पनि ‘निष्फिक्री’

वीरगन्ज हटस्पट बन्न सक्ने जोखिम
प्रदेश २ ब्युरो

जनकपुर — कोरोना संक्रमण तीव्र फैलिरहेका बेला सावधानी र सतर्कता नअपाउँदा प्रदेश २ मा जोखिम बढेको छ । मास्कको प्रयोग र भौतिक दूरी पालना गरिएको छैन भने मानिसहरू भीडभाडमा निष्फिक्री घुमफिर गरिरहेका छन् । सर्लाहीका सुरक्षा अधिकारी नै संक्रमित हुँदा पनि जिल्लामा भीडभाड रोक्ने काम भएको छैन । 

संक्रमण बढ्दा पनि ‘निष्फिक्री’

कोभिड बढिरहेकै समयमा प्रमुख जिल्ला अधिकारीको सरुवाले समयमै डीसीसीएमसीको बैठकसमेत बस्न सकेन । जसका कारण कोभिडविरुद्धको रणनीति बन्न नसक्दा जोखिम बढेको नागरिक अगुवा रजनीकान्त झाले बताए । भारतीय सीमावर्ती क्षेत्रमा एक महिना पहिलादेखि स्वास्थ्य टोलीले जाँच गर्न थाले पनि नेपाल पक्षबाट सुरु हुन नसकेको उनको भनाइ छ । आइतबार मात्र डीसीसीएमसीको बैठकले २५ जनाभन्दा बढी जम्मा नहुन निर्णय गरे पनि पालना हुन सकेको छैन ।

बैठकले भारतसँग जोडिएको मुख्य नाकासहित १२ नाकामा हेल्थ डेस्क राख्ने निर्णय गरे पनि गोडैता र बलरा नगरपालिकाबाहेक अन्य नाकामा सञ्चालनमै आउन सकेको छैन । मुख्य नाका रहेको मलंगवा नगरपालिकाका मेयर निर्षल साहले आफू नै संक्रमित भएकाले हेल्थ डेस्क स्थापनामा ढिलाइ भएको बताए । मुख्य नाकामा हेल्थ डेस्क तथा नियमन नहुँदा बिनामास्क मानिसको ओहोरदोहोर भइरहेको छ ।

महोत्तरीका नाकामा पनि सतर्कता छैन । जिल्लाका ११ सीमा नाकामध्ये १० वटाबाट मानिस आउजाउ गरिरहेका छन् । जलेश्वरस्थित भिठ्ठामोड नाकामा मात्रै हेल्थ डेस्क राखिएको छ । यहाँ एन्टिजेन जाँच गर्दा हरेक दिन २ जनाभन्दा बढीमा संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले बताए ।

संक्रमण देखिएकालाई राख्ने क्वारेन्टिन वा आइसोलेसनको व्यवस्थापन नहुँदा सिधै घर पठाउने गरिएको छ । प्रहरीसँग समन्वय गरी संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको जलेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख सञ्जयकुमार शर्माले बताए । महोत्तरीको मटिहानी, सम्सी, मलिवारालगायतका मुख्य नाकाबाट दैनिक ५ सयभन्दा बढी मानिस स्वास्थ्य मापदण्ड पूरा नगरी ओहोरदोहोर गरिरहेका छन् ।

भारतीय सीमासँग जोडिएको वीरगन्ज सहर कोरोनाको पहिलो र दोस्रो लहरमा हटस्पट बनेको थियो । त्यतिबेला, मुस्किलले सम्हालिएको वीरगन्ज तेस्रो लहरमा प्रभावित बनिरहेको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार ९५ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भयो । वीरगन्जस्थित नेपाल–भारत सीमा नाकामा बिहीबार दिउँसोसम्म २ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ । डेस्ककी प्रमुख डा. अनिशा महतोका अनुसार सातायता संक्रमण पुष्टि हुनेमा भारतीयको तुलनामा नेपाली बढी छन् ।

प्रकाशित : पुस ३०, २०७८ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?