विद्यालय जान थाले सैनामैनाका आमाहरू

अमृता अनमोल

बुटवल — विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बिचमै पढाइ छाडेका महिलाको शिक्षा पूरा गराउनका लागि विद्यालय सञ्चालन भएको छ । आमाहरूको काँधमा घर व्यवहार चलाउने जिम्मेवारी छ । तैपनि समय निकालेर पढ्न गएका छन् ।

विद्यालय जान थाले सैनामैनाका आमाहरू

हरिकला घर्ती मगरले बाल्यकालमा पढ्न पाइनन् । ९ वर्षकै उमेरमा बिहे भयो । त्यसपछि घरधन्दा र छोराछोरी हुर्काउँदैमा दिन बिते । अहिले छोराछोरी हुर्किए । घरधन्दा कम हुँदै गयो । ५१ वर्षे टिकामाया दिउँसो फुर्सद निकालेर पढ्न जान थालेकी छन् । ‘असाध्यै पढ्न मन थियो,’ उनले भनिन्,‘ त्यसैले पोहोर साल प्रौढ कक्षाबाट सावा अक्षर सिकें । अहिले कक्षा ४ मा भर्ना भएकी छु ।’

हरिकला मेहनती छिन् । नियमित गृहकार्य गर्छिन् । आवाज निकालेर अंक र गुणन कण्ठस्थ गर्छिन् । ‘पढाइमा मात्रै ध्यान दिन पाइँदैन,’ हरिकलाले सुनाइन्, ‘भान्सामा काम गर्दै‚ पढ्दै गर्नुपर्छ । नातिनातिना हेर्दै‚ लेख्दै गर्नुपर्छु ।’ मोबाइल चलाउने र आफ्नो नाम लेख्ने रहरले पढ्न गएकी टिकामायाको अब कक्षा १२ सम्म पढ्ने धोको छ । गाउँका साना विद्यार्थीजस्तै नेपाली र अंग्रेजी फरर पढ्ने रहर छ ।

रुपन्देहीको सैनामैना नगरपालिका-६ पटनामा महिला विद्यालय सञ्चालन भएको छ । विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बीचमै पढाइ छाडेका महिलाको विद्यालय शिक्षा पूरा गराउन विद्यालय खोलिएको हो । सैनामैना नगरपालिकाले गोरखनाथ सामुदायिक सिकाइ केन्द्रलाई यस वर्षदेखि आधारभूत तहसम्म पढाइ हुने महिला विद्यालयमा रुपान्तरण गरेको हो । महिलाहरू कक्षा उत्तीर्ण हुँदै नयाँ कक्षामा जाँदा विद्यालयलाई मावि तहसम्म पुर्‍याइने लक्ष्य छ । गाउँमै महिला विद्यालय खुलेपछि पढ्ने रहर भएका धेरै आमाहरू विद्यालय जान पाएका छन् ।

त्यसमध्येकी हुन्, ४५ वर्षीया लालुमाया राना । सावाँ अक्षरसमेत नजानेकी उनी गतवर्ष साक्षरता कक्षामा भर्ना भएकी थिइन् । अहिले उनी कक्षा ४ मा पढ्दैछिन् । नेपाली खरर पढ्छिन् । मोबाइल चलाउँछिन् । दिउँसो विद्यालयमा पढ्छिन् । साँझ-बिहान घरधन्दा गर्दै गृहकार्य सक्छिन् । उनको एसईईसम्म पढ्ने उनको धोको छ । ‘समयले बाल्यकालमा पढ्न दिएन । अहिले भए पनि रहर पूरा गर्दैछु,’ भीमाले भनिन्, ‘लेखपढ नजान्दा धेरै पटक ठक्कर खाएँ । पैसा नचिन्दा धेरै पटक ठगिएँ । साथीसंगी र आफन्तबाट अपमानित पनि भएँ । अब कहिल्यै त्यस्तो भोग्नुपर्ने छैन ।’ गुल्मीमा जन्मेकी लालुमायाले जान्ने भएदेखि घाँसदाउरा गरिन् । दाजुभाइलाई पढ्न पठाउँदा उनलाई पठाइएन । ‘साह्रै रहर थियो पढ्ने । अहिले पूरा भयो,’ लालुमायाले सुनाइन् ।


तस्बिर : अमृता अनमोल/कान्तिपुर ।

मेची-महाकाली बुहारी संयुक्त आवाजले विद्यालय व्यवस्थापन गरेको छ । उसले नै नगरपालिकाभित्र पढ्न नपाएका महिलाको सूची तयार पार्ने र विद्यालय आउन परामर्श गरेको छ । उनीहरूमध्ये धेरै साक्षर कक्षाबाट अक्षर चिनेका महिला हुन् । कोही बिचमै पढाइ छाड्ने महिला पनि छन् । अर्घाखाँचीकी मानकुमारी थापा कखरा पढ्दै थिइन् । बिहे भयो । घरधन्दा र छोराछोरी हुर्काउने कामले पढेका कुरा पनि बिर्सिंदै गइन् । अहिले मोबाइल र फेसबुकको जमाना आयो । उनलाई पढ्ने रहर लाग्यो । तिनै ४७ वर्षीया मानकुमारी थापा अहिले कक्षा ४ मा पढ्दैछिन् । उनले अहिले स-साना अंग्रेजी वाक्य पढ्न र मोबाइल चलाउन सिकेकी छन् । उनको एसईई‍सम्म पढ्ने मायाको धोको छ । ‘पढे संसार चिनिँदोरहेछ । पढेर जागिर खाने उमेर गयो तर पनि एसईईसम्म गर्नेछु,’ मानकुमारीले भनिन् ।

विद्यालयमा अहिले २५ जना महिला अध्ययनरत छन् । धेरैजसो आमा बनेका विद्यार्थी छन् । कोही हजुरआमा बनेका छन् । आमाहरूको काँधमा घरव्यवहार चलाउने जिम्मेवारी छ । तैपनि जसोतसो समय निकालेर पढ्न गएका छन् । नगर प्रमुख चित्रबहादुर कार्कीले घरेलु मजदुर, श्रमिकलगायत पढ्न नपाएका किशोरीहरूलाई समेत विद्यालय ल्याउन सर्वेक्षण थालेको बताए । ‘सबै महिलालाई शिक्षा र रोजगारीको अवसर दिने लक्ष्य छ,’ उनले भने, ‘पढाइ पूरा गरेका महिलालाई जागिर वा व्यवसायमा लाग्न पनि सघाउनेछौं ।’

विद्यालयमा बिहान ११ देखि दिउसो ३ बजेसम्म पढाइ हुन्छ । अन्य दिन विद्यालयको कोर्स पढाइन्छ । हप्ताको एक दिन शुक्रबार व्यवहारिक शिक्षा पढाइन्छ । त्यसमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, मानवअधिकार लगायत विषय रहेको केन्द्रकी अध्यक्ष लता खड्काले बताइन् । ‘महिलाहरूको अधुरो शिक्षा पूरा गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालय सञ्चालन गरिएको हो,’ उनले भनिन्, ‘विद्यालयबाटै रोजगारी र आयमूलक काम पनि सिकाइनेछ ।’

प्रकाशित : पुस २९, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?