नारायणहिटीमा ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

सुरज कुँवर

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटीमा ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । दाहालले राजीनामाको एक प्रति आफूलाई पठाएको मन्त्री आलेले बताए । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको थियो ।

नारायणहिटीमा बतास : ठेक्काबाहेककै ‘१४ रोपनी कब्जा’

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गत बुधबार गठित ‘नारायणहिटी दरबार संग्रहालयको परिसरमा क्यान्टिन/क्याफेटेरिया सञ्चालनसम्बन्धी अध्ययन एवं छानबिन समिति’ ले पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको देखाएको छ ।

‘क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नगरी’ संग्रहालयका कार्यकारी निर्देशक दाहालले आफ्नै तजबिजले बढी क्षेत्र दिएर थप निर्माण गर्न बतास कम्पनीलाई प्रोत्साहन गरेको देखिएको पनि समितिको ठहर छ ।

समितिले सोमबार पर्यटनमन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको दाबी गरेका छन् । ३० वर्ष पुरातत्व विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको उनको जिकिर छ ।


२०७६ साल मंसिर ३ गते ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त दाहालले संग्रहालयको स्रोत साधन जुटाउने उद्देश्यले ठेक्का प्रक्रिया आह्वान गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । देशभर कोरोना संक्रमण फैलिइरहेका बेला संग्रहालयमा स्रोत अभावका कारण आफूले सफा नियतले ठेक्का प्रक्रिया सुरु गरेको उनको दाबी छ । तर सम्झौताअनुरुप बतास समूहले काम नगरेको उनले बताए ।

सम्झौतामा उल्लेख भएको भन्दा बढी क्षेत्रमा बतास समूहले संरचना नबनाउन आग्रह गर्दा नटेरेको उनले बताएका छन् । मौखिक रूपमा आफ्नो निर्देशन दोस्रो पक्षले नमानेको उनको दाबी छ । बतास समूहले सम्झौताविपरीत आफूखुसी संरचना निर्माण गरेको उनको भनाइ छ । संग्रहालयको अहित गर्ने मनशायले आफूले काम नगरेको उल्लेख गर्दै छानबिन सही तरिकाले चलोस् भनेर राजीनामा दिएको दाहालले बताएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २७, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?