कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चक्रबाट चञ्‍चला

लिंग परिवर्तनपछि अब उनको जोड नेपालले पनि समलिंगी विवाहलाई कानुनी मान्यता देओस् भन्ने छ 
पर्वत पोर्तेल

दमक — न्वारानको नाम चक्र साउदेन लिम्बू । आफैंले जुराएको नुमा लिम्बू ‘चञ्चला’ । पुरुषका रूपमा जन्मिएका चक्र लिंग परिवर्तनपछि चञ्चला बनिन् । चक्रबाट चञ्चलामा रूपान्तरण उनलाई आफैं कुनै फिल्मको कथाजस्तै लाग्छ । 

चक्रबाट चञ्‍चला

उनी मोरङ बबियाबिर्ताको किसान परिवारमा जन्मिए । दुई छोरीपछि जन्मिएको छोरो । लालनपालनमा ‘लाडप्यार’ थियो । तर, उमेर बढ्दै गएपछि स्वभावमा परिवर्तन हुन थाल्यो । छोरीहरूसँग मात्रै घुलमिल, उनीहरूकै लुगा, गरगहना, लिपस्टिक पाउडरप्रति रुचि । ‘सुरु सुरुमा त आफैं अचम्म पनि लाग्थ्यो,’ चञ्चलाले सुनाइन् ।

स्कुल पढ्दादेखि नै केटाहरूभन्दा फरक स्वभाव । केटी जस्तो हाउभाउका कारण स्कुले साथीले अपशब्द बोलेर खिसिट्युरी गर्थे । ‘छक्का हिँजडा भनेर गिज्याउँदा धेरै दुःख लाग्थ्यो,’ उनी सम्झिन्छिन् । अरूभन्दा फरक भएकामा दुःख त छँदैथ्यो, सँगै आफैंलाई कौतुहलता पनि थियो । कलेज पढ्न विराटनगर पुगेपछि त्यहाँ पनि अपशब्दका दुर्व्यवहार सामना गर्नुपर्‍यो ।

‘आत्महत्या गर्ने सोच पनि आयो तर कसोकसो सम्हालिएँ,’ उनले भनिन् । कलेज पढ्दै गर्दा सन् २००८ तिर लैंगिक र अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गर्ने एक संस्थासँग उनी जोडिइन् । त्यसको सम्पर्कपछि उनले बल्ल आफूलाई चिन्ने मौका पाइन् । त्यसयता उनी निरन्तर अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा क्रियाशील छिन् ।

सुरुमा तेस्रो लिंगीका रूपमा खुल्न गाह्रो थियो, संस्थासँगको सहकार्यले सघायो । पुरुष भएर वंश चलाउनुपर्छ भन्ने परिवार र समाजको सोचविरुद्ध उनले विद्रोह बोलिन् । ‘अहिले फर्किएर हेर्दा मैले कसरी त्यो आँट गरेछु भन्ने लाग्छ,’ चञ्चलाले विगत कोट्याइन्, ‘आँट नगरेको भए म चक्रकै रूपमा बाँच्नुको विकल्प थिएन ।’

हुँदाहुँदा उनमा पूर्ण रूपमै महिला हुने मोह भयो । अन्ततः सन् २०१४ मा थाइल्यान्ड पुगेर लिंग परिवर्तन गराइन् । त्यसपछि लगत्तै मोरङ जिल्ला प्रशासन कार्यालयबाट नुमा लिम्बू चञ्चलाको नामबाट नागरिकता पनि लिइन् । ‘पहिला नागरिकतामा नाम चक्र थियो,’ उनले भनिन्, ‘पछि नुमाका रूपमा नागरिकता लिएँ ।’ महिलाको नामबाट नागरिकता लिन सास्ती भोग्नुपरेको उनले सुनाइन् ।

२०६४ पुस ६ मा सर्वोच्च अदालतले ‘पहिचानका आधारमा तेस्रो लिंगीलाई नागरिकता दिनू’ भने पनि नागरिकता पाउन सजिलो नभएको उनको अनुभव छ । ‘छोराका रूपमा जन्मिएको मान्छे पछि छोरी पनि हुन सक्छ । उसले छोरीकै नामको नागरिकता पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनी थप्छिन्, ‘नागरिकताको नाम सच्याउन पनि प्रशासनमा झन्झट छ ।’

झापाको दमकस्थित लिड नेपाल संस्थाकी हर्ताकर्ता २८ वर्षीया चञ्चलाले कानुनी अड्चनका कारण आफूखुसी बिहे गर्न पाएकी छैनन् । समलिंगी बिहेलाई अझै कानुनी मान्यता छैन । ‘समलिंगी बिहेका मुद्दा नेपालभन्दा पछि उठाउने देशहरूले कानुनी मान्यता पाइसक्दा पनि हामीले चाहिँ किन नपाउने ?,’ चञ्चलाको प्रश्न छ, ‘यत्रो वर्षदेखि लड्दा पनि हामीले न्याय नपाउने ?’

प्रकाशित : पुस २७, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?