१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नयाँदिल्लीस्थित नेपाली दूतावासबाट हटे भारतीय सुरक्षाकर्मी

राजेश मिश्र

नयाँदिल्ली — नयाँदिल्लीस्थित नेपाली दूतावास परिसरमा वर्षौंदेखि खटिएका भारतीय सुरक्षाकर्मी हटेका छन् । दूतावासको लगातार आग्रहपछि भारत सरकारले उनीहरूलाई हटाएको हो । 

नयाँदिल्लीस्थित नेपाली दूतावासबाट हटे भारतीय सुरक्षाकर्मी

विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भए पनि नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै १० जना भारतीय सुरक्षाकर्मी बस्दै आएका थिए । सिक्किम प्रहरीबाट दूतावासको सुरक्षार्थ भनेर सानो ब्यारेक निर्माण गरेर उनीहरूलाई खटाइएको थियो । ‘६ वर्षअघि दीपकुमार उपाध्याय राजदूत भएर आएका बेला सुरक्षाकर्मी भित्रै आएर बस्न थालेका हुन्,’ दूतावासका एक कर्मचारीले भने ।

नीलाम्बर आचार्यले आफू राजदूत भएर आएपछि सुरक्षाकर्मी हटाउन परराष्ट्रका अधिकारीलाई मौखिक रूपमा पटकपटक आग्रह गरेका थिए । उनले फर्कनु तीन महिनाअघि भारतीय विदेश मन्त्रालयलाई पत्र नै लेखेर दूतावासभित्रबाट सुरक्षाकर्मी हटाउन माग गरेका थिए ।

‘नीलाम्बर सरले भारतीय सुरक्षाकर्मीलाई दूतावास परिसरभित्र खेल्न र दौडिन रोक लगाउनुभएको थियो । उहाँ उनीहरूलाई हटाउनुपर्ने पक्षमा अडिग हुनुहुन्थ्यो,’ दूतावासका एक अधिकारीले भने, ‘उहाँको प्रयास बल्ल सार्थक भएको छ ।’ अहिले दूतावासको बाहिरी भागमा भारतीय सुरक्षाकर्मीको अर्को टोलीले गस्ती गर्छ ।

दूतावासको बाहिरी भागको सम्पूर्ण सुरक्षा त्यही देशबाट हुने गरे पनि भित्री क्षेत्रको रेखदेख र सुरक्षाको जिम्मेवारी दूतावास राख्ने मुलुककै हुने गर्छ । दूतावासमा नेपाल प्रहरीबाट एसएसपीको एउटा दरबन्दी छ । त्यसबाहेक नेपाल प्रहरीको अन्य जनशक्ति छैन । ठूलो क्षेत्रमा फैलिएको दिल्ली दूतावासको आन्तरिक सुरक्षाका लागि नेपाल प्रहरीकै केही जवानको दरबन्दी सिर्जना गर्न जरुरी रहेको दूतावासमा काम गरेर फर्किएका एक सुरक्षा अधिकारीले बताए ।

प्रकाशित : पुस २८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?