भीर फोरेर बुद्धमूर्ति

११२ फिटको पूर्ण कदको मूर्तिको ३२ फिटे शिर बनाउने काम अन्तिम चरणमा, ७ मूर्तिकारको टोलीले चार महिनादेखि भीरलाई मूर्तिको आकार दिँदै
कुम्भराज राई

ओखलढुंगा — वरिपरि चट्टानै चट्टानको डरलाग्दो भीर । सुनकोसी–५ मूलखर्कको यही जुरेडाँडामा छ स्थानीयको चिहानडाँडा । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको बीचमा वर्ष दिनदेखि बुद्धको मूर्ति कुँद्ने काम भइरहेको छ ।

भीर फोरेर बुद्धमूर्ति

स्थानीय ३१ वर्षीय मनकुमार तामाङको व्यक्तिगत लगानीमा मूर्ति कुँद्ने काम भइरहेको हो । पहिलो चरणमा ३२ फिट लम्बाइको बुद्ध शिर कुँद्ने काम अन्तिम चरणमा पुगेको छ । त्यसका लागि उनले ३२ लाख रुपैयाँ खर्च गरिसकेका छन् । पूरा शिर कुँद्न ४५ लाख लाग्ने अनुमान छ ।

‘पहिलो चरणमा बुद्धको शिरमात्र निर्माण गर्ने योजना छ,’ मनकुमारले भने, ‘अब बाँकी के गर्ने भन्ने योजना बनाइसकेको छैन । हामीले अनुमान गरेको भन्दा चट्टान कडा भएकाले स्टिमेटभन्दा लागत बढेको छ ।’ १ सय २८ फिट अग्लो चट्टानमा मूर्ति कुँद्नका लागि १ हजार ७ सय बाँसका खट बनाइएको छ ।

बुद्धको पूर्ण कद मूर्ति निर्माण गर्ने हो भने लम्बाइ १ सय १२ फिटको हुनेछ । जसका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । मूर्ति कुँद्नका लागि काठमाडौंस्थित दक्षिणकालीका मूर्तिकार सुकुराम दिम्दोङ तामाङको नेतृत्वमा ललितपुरको गोदावरीका सहित ७ जना कालीगढ खटिएका छन् ।

सहयोगीका रूपमा तीनजना स्थानीय पनि सँगसँगै छन् । एक वर्षअघि काम सुरु गरिए पनि कोभिड–१९ को कारण केही समय रोकिएको थियो । शिर निर्माण अन्तिम चरणमा पुगिसकेकाले ल्होसार वा बुद्धजयन्तीका अवसर पारेर यसको औपचारिक उद्घाटन गर्ने तयारी रहेको मनकुमारले बताए ।

६ वर्षको उमेरमा मनकुमार बुबासँगै काठमाडौं लागेका हुन् । उतै हुर्के बढे । सुखसयलमा हुर्किएका उनले कुनै बेला बाटो बिराएका थिए । ‘पढ्नका लागि दुई वर्ष डेनमार्क गएँ । बुबाको धेरै पैसा मैले सकेको छु,’ मनकुमारले विगत सम्झिँदै भने, ‘तर अहिले मेरो बाउबाजे जन्मिएको गाउँ चिनाउनका लागि यो काममा जुटेको हुँ ।’ मनकुमार २४ वर्षपछि गाउँ फर्किएका हुन् । गाउँमा ढुंगाको पहरामा बुद्धको आकृति देखिने सुनेर हेर्न गएँ तर देखेनन् ।

त्यति बेला सामाजिक सञ्जालमा चीनको कुनै ठाउँमा ढुंगाको पहरामा बुद्धको शिर भएको भिडियो देखे । त्यसपछि गाउँकै पहरामा यस्तो मूर्ति कुँद्ने योजना बनाए । सुरुमा १०–१२ लाख रुपैयाँमा सकिने योजना थियो । दुई/तीन जना आफन्तले सहयोग गर्ने बताएपछि काम सुरु गरे । तर आफन्तले दुई लाखभन्दा सहयोग गरेनन् ।

बाँसको खट बाँध्ने काममै झन्डै १० लाख रुपैयाँ सकियो । उनले आफ्ना मावली र घरको बाजे मेघबहादुर र नैनसिंको स्मृतिमा सबै काम आफ्नै लगानीमा सक्ने योजना बनाए । त्यही योजनाअनुरूप लगानी गरिरहेका छन् ।

‘बाजेहरू त्यो जमानामा गाउँप्रेमी थिए रे,’ मनकुमारले भने, ‘घरमै गल्लावाल आएर भर्ती लान खोज्दा पनि गाउँको मायाले भर्ती नगएका मेरो बाजेहरूको सम्झनामा यो काम गराएको हुँ ।’

वडाध्यक्ष गोविन्द तामाङले मनकुमारको कामले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने आशा गरिएको बताए । हाल वडाले आर्थिक सहयोग गर्न नसके पनि नीतिगत सहयोग गरिरहेको उनले बताए । पहराका चट्टानलाई बुद्ध मूर्तिको आकार दिने काम भइरहेको ठाउँ पुग्न ओखलढुंगा सदरमुकामदेखि गाडीमा २ घण्टा यात्रा गर्नुपर्छ । मूर्ति बनाइएको क्षेत्रमा अन्य पर्यटकीय पूर्वाधार बनाउन सकिने प्रशस्त सम्भावना छन् ।

प्रकाशित : पुस २६, २०७८ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?