कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दाहाल र बतासलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र

सुरज कुँवर

काठमाडौँ — नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

दाहाल र बतासलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र

मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार, नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि लेखी पठाएको हो । यस संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भनेको छ ।

मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र लेखेको मन्त्रालयका एक उपसचिवले बताए । उनका अनुसार, उक्त पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । ‘यस्लाई भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइएको छ,’ ती उपसचिवले कान्तिपुरसँग भने ।

उनका अनुसार, मंगलबार पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि लेखी पठाउने निर्णय मंगलबार दिउँसो गरेर बेलुकी कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नती कार्यक्रमका लागि धनगढीतर्फ लागेका थिए ।

व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा क्याफे सञ्चालनको सम्झौता गरेको सहसचिवस्तरीय छानबिन समितिबाट देखिएपछि मंगलबार नाराणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका थिए ।

दाहालले गत वर्ष ‘नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति’ बनाई आम्दानी वृद्धि गर्न त्यहाँको चमेना गृहलाई क्याफे बनाउने लगायतका निर्णय गराएका थिए ।

प्रकाशित : पुस २८, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?