कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओली, देउवा र दाहालको अन्तिम  ‘इनिङ्स’

पार्टीको विधानमा रहेका व्यवस्था कायमै रहे भर्खरै महाधिवेशनबाट निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका लागि यो कार्यकाल अन्तिम हुनेछ । माओवादीमा बाध्यात्मक व्यवस्था छैन तर अध्यक्ष पुष्पकमल दाहालले यो कार्यकाल आफूलाई अन्तिम अवसर भएको बताएका छन् । त्यसो भएमा पाँच वर्षपछि तीनवटै पार्टीको नेतृत्व अर्को पुस्तामा सर्नेछ ।
मणि दाहाल

काठमाडौँ — मंसिरको दोस्रो साता चितवनको सौराहामा नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र चलिरहँदा युवाको एउटा समूहले गेटमा ‘आजलाई होइन भोलिलाई, दस वर्ष ओलीलाई’ भन्ने नारा लगायो ।प्रधानमन्त्रीका रूपमा ओलीलाई निरन्तरता दिनुपर्ने भन्दै सुरु भएको नारामा उनले अझै एक दशक पार्टी नेतृत्व दिनुपर्ने माग थियो, जुन एमाले विधानको व्यवस्थासँग मेल खाँदैन ।

ओली, देउवा र दाहालको अन्तिम  ‘इनिङ्स’

अहिलेको विधानमा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था कायमै रहे एमाले अध्यक्ष ओलीसहित आधा दर्जन पदाधिकारीले आगामी कार्यकालबाट बिदा लिनुपर्ने हुन्छ । फागुनमा ओली ७१ वर्षमा प्रवेश गर्दै छन् ।

अर्को ठूलो दल नेपाली कांग्रेसले मंसिर अन्तिम साता शेरबहादुर देउवालाई सभापतिमा दोहोर्‍याउँदै नयाँ नेतृत्व चयन गर्‍यो । महाधिवेशनले देउवाका निकटहरूलाई निर्वाचित गरेर केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत पनि दिएको छ तर दुई युवा नेता महामन्त्रीमा निर्वाचित भएपछि अन्य विषय छायामा परे । विधानको व्यवस्थाअनुसार देउवा अन्तिम पटक सभापति चयन भएका हुन् । ७६ वर्षे देउवाले उमेरका कारणले मात्रै नभएर विधानको व्यवस्थाअनुसार पनि अर्को महाधिवेशनबाट सभापति छाड्नुपर्ने हुन्छ । कांग्रेसमा दुई कार्यकाल मात्रै नेतृत्वमा रहने व्यवस्था छ ।

मंसिरयता एमाले र कांग्रेसमात्रै नभएर अन्य दुई दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि महाधिवेशनबाट नेतृत्व चयन भएको छ । राप्रपाबाहेक दलले शीर्ष नेतृत्वमा पुरानैलाई दोहोर्‍याएका छन् । अहिलेको राजनीतिक प्रणालीलाई उल्ट्याउने मुद्दा बोकेका राप्रपा अध्यक्ष लिङ्देन कमल थापालाई पराजित गर्दै अध्यक्ष भएका हुन् । तीन दशकभन्दा बढी समयदेखि माओवादीको नेतृत्व गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष दाहालले कहिलेकाहीँ भूमिका परिवर्तन गर्ने कुरा गरेर यो कार्यकाल अन्तिम हुने संकेत गरेका छन् तर औपचारिक रूपमा घोषणा भने गरेका छैनन् ।

प्रमुख राजनीतिक दलमा अहिले देखिएका संकेतले नेपालको राजनीतिलाई नयाँ दिशातर्फ लैजान अवसर र चुनौती दुवै प्रदान गरेको छ । राजनीतिशास्त्री चन्द्रदेव भट्टले मुद्दा र नेतृत्व दुवैको हिसाबले दलका नेतृत्व संक्रमणकालमा रहेको बताए । ‘यो कार्यकालपछि अनिवार्य रिटायरमेन्टको विषय छ, नेतृत्वमा नयाँ व्यक्ति आउने सम्भावना छ,’ भट्टले भने, ‘नेपालको राजनीति जसरी लामो समयदेखि संक्रमणकालमा रह्यो, त्यही अवस्थामा नेपालका राजनीतिक पार्टी छन् । राजनीतिक मुद्दाको हकमा पनि संक्रमणकाल देखिन्छ ।’ भट्टका अनुसार लामो समयदेखि नेपालको राजनीतिमा पुस्तान्तरणको विषय उठ्दै आएको थियो, बहस हुँदै आएको थियो । त्यसले कताकता सार्थकता पाएको देखिन्छ ।

२०१७ सालमा दलमाथि प्रतिबन्ध लागेको समय, २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना हुँदै ०६२–०६३ को जनआन्दोलनपछि चौथो पटक पार्टी नेतृत्व संक्रमणकालमा रहेको उनको बुझाइ छ । पछिल्लो महाधिवेशनपछि एमालेमा भन्दा कांग्रेसमा अलि फरक देखिएको उनले बताए । ‘एमालेमा नेतृत्व परिवर्तन भयो तर कांग्रेसमा जस्तो गरी भएन, पछिल्लो समयमा त्यो नयाँ अवस्था सिर्जना भएको छ, जसरी पुस्तान्तरण हुनुपर्ने थियो, त्यसरी भएन,’ उनले भने, ‘एमालेमा जुन प्रकारको लोकतान्त्रिक अभ्यास हुनुपर्ने थियो, त्यति भएन ।’

मंसिर १० देखि १४ सम्म चितवनको सौराहामा भएको एमाले महाधिवेशनमा जसरी नेतृत्व छनोट गरिएको थियो, त्यसको आलोचना भएको थियो । लामो समयदेखि पार्टी नेतृत्व छनोटका लागि आन्तरिक प्रतिस्पर्धालाई रोक्दै एमालेमा अध्यक्षबाट नाम प्रस्ताव गरिएको थियो । एमालेकै कतिपय नेताले यो कार्यलाई आन्तरिक लोकतन्त्रमा एमालेले प्राप्त गरेको उपलब्धिलाई समाप्त पार्ने खेल भन्दै टिप्पणी गरेका थिए । ‘२०६२–०६३ जसले नेतृत्व गरेका थिए, ती अहिले कांग्रेसको नेतृत्वमा पुगेका छन्, एमालेमा पनि त्यो पुस्ता अब नेतृत्वमा आउँछ,’ भट्टले भने ।

एमालेले असोजमा गरेको विधान महाधिवेशनले ७० वर्षपछि कार्यकारी पदमा निर्वाचित हुन नपाउने व्यवस्थाको व्याख्या अध्यक्षमा ओलीलाई सहज हुने गरी गरेको थियो । विधानमा कुनै पनि नेता कार्यकारी पदमा बढीमा दुई कार्यकाल र ७० वर्ष उमेर पार गरेपछि निर्वाचित हुन नपाउने व्यवस्था छ । उमेर हदको व्यवस्थाका कारण एमालेमा २०३६ सालअघिबाट राजनीतिमा सक्रिय रहेको पुस्ता अर्को महाधिवेशनमा सक्रिय राजनीतिबाट बाहिरिनेछ । जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र सुवास नेम्वाङ हुनेछन् ।

राजनीतिक विश्लेषक झलक सुवेदी अहिलेको विधानअनुसार ओली र देउवाका लागि अन्तिम कार्यकाल भएको बताउँछन् । ‘विधानलाई मान्ने हो भने ओलीका लागि यो नै अन्तिम हो, देउवाका लागि भने यो अन्तिम हो, त्यस अर्थमा संक्रमणकाल भन्न सकिन्छ,’ सुवेदीले भने, ‘अस्ति महाधिवेशन हुँदा कार्यकर्ताले दस वर्ष ओलीलाई भनेर नारा लगाएका छन् । पार्टीका जानकारीबेगर तल्लो तहका कार्यकर्ताले नारा लगाएका होइनन् होला । कतिपयमा एमालेमा संक्रमण अहिले नै बेला भएको छैन, दस वर्ष गरुन् भन्ने मानसिकता रहेको देखिन्छ ।’

२०७१ सालमा पहिलोपटक अध्यक्षमा निर्वाचित हुनेबित्तिकै ओलीले एक कार्यकालमात्रै अध्यक्ष हुने घोषणा गरेका थिए । उनीनिकट नेताहरूले अहिलेको राष्ट्रिय राजनीतिको ध्रुवीकरण ओली र ओलीइतरबीच भएको भन्दै नेतृत्वमा दोहोर्‍याउनुपर्ने तर्क गरेका थिए । एमालेले आठौं महाधिवेशनदेखि दुई कार्यकाल र नवौं महाधिवेशनबाट ७० वर्षे प्रावधान लागू गरेको थियो । जसअनुसार अमृत बोहरा, भारतमोहन अधिकारी, सिद्धिलाल सिंहसहित वरिष्ठ नेताहरूले सक्रिय राजनीतिक जीवनबाट बिदा लिइसकेका छन् । विश्लेषक सुवेदीले एमाले र कांग्रेसको पछिल्लो महाधिवेशनले फरक फरक पुस्तामा नेतृत्व जाने संकेत गरेको बताए ।

‘कांग्रेसमा ०४६ साल र एमालेमा ०३६ सालकै पुस्तामा जाने देखिन्छ,’ उनले भने । कांग्रेसबाट पदाधिकारीमा निर्वाचित नेताहरूमा ०३६ सालको पुस्ता नभई ०४६ सालको बाहुल्य छ । ‘कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा आए, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे आए । धनराजबाहेक अरू सबैको राजनीति मूलतः पञ्चायतकालपछिकै हो, यो ०४६ सालको पुस्ता हो,’ सुवेदीले भने, ‘एमालेमा अर्कोमा जाने भनेको शंकर पोखरेल वा घनश्याम भुसालहरूको हो अर्थात् २०३६ सालको पुस्तामा जाने हो ।’

कांग्रेसको महाधिवेशनले सभापतिपछिको महत्त्वपूर्ण कार्यकारी पद महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मालाई निर्वाचित गरेको छ । पञ्चायती व्यवस्थामा ओलीले देउवाभन्दा केही बढी वर्ष जेलमा बिताएको भए पनि देउवाको राजनीतिमा सक्रियता भने केही अघि हो । ओलीको राजनीतिको सुरुवात झापा विद्रोहभन्दा अघिबाट भएको हो भने देउवा विद्यार्थी राजनीति हुँदै कांग्रेसको राजनीतिमा आएका हुन् ।

राजनीतिशास्त्री भट्टले कांग्रेसको पछिल्लो महाधिवेशनले एउटा पुस्तालाई नै असान्दर्भिक बनाएको बताएका थिए । ‘५५ वर्षदेखि ७८ वर्ष उमेर समूहका नेतालाई महाधिवेशनले विस्थापित गरिदियो, १४ औं महाधिवेशनबाट जुन नयाँ युवा आएका छन्, १५ औं महाधिवेशनपछि कांग्रेसलाई नेतृत्व गर्ने संकेत देखाएको छ,’ भट्टले भने, ‘तलदेखि माथिसम्म प्रतिनिधि छनोट भएर आएका छन् । त्यसले नयाँ प्रकारको तरंग ल्याएको छ ।’

एमाले र कांग्रेसभित्र देखिएको संक्रमणको कसरी व्यवस्थापन हुन्छ, त्यो विषयले नेपालको आगामी राजनीतिलाई तय गर्छ । ‘कांग्रेसमा पुरानो पुस्ताको सभापति हुनुहुन्छ र पावरफुल दुई जना महामन्त्री नयाँ पुस्ताका हुनुहुन्छ । महामन्त्रीले सभापतिलाई ओभर स्याडो गर्ने हो कि ? त्यसलाई कसरी व्यवस्थापन गर्छ ? यसले धेरै कुरा निर्भर गर्छ,’ भट्टले भने, ‘दुईवटै महामन्त्रीको भाषणकला छ, उनीहरूको पछि एक प्रकारको भीड छ, हाबी हुने सम्भावना देखिन्छ तर अर्को वर्ग पनि छ । फरक धारणा छ । त्यसैले कांग्रेसभित्र नयाँ प्रकारको संक्रमणकाल छ ।’ लोकतन्त्रमा पार्टीको शक्ति त्यसले लिन विचार र अपनाउने अभ्यासले निर्धारण गर्ने गर्छ ।

राजनीतिक दलमा विचारको विषयमा छलफल नै नहुने र वैचारिक विषयमा छलफल गर्नेहरू किनारा लाग्ने गरेका छन् । एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा पार्टीको औपचारिक लाइन पारित गरेका घनश्याम भुसाल दसौंमा आइपुग्दा किनारामा परेका छन् भने कांग्रेसको महाधिवेशनमा वैचारिक विषयमा छलफल नै भएको छैन । महामन्त्रीमा निर्वाचित गगन थापाले आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

महाधिवेशनमा नेतृत्व छनोटको विषय अभ्यासमा पनि फरकपन देखापर्‍यो । लोकतन्त्रिक अभ्यासको च्याम्पियनको दाबी गर्ने एमालेमाथि यसपटक नेतृत्व चयन गर्दा प्रजातान्त्रिक प्रक्रियालाई अवरुद्ध पारेको आरोप लाग्यो । अर्कोतर्फ कांग्रेसले निर्वाचनको माध्यमबाट नेतृत्व छनोट गर्ने प्रक्रिया अपनायो । नेतृत्वको उत्तराधिकारी छनोटको विषयमा समस्या उत्पन्न गराउन सक्ने आकलन एमालेकै कतिपय नेताहरूले गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा अहिले पनि विचार र अभ्यासको विषयमा समस्या देखिए विगतमा जस्तै त्यसलाई पार लगाउने बताए । ‘एमालेमा यसअघि पनि समस्या आएका थिए र पुनःजागृत भएको छ, अहिले विचार र अभ्यासको हिसाबले एमालेले केही ठूला चुनौती सामना गरिरहेको छ,’ उनले भने, ‘आगामी राजनीतिका चुनौतीहरूले त्यही विचार र लोकतान्त्रिक अभ्यास फर्काउनका लागि आवश्यक पर्दा विशेष महाधिवेशन गरेर भए पनि एमालेले आफूलाई अघि बढाउँछ ।’

संक्रमणकालीन नेतृत्वको पहिलो परीक्षा एक वर्षभित्र भइसक्ने तीन तहको चुनावले गर्नेछ । ‘संक्रमणकालको प्रभाव पार्ने अर्को विषयमा एमाले र कांग्रेसको पनि धेरै विषयमा चुनावले निर्धारण गर्नेछ,’ भट्टले भने, ‘लामो समयदेखि कांग्रेसमा प्रभाव जमाएर बसेकाले टिकट पाउँछन् कि पाउँदैनन् ? पाएपछि जित्छन् कि जित्दैनन् ? त्यहाँ अलग प्रकारको ह्विम चलेको छ । लामो समयदेखि सत्तामा बस्नेहरूले खासै डेलिभरी पनि गर्न सक्नुभएको थिएन । त्यसमा मानिसले परिवर्तन खोजिरहेका छन् । कांग्रेसले जुन प्रकारले महाधिवेशन गर्‍यो, त्यसले परिवर्तनको चाहनालाई परिपूर्ति गर्ने प्रकारको वातावरण सिर्जना गरेको छ ।’

प्रकाशित : पुस २७, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?