मृगस्थलीमै मृगको बिजोग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृगस्थलीमै मृगको बिजोग

स्वतन्त्र रूपमा विचरण गर्न नपाएका मृग उचित वातावरण र आहारबाट समेत वञ्चित
गोविन्द पोखरेल

काठमाडौँ — बुधबार दिउँसो पशुपतिको मृगस्थलीमा दुई प्याकेट बिस्कुट लिएर यताउता घुमिरहेका थिए, एक युवक । उनी यहाँ मृगका लागि बिस्कुट बेच्दा रहेछन् । उनी दैनिक एक कार्टुन बिस्कुट बेच्छन् । मृगस्थलीमा उनीजस्तै बिस्कुट बेच्ने १० जनाभन्दा बढी छन् । हरेक कार्टुनमा ४० प्याकेट बिस्कुट हुन्छ । कहिलेकाहीँ एक जनाले कार्टुन नै किनेर मृगलाई खुवाउँछन् । १० जनाले एक–एक कार्टुन बेचे पनि दैनिक ४ सय प्याकेट बिस्कुट मृगका लागि खपत हुन्छ ।

फलामे जालीभित्र राखिएका मृग मान्छे देख्नेबित्तिकै खानेकुरा पाउने आसमा नजिक आउँछन् र बिस्कुटका लागि तँछाडमछाड गर्छन् । मृगको मुख्य खाना घाँस हो तर उनीहरूलाई बिस्कुट खानुपर्ने बाध्यता छ किनकि यहाँ घाँस छैन । मृग मात्रै होइन, पशुपतिका बाँदरलाई पनि बिस्कुट दिने गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा मृगलाई नियमित तीन पटकसम्म घाँस, दाना र चोक्कर दिने गरेको बताउँछन्, यद्यपि तिनको लगाव भने बिस्कुटतिर देखिन्छ ।

पौराणिक कथाअनुसार पशुपति क्षेत्रमा अवस्थित मृगस्थलीमा भगवान् शिवले मृग रूप लिएर हजारौं वर्षसम्म ध्यान गरेका थिए । हिन्दुहरू मृगस्थलीलाई पुण्य क्षेत्रका रूपमा लिन्छन् । पौराणिक कथालाई पुनर्जीवित गर्ने भनेर २०६२ सालमा यहाँ २१ वटा मृग ल्याइएको थियो । कोषका अनुसार मृगस्थली–श्लेषमान्तक वनको क्षेत्रफल २८ हेक्टर छ । मृगहरूकै लागि भनेर वनभित्रै मृग वाटिका बनाइयो । तर, संख्या बढेपछि यहाँका मृगले न स्वतन्त्र रूपमा कुद्न/उफ्रन पाएका छन् न त राम्रोसँग बस्न नै । खतिवडाका अनुसार मृगको संख्या बढेर १६७ पुगेको छ । यहाँ राखिएका मृगको बिजोग यतिसम्म छ कि उनीहरू झारसमेत देख्न पाउँदैनन् । जमिनमा ढुंगा र प्लास्टिक मात्रै छन् । जसका कारण उनीहरूका लागि मृगस्थलीको वातावरण असहज बन्दै गएको छ ।

मृगवाटिका परिसरमा असरल्ल प्लास्टिक । तस्बिर : अनिश रेग्मी /कान्तिपुर ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख एवं प्राध्यापक डा. तेजबहादुर थापाका अनुसार घाँस खाने जीवलाई बिस्कुटको लत बस्दा असर मात्रै गर्दैन, उनीहरूको आनीबानीदेखि शारीरिक ढाँचामा समेत असर गर्छ । ‘सकेसम्म यी वन्यजन्तुलाई प्राकृतिक खाना उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘प्राकृतिक खानामा उपलब्ध हुने पौष्टिक तत्त्वहरू जंक खानामा हुँदैनन्, यसले गर्दा असर गर्छ । यो एकदमै गलत हो ।’ प्राणीशास्त्र विभागकै अर्का प्राध्यापक मुकेश चालिसे मानिसहरूलाई जंक फुडले असर गरेजसरी वन्यजन्तुहरूमा पनि असर पर्ने बताउँछन् । यस्ता कार्यहरू रोकिनुपर्ने उनको भनाइ छ ।

‘२० वर्ष आयु रहेको बाँदर अहिले १२ वर्षसम्म मात्रै बाँच्ने गरेका छन्’

वन्यजन्तुलाई प्राकृतिक खानाभन्दा मानिसले खाने जंक फुड (पत्रु खाना) दिँदा रोग संक्रमणको जोखिम बढ्ने वन्यजन्तुविद् बताउँछन् । काठमाडौं उपत्यकाभित्रका मठमन्दिरमा बस्ने बाँदरहरूको उदाहरण दिँदै प्राध्यापक चालिसे भन्छन्, ‘मानिसको नजिकमा बस्ने बाँदरमा मान्छेलाई सजिलो पर्ने खानामा आश्रित हुने बानी परेको छ । यिनीहरू पहिला–पहिला प्राकृतिक खानेकुरा खान्थे । भोकै बस्नुभन्दा बाँदर र मृगले चाउचाउ, बिस्कुट, तेलजन्य र रासायनिक पदार्थ मिसिएका खाना खान थालेका छन् । यसले मानिसमा लाग्ने रोगव्याधि उनीहरूमा सरेको छ ।’

चालिसेको एक अध्ययनमा मानिसले जस्तै चाउचाउ, बिस्कुटलगायत तेलजन्य खाना खाँदा उपत्यकाका बाँदरमा मानिसमा लाग्ने रोग देखिएको उल्लेख छ । बाँदरमा झाडापखाला, लुतो, रुघाखोकी, टीभीलगायतका रोगहरू देखिएको थियो । ‘अहिले पनि यी रोग बाँदरमा देख्न सकिन्छ । कोही लुतो कनाइरहेका, केही आँखा पाकेको, रुघा लागेका अवस्थामा छन्,’ उनले भने । प्राकृतिक खानाभन्दा अन्य खानेकुरा दिँदा वन्यजन्तुले रोग भण्डारणको काम गर्ने र फैलने खतरा हुने उनले बताए । ‘भोकै मर्न लागे भन्दैमा जनावरवादी भएर जंक फुड खुवाउनु हुँदैन,’ चालिसे भन्छन्, ‘सकेसम्म प्राकृतिक खाना नै खुवाऔं ।’

जंक फुड खुवाउँदा वन्यजन्तुहरूको आयु पनि घटिरहेको उनले बताए । ‘२० वर्ष बाँच्न सक्ने बाँदर अहिले १२ वर्षसम्म मात्रै बाँच्ने गरेका छन् । मानिसमा जस्तै ट्युमर, प्रसूतिजन्य रोग पनि देखिएका छन्,’ उनले भने । प्राकृतिक अवस्थामा वन्यजन्तुलाई चाहिने खाना दिन उनले आग्रह गरे । कोषका कार्यकारी निर्देशक खतिवडाले भने मृगलाई बिस्कुटलगायतका जंक खानामा नियन्त्रण गरेको दाबी गरे ।

मृगस्थली–श्लेषमान्तक वन क्षेत्र मासिँदै गएको छ । डेढ दशकअघिसम्म वन क्षेत्रबाट तिलगंगामा जल प्रवाह हुने गरे पनि सडक निर्माणका कारण वन क्षेत्र खुम्चिएको कोषको प्रस्तावित गुरुयोजना प्रतिवेदनमा उल्लेख छ । वन क्षेत्रमा जथाभावी सडक खन्नाले पहिरो तथा भूक्षयको जोखिमसमेत औंल्याइएको छ ।

मृगले वन क्षेत्रमा भएका रूखका बोक्रा चिथोरेर कुरूप बनाएका छन् । जसका कारण रूख सुक्दै जाने र मर्ने गरेको गुरुयोजनामा उल्लेख छ । यसले मृग र वन दुवैको संरक्षण भएको छैन । मृग वाटिका व्यवस्थापनका लागि १० जनाभन्दा बढी कार्यरत छन् । मृगको खानाका लागि लाखौं खर्च हुने गरेको छ । सीमित क्षेत्रमा धेरै मृग पाल्न उपयुक्त नभएको भन्दै विज्ञ टोलीले तयार गरेको गुरुयोजनाले मृग स्थानान्तरण गर्नसमेत सुझाव दिएको छ । कोषका कार्यकारी निर्देशक खतिवडा भने गुरुयोजनाले भनेजसरी सबै काम हुन नसक्ने बताउँछन् । ‘कोषको बैठकले पारित भएपछि मात्रै गुरुयोजना लागू हुन्छ,’ उनले भने ।

प्रकाशित : पुस ३०, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा थपिँदै कोरोना संक्रमित

रासस

बेइजिङ — चीनमा देशभित्रै संक्रमित भएकाहरूको संख्या बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्लो समय चीनमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । 

बिहीबार चीनका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना संक्रमितहरू भेटिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएको जनाइएको छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरूमा पनि संक्रमितहरू पाइएको हो ।

संक्रमण देखिएपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।

डिसेम्बरको मध्यतिर दैनिक १५० जनाभन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति लिएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।

प्रकाशित : पुस ३०, २०७८ १३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×