खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : सरकारका प्रवक्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : सरकारका प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उनले बताएका छन् ।

'नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।' बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो जानकारी दिएका छन् ।

यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

विज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको छ । त्यसले तेस्रो लहरको रूप लिइसकेको पनि उनीहरुले बताएका छन् । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसंख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । जसमा वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् ।

प्रकाशित : पुस २९, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा एकै दिन साढे २ लाखलाई कोरोना‚ सीमावर्ती राज्यमा पनि संक्रमण बढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख  ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो बुधबारको भन्दा २७ प्रतिशत बढी हो । बुधबार १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २७ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पश्चिम बंगालमा २२ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २१ हजार ३ सय ९० जना‚ केरलामामा १२ हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नेपालको सीमावर्ती राज्य बिहारमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७९ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय २५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ ।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

प्रकाशित : पुस २९, २०७८ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×