स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अनुरोध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । 

कोभिड -९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।

हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।

'यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआई दिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन,' कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, 'कोभिड १९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ ।'

त्यस्तै अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : पुस २७, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

थाहा नगरमा स्थानीय विषय 

कान्तिपुर संवाददाता

हेटौंडा — थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गराउने भएको छ । नगर क्षेत्रका विद्यालयमा पढिरहेका विद्यार्थीलाई आफ्नो ठाउँबारे ज्ञान दिने उद्देश्यले स्थानीय पाठ्यक्रम ‘थाहा ज्ञानमाला’ लागू गर्न लागेको नगर प्रमुख लवशेर विष्टले बताए ।

उनका अनुसार दुई चरणमा पाठ्यक्रम लागू गर्ने नगरपालिकाको योजना छ । पहिलो चरणमा नगरका सबै विद्यालयका कक्षा १–५ सम्म ‘थाहा ज्ञानमाला’ को पठनपाठन सुरु हुनेछ भने दोस्रो चरणमा कक्षा ६–८ सम्म पाठ्यक्रम लागू हुनेछ ।

कक्षा १–५ सम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको उनले बताए । कक्षा ६–८ पाठ्यक्रममा स्थानीय मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वका विषयवस्तु, घटना र पात्रलाई समेटिएको छ ।

प्रकाशित : पुस २७, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×