कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सिमसार सङ्कुचनले घटे जलपक्षी

काठमाडौँ — मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।  

सिमसार सङ्कुचनले घटे जलपक्षी

सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपक्षी गणनामा स्वयंसेवी, पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण सङ्घसंस्थाको सहभागिता हुने गर्छ । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ले समन्वय गर्ने गर्छ ।

चरा संरक्षणकर्मीका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि संख्यामा भने कमी आएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपक्षी वा पानी चरा भनिन्छ ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपक्षी गणनामा संलग्न ‘बर्ड एजुकेसन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपाली सो क्षेत्रमा केही नयाँ प्रजातिका चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताए ।

सो क्षेत्रमा गतवर्ष ५५ प्रजातिका नौ हजार ५६५ चरा फेला परेका थिए । उनका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले पनि जलपक्षी विस्थापित हुँदै गएका छन् । उनले यकीन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताए ।

संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत गणनामा सहयोग गर्दै आएको छ । दुई हप्तासम्म चल्ने यस गणनामा तीन सयभन्दा बढी अवलोकनकर्ता सहभागी छन् ।

नेपालमा अभिलेख भएका ८ सय ८९ प्रजातिका चरामा २ सय हाराहारी जलपक्षी छन् । तिनमा पनि झन्डै एक सय प्रजाति हिउँदे आगन्तुक चरा हुन् । रुस, कजाकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियालगायत तिब्बती क्षेत्रबाट नेपाल आउने पाहुना चराले यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित बासस्थान र चरन क्षेत्रमा हिउँद बिताउने गर्छन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ । चैतसम्ममा प्रायः चरा आफ्नो स्थायी बसोबास स्थलमा प्रजननका लागि फर्कने गर्छन् ।

मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपक्षी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित भएको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए । यो गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको उनको भनाइ छ । गतवर्षको गणनामा नेपालमा ६० हजार हाराहारीमा पानी चरा भेटिएको तथ्याङ्क छ ।

कैलाली र कञ्चनपुर क्षेत्रमा गरिएको गणनामा संलग्न संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चराले माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताए ।

यस्तै चरा संरक्षण नेटवर्कका अध्यक्ष डीआर चौधरीले घोडाघाडी क्षेत्रमा बकुल्ला प्रजातिका चराको सङ्ख्या केही धेरै देखिए पनि जम्मा सङ्ख्या भने गतवर्षको हाराहारीमा नै देखिएको बताए । गतवर्ष घोडाघोडी क्षेत्रमा ३२ प्रजातिका दुई हजार ५८ वटा चरा देखिएका थिए ।

जलपन्टी गणना गर्दा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चराको पहिचान गर्ने गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियालगायतका चरा बढी देखिन्छन् । गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिँदै आएको छ ।

‘कोशी पक्षी समाज’का पूर्वअध्यक्ष अनिश तिम्सिना पनि कोशी क्षेत्रमा यसपाली चराको सङ्ख्यामा कमी देखिएको बताउँछन् । सिमसार क्षेत्रको संकुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी आएको हुनसक्ने उनको भनाइ छ ।

अर्का संरक्षणकर्मी कृष्णप्रसाद भुसालले दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौँ हजार पानीचरा भेटिने गरेकामा हाल देशभरको गणनामा मुस्किलले ५० हजार भेटिने गरेको बताए । उनले सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको संक्रमणले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको बताए ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

गणनाका राष्ट्रिय संयोजक बरालले जलपक्षीको बासस्थानमा थुप्रै चुनौति थपिएको भए पनि जलपक्षीको प्रजाति र सङ्ख्याको बारेमा देशभरिबाट सबै विवरण आएपछि मात्र यकीन तथ्याङ्क भन्न सकिने बताए । तीव्र मानवीय दोहनका कारण संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र जोखिममा परेका छन् । तसर्थ जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पक्षी संरक्षणकर्मीको भनाइ छ ।

प्रकाशित : पुस २६, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?