कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्पतालमा थपिँदै संक्रमित तर लक्षण सामान्य

बुनु थारु

काठमाडौँ — कोभिड संक्रमण विस्तारसँगै अस्पतालमा पनि बिरामी भर्नाको दर बढेको छ । कोभिड उपचार गर्ने उपत्यकाका अधिकांश ठूला सरकारी अस्पतालमा बिरामी थपिएका छन् । देशभरका संक्रमितमध्ये आधाभन्दा बढी सक्रिय संक्रमित काठमाडौं उपत्यकामा छन् ।

अस्पतालमा थपिँदै संक्रमित तर लक्षण सामान्य

पुस २२ मा उपत्यकामा ३ सय १० संक्रमित रहेकामा सातापछि मंगलबार यो संख्या बढेर १ हजार २ सय ८६ पुगेको थियो ।

बुधबार काठमाडौंमा १ हजार १ सय ६८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ गरी एकै दिन उपत्यकामै १ हजार ५ सय ३८ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ३२ पुगेको छ । यहाँका केही अस्पतालमा एक/दुई दिनयता बिरामी बढेका छन् भने कुनैमा एक सातामै ५ गुणाले बिरामीको संख्यामा वृद्धि भएको छ ।

वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले एक साताअघि ८ जनामात्र कोभिडका बिरामी भर्ना भएकामा बुधबार ३९ जना भर्ना भएका छन् । ‘अहिले ६ जना आईसीयूमा कडा खालको निमोनिया भएर उपचार गराइरहेका छन् भने २ जना भेन्टिलेटरमा छन्,’ उनले भने, ‘भर्ना भएका धेरैमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, जीउ र टाउको दुख्ने तथा थकान महसुस हुनेजस्ता सामान्य लक्षण देखिएको छ ।’ समग्रमा बिरामी भर्ना हुने दर डेल्टा भेरिएन्टको भन्दा अहिले कम रहेको उनको विश्लेषण छ । ‘एक त बिरामी गम्भीर अवस्थाका छैनन्, आएका पनि चाँडै निको भएर डिस्चार्ज भइरहेका छन्,’ उनले भने । भर्ना हुनेमा ३५ देखि ६० वर्ष उमेरका छन् र प्रायःले कोभिड खोप लगाइसकेका छन् ।

बिरामी भर्नाको संख्यामा उकालो लागेसँगै अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् । वीर अस्पतालमा १२ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन रामविक्रम अधिकारीले एक सातायता १७ जना बिरामी भर्ना भएकामा अहिले २२ जना उपचाररत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड वार्डका फिजिसियन डा. किजन महर्जनले भर्ना भएका बिरामीमा कडा लक्षण नदेखिएको बताए । उनका अनुसार बुधबारसम्म १२ जना भर्ना भएकामा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा छन् । एक साताअघि भर्ना हुनेको संख्या २/३ जना थियो ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हाल ९ जना कोभिडका बिरामी उपचाररत छन् । जसमा कोही पनि सिकिस्त संक्रमित नभएको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । हाल अस्पतालमा तीन दिनभित्र १५ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । डा. श्रेष्ठले सेवा निरन्तर प्रवाह भए पनि काम गर्न केही अप्ठ्यारो भइरहेको बताए ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका कोभिड फोकल पर्सन डा. प्रविन नेपालले एक साताअघि बिरामी ८ देखि १० जना भर्ना हुन्थे, अहिले ४५ भन्दा बढी भर्ना भएका छन् । ‘सबै जनामा ज्वरो आउने, खोकी लाग्नेजस्ता सामान्य लक्षण देखिएका छन्,’ उनले भने, ‘अक्सिजन नै चाहिने बिरामी एकदम कम छन् ।’

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार ओमिक्रोन भेरिएन्टले फोक्सोभन्दा पनि माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउँछ । नाक, घाँटी, छाती, श्वासनलीमा बढी संक्रमण गराउन गराउने उनले बताए । ‘डेल्टा भेरिएन्टले सिधै छातीभित्र गएर फोक्सोमा असर गर्थ्यो र एकैचोटि निमोनिया गराइदिन्थ्यो,’ उनले भने, ‘ओमिक्रोनको मुख्य लक्षण रुघा लाग्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने गरेको पाइयो । ओमिक्रोनले फोक्सोको रोग लागेर निमोनिया हुने सम्भावना भने कम छ । खोप लगाएकालाई भने त्यति गाह्रो बनाउँदैन ।’ हालैको अध्ययनअनुसार खोप लगाएकोभन्दा नलगाएकोमा १० गुणा बढ्ता संक्रमण हुने भन्दै उनले अस्पताल भर्नामा १७ गुणा बढी र मृत्यु हुने सम्भावना २० गुणा बढी रहेको बताए ।

‘ओमिक्रोनबाट संक्रमित १ जनाले १० जनासम्मलाई संक्रमण गराउन सक्छ । यो कतिसम्म बढेर जान्छ भन्ने कुरा हाम्रै हातमा छ,’ डा. कोइरालाले भने, ‘जनस्वास्थ्यका मापदण्ड पालना गरे द्रुत रूपमा सर्न पाउँदैन ।’

कोभिड उपचार गरिरहेका भारतका विभिन्न अस्पतालका अनुसार डेल्टाभन्दा ओमिक्रोनले ल्याएको तेस्रो लहरमा अस्पताल भर्ना हुने संख्या त्यति धेरै छैन । जो भर्ना भएका छन्, उनीहरूलाई अक्सिजनको आवश्यकता छैन । धेरैजसो बिरामीमा ज्वरो, घाँटी दुख्ने, जीउ दुख्ने र कमजोरी जस्ता लक्षण देखिए छ भने उनीहरूको निको हुने अवधि छोटो छ ।

अमेरिकामा मंगलबार एकै दिन १३ लाखमा संक्रमण पुष्टि भएको थियो । रोयटर्सका अनुसार तीन सातायता अस्पताल भर्ना हुनेको संख्या दोब्बरले बढेको छ । अस्पतालमा जनशक्तिको अभाव देखिएको छ ।

प्रकाशित : पुस २९, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?