कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नारायणहिटीमा भएको अनियमितता गर्नेलाई कारबाही गर्छौं : पर्यटनमन्त्री आले

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारमा भएको अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन् । 

नारायणहिटीमा भएको अनियमितता गर्नेलाई कारबाही गर्छौं : पर्यटनमन्त्री आले

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले नारायणहिटी दरबारमा भएको अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका हुन् । उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताए ।

मन्त्री आलेले बतास समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृतिबिना नै १४ रोपनी जग्गामा नयाा संरचना निर्माण गरेको पाइएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेकोमा आफूलाई धन्यवाद दिएको भन्दै राम्रो काम गर्नका लागि आफूलाई कसैले रोक्न नसक्ने बताए । नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ (बंकर)भित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको खुलासा गरे ।

मन्त्री आलेले भने, ‘वास्तवमा यो लकडाउनको समयमा नारायणहिटी राजदरबारभित्र क्याफे, पसल सञ्चालन गर्नका लागि विगतमा नै त्यो निर्णय भएको रहेछ । देशविदेशबाट मलाई सूचना आएपछि मैले यसलाई सूक्ष्म तरिकाले अध्ययन गर्न थालेँ । अध्ययन गर्दै जाने क्रममा १४ रोपनी जग्गामा पक्की स्ट्रक्चर निर्माण गरेको पाइयो ।’

यी सबै कुरा हेर्दा बिना कुनै इजाजत १४ रोपनीमा भौतिक संरचना निर्माण गरेको देखिएको भन्दै मन्त्री आलेले त्यसको सुरक्षा गर्ने काम नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको रहेको बताए । तर‚ दाहालले पर्याप्त निगरानी गर्न नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए ।

‘वास्तवमा एउटा संग्रहालय, देशको सम्पत्तिमा देखिएको समस्या समाधान गर्ने जिम्मा नेपाली जनताले मलाई दिएका छन् । त्यसको संरक्षण गर्ने मेरो कर्तव्य हो । आज हाम्रो राज्यको सम्पत्ति यसरी दोहन भयो भने भोलि गएर हाम्रो केही पनि बाँकी रहनेवाला छैन । यस्ता खालका विभिन्न ठाउँमा कब्जा हुने काम भइरहेका छन्‚’ उनले भने‚ ‘त्यतिमात्रै नभएर त्यहाँ एउटा धेरै पुरानो सुरुङसमेत रहेछ । बंकरलाई पनि तोडमोड गरेर त्यहाँ के के काम गर्ने भन्ने निर्णय सञ्चालकले गर्नुभएको रहेछ ।’

छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर भएका अनियमिततालाई कडाइका साथ छानबिन गर्ने र कारबाही गर्नैका लागि आफू यहाँ आएको भन्दै मन्त्री आलेले प्रतिवेदनको माध्यमद्वारा अनुसन्धान र आवश्यक कारबाहीको लागि पहल गर्ने आश्वासन दिए । ‘जसले यसमा कमी कमजोरी गरेका छन्‚ ती सबैलाई कडा कारबाही हुनेछ । कौडीको भाउमा मिलेमतोमा भएको यो काम खेदजनक छ । यो कारबाही नगर्ने भएको भए छानबिन समिति नै बन्ने थिएन‚’ उनले भने‚ ‘कौडीको भाउमा दरबारमार्गजस्तो प्राइम लोकेसन, जहाँ मानिसले करोडौं रुपैयाँ भाडा तिर्छन्, त्यस्तो ठाउँमा मिलेमतोमा कौडीको भाउमा यो काम भएको छ, यो खेदजनक छ ।’

प्रकाशित : पुस २६, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?