संक्रमण सातामै तेब्बर- समाचार - कान्तिपुर समाचार

संक्रमण सातामै तेब्बर

दिनहुँ थपिएका संक्रमितमध्ये २५ प्रतिशतमा ओमिक्रोन पुष्टि, कुल सक्रिय संक्रमितमध्ये ५१.५३ प्रतिशत उपत्यकाका
अस्पतालमा बिरामीको चाप बढ्दो, त्रिवि शिक्षण अस्पतालका १५ स्वास्थ्यकर्मी संक्रमित
अतुल मिश्र

काठमाडौँ — परीक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि हुने दर पछिल्लो एक सातामा तेब्बर भएको छ । पुस १९ मा ९ हजार ७ सय नमुनाको आरटी–पीसीआर परीक्षण गरिएकामा ३ प्रतिशतमा मात्र संक्रमण देखिएको थियो ।

पुस २५ मा ८ हजार ८ सय ४८ नमुनाको परीक्षण गर्दा ९.५० प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण विस्तारको यो तीव्रतालाई सरकारी अधिकारीदेखि विज्ञसमेतले कोरोना महामारीको तेस्रो लहर सुरु भएको रूपमा अर्थ्याउन थालेका छन् । संक्रमण व्यापक विस्तार बन्नुमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई प्रमुख कारण मानिएको छ । अहिलेकै गतिमा संक्रमण विस्तार भएको खण्डमा तेस्रो लहर उत्कर्षमा पुग्दा–नपुग्दै मुलुकको करिब ४० प्रतिशतभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान स्वास्थ्य मन्त्रालयको छ ।

‘ओमिक्रोन भेरिएन्ट अति संक्रामक देखिएको छ । हाल हरेक २–३ दिनमा संक्रमण दोब्बर भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने, ‘यही गतिले संक्रमण फैलिने हो भने तेस्रो लहरमा मुलुकको करिब ४० प्रतिशत जनसंख्या अर्थात् १ करोड २१ लाख ५१ हजार २ सय २२ जना संक्रमित हुनेछन् ।’ हाल मुलुकमा ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन् । यसमध्ये काठमाडौंमा २ हजार ९०, ललितपुरमा ८ सय ३ र भक्तपुरमा ५ सय ८८ जना छन् । मुलुकभरका सक्रिय संक्रमितमध्ये ५१.५३ प्रतिशत उपत्यकामै छन् ।

पछिल्ला दिनमा थपिएका संक्रमितमध्ये करिब २५ प्रतिशतमा ओमिक्रोन भेरिएन्ट पाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झाले बताइन् । ‘ओमिक्रोनले गर्दा संक्रमित हुनेहरूको संख्या दिनहुँ बढ्दो क्रममा छ । अब परीक्षणमा एस–जिन नेगेटिभ आउनेलाई ओमिक्रोन नै मान्नुपर्छ,’ उनले पछिल्ला दिनमा प्रयोगशालामा एस–जिन परीक्षण गराउन आइपुग्ने अधिकतम नमुना काठमाडौं उपत्यकाकै हुने गरेको बताइन् ।

संक्रमण तीव्र बन्ने क्रमसँगै उपत्यकाका ठूला अस्पतालमा कोरोनाका बिरामीको चाप पनि बढ्न थालेको छ । अघिल्लो साता ८ जना मात्र संक्रमित भर्ना रहेको वीर अस्पतालमा आइतबार दिउँसोसम्म बढेर २५ पुगेको छ । तीमध्ये ५ जनालाई कडा निमोनिया देखिएको, एक जनालाई भेन्टिलेटर र ४ जनालाई हाइफ्लो अक्सिजनमा राखिएको अस्पतालले जनाएको छ । निमोनिया देखिएका ५ जना ४०–६० वर्ष उमेरका छन् । वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठका अनुसार कोरोना संक्रमित नयाँ बिरामीहरूमा खोकी, ज्वरो, टाउको–जीउ दुख्ने र थकाइ लाग्ने समस्या अधिक छ ।

त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक साताअघि २० जना संक्रमितको उपचार भइरहेकामा आइतबार त्यो संख्या ३८ पुगेको छ । उनीहरूमध्ये अधिकांशमा निमोनिया देखिएको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले बताए । ‘पछिल्लो ३ दिनमा पोजेटिभिटी रेटसमेत बढेको छ,’ डा. शाक्यले भने, ‘हामीकहाँ भर्ना हुनेहरूमा ज्वरो र श्वासप्रश्वासको समस्या बढी छ ।’

संक्रमणको ग्राफ उकालो लागेसँगै स्वास्थ्यकर्मीहरू संक्रमित हुने क्रम पनि बढेको छ । यो साता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मात्र १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । ‘आईसीयू स्टाफ, नर्स, चिकित्सक, शल्यक्रिया कक्षमा काम गर्ने गरी १५ जना संक्रमित भएका छन्,’ अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले भने । संक्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । ‘केही दिनअघिसम्म पनि स्वास्थ्यकर्मीहरूमा संक्रमण न्यून थियो, तर पछिल्ला दिनमा तीव्र भइरहेको छ,’ उनले थपे ।

विज्ञहरूले संक्रमणको दर र अस्पतालहरूमा बढ्दो चापले कोरोनाको तेस्रो लहर सुरु भइसकेको दाबी गरेका छन् । भाइरोलोजिस्ट एवं प्रदेश–२ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले डेल्टा भेरिएन्टको तुलनामा अत्यन्त संक्रामक ओमिक्रोनका कारण महामारीको तेस्रो लहर सुरु भइसकेको दाबी गरे । ‘ओमिक्रोन भित्रभित्रै फैलिँदै समुदायमा गइसकेकाले सबैले थप स्वास्थ्य सतर्कता अपनाउनु आवश्यक छ,’ डा. मिश्रले भने । उनले हालसम्म खोप नलिएका वा पूर्ण मात्रा लगाउन बाँकी रहेकाहरूलाई तत्काल खोप लगाउनसमेत सुझाए ।

‘दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएका र बुढापाकाहरूलाई संक्रमण हुन नदिन मास्कको उपयुक्त प्रयोग, सामाजिक दूरी पालना, साबुनपानीले हात धुनु र हावा राम्ररी ओहोरदोहोर नहुने ठाउँमा बस्न नहुनेजस्ता स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष सावधानी अपनाउनु आवश्यक छ,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

कसरी बढ्यो लिगको तयारी खर्च ?

‘ए’ डिभिजन लिग च्याम्पियनलाई १ करोड पुरस्कार दिने प्रस्ताव अस्वीकृत भए पनि ४२ क्लबको लागि तयारी खर्च १ करोड ५ लाख वृद्धि गरिएको छ
राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले गत साउन १७ गते भएको छलफलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा क्लबहरूलाई तयारी खर्च २०–२० लाख रुपैयाँ दिने भनेका थिए, जसलाई त्यो भेलाले निर्णय पनि गरेको थियो ।

सहिद स्मारक लिग च्याम्पियन भएपछि मछिन्द्र क्लब । तस्बिर: हेमन्त श्रेष्ठ/कान्तिपुर

गत मंसिर ३ गतेदेखि उपत्यकाको शीर्ष श्रेणीको लिग सुरु भयो । थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाको प्रतिस्पर्धासँगै आइतबार लिगमा ५५ खेल सकिए । अब यो सिजनका ३६ खेलमात्रै हुन बाँकी छ । लिगका १३ मध्ये आठौं चरणको प्रतिस्पर्धा चलिरहेकै बेला एन्फाको कार्यसमितिले निर्णय गर्‍यो– लिगको तयारी खर्च हरेक क्लबलाई २२ लाख ५० हजार दिने । अर्थात् अध्यक्ष र महासचिवले घोषणा गरेभन्दा २ लाख ५० हजार रुपैयाँ बढी ।

‘ए’ डिभिजन लिगका क्लबका लागि मात्रै होइन, शुक्रबार सकिएको दुईदिने बैठकले ‘बी’ र ‘सी’ श्रेणीका क्लबलाई पनि लिगको तयारी खर्च गत सिजन (२०७६ साल) दिइएकोभन्दा २ लाख ५० हजार थप गर्ने निर्णय गर्‍यो । अब ‘बी’ डिभिजनका क्लबले १२ लाख ५० हजार र ‘सी’ श्रेणीका टिमले ९ लाख ५० हजार रुपैयाँ पाउनेछन् । तीनै श्रेणीमा १४–१४ क्लब छन् । यसर्थ एन्फालाई यही आर्थिक वर्षमा १ करोड ५ लाख व्यायभार थपिएको छ । यो सिजन ‘बी’ र ‘सी’ डिभिजन लिग सुरु हुन बाँकी छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले लिगका क्लबहरूलाई तयारी खर्च थपिएको रकम पनि अझै कम भएको बताए । उनले भने, ‘एन्फामा भइरहेको फजुल खर्च र भत्ता कटौती गरेर भए पनि फुटबल खेल्ने क्लबहरूलाई बजेट बढाउनुपर्छ । त्यसैले मैले त्योभन्दा (२२ लाख ५० हजार) बढी तयारी खर्च दिने प्रस्ताव गरेको थिएँ ।’ बैठकमा चर्काचर्की परेपछि अध्यक्ष शेर्पा तयारी खर्च २–२ लाख थप्न तयार भए । त्यसमा १–१ लाख थपेर २३ लाख बनाउने प्रस्ताव केन्द्रीय सदस्य किरण राईले गरे । केहीबेरको तातो छलफलपछि तयारी खर्च २२ लाख ५० हजार पुर्‍याउने सहमति भएको थियो ।

अध्यक्ष शेर्पाले क्लबहरूलाई तयारी खर्च थप्नका लागि एन्फामा स्रोतको अभाव भएको दाबी गरेका थिए । शेर्पा समूह र वरिष्ठ उपाध्यक्ष नेम्वाङ समूहको चर्को बहसपछि बल्ल कार्यसमिति बैठक तीनै श्रेणीका क्लबलाई तयारी खर्च २ लाख ५० हजार थप्ने निर्णयमा पुगेको थियो । एन्फाले जिल्ला लिग सञ्चालनको लागि ५–५ लाख दिइरहेको छ । यसमा वृद्धि गर्ने प्रस्तावबारे अध्यक्ष शेर्पाले बैठकमा भने, ‘कुनै जिल्लामा त्यो बजेट पनि बढी भएको छ । त्यसैले थप्न अवश्यक छैन ।’ त्यसैले जिल्ला संघको लागि लिगलाई बजेट थप्ने प्रस्ताव अस्वीकृत भयो ।

पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग (२०७६) च्याम्पियन हुँदा मछिन्द्रले ५० लाख पुरस्कार पाएको थियो । उपविजेता आर्मीले ३५ लाख र तेस्रो भएको मनाङ मर्स्याङ्दीले २५ लाख प्राप्त गरेका थिए । त्यसमा यसपालि वृद्धि गर्ने घोषणा गर्दै अध्यक्ष शेर्पाले गत साउनमै भनेका थिए, ‘विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रोलाई २५ लाख पुरस्कार दिइनेछ ।’ एन्फाको निर्णयबिना नै अध्यक्षले पुरस्कार वृद्धिको घोषणा गरेको उल्लेख गर्दै बैठकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आक्रोश पोखे, ‘संस्थामा कहींकतै निर्णय भएको छैन । बाटोमा हिँड्दाहिँड्दै मिडियामा पुरस्कार घोषणा गर्न मिल्छ ?’ यसमा अध्यक्ष मौन बसिदिए ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले ‘ए’ डिभिजन लिग च्याम्पियनलाई १ करोड, उपविजेतालाई ५० लाख र तेस्रोलाई २५ लाख पुरस्कार दिनुपर्ने प्रस्ताव पनि ल्याए, जसलाई अध्यक्ष शेर्पाले ‘स्रोतको अभाव’ भन्दै अस्वीकार गरिदिए । अनि नेम्वाङले भनिदिए, ‘हामी सबै पदाधिकारी लागौं । स्रोत खोजौं । प्रायोजक ल्याऔं । अनि करोडको पुरस्कार दिऔं ।’

तर, पाँच महिनाअघि अध्यक्ष शेर्पाले घोषणा गरेको ७५ लाख, ५० लाख र २५ लाख दिनेमै निर्णय भयो ।

२०७४ साल वैशाख २२ गते भएको निर्वाचनमार्फत् गणेश थापाको युग समाप्त पार्दै कर्माछिरिङ शेर्पा नेतृत्वको समूह एन्फाको सत्तामा पुगेको थियो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाइएका थापाविरुद्धको अभियानमा सँगै रहेका शेर्पा र नेम्वाङबीच एन्फाको सत्तामा पुगेको पहिलो वर्ष नै मनमुटाव सुरु भयो, जुन आउने निर्वाचन (१५ जेठ, २०७९) को प्रतिस्पर्धी समूहमै परिणत भइसकेको छ । त्यसैको संकेत पनि थियो लिग खेल्ने क्लबलाई तयारी खर्च र पुरस्कार बढाउने प्रस्तावमा चर्को बहस । यसको प्रत्यक्ष फाइदा राजधानीका ४२ क्लबलाई हुने भयो ।

एन्फाको नेतृत्व शेर्पाले लिएपछि दुईपल्ट राष्ट्रिय लिग आयोजना गर्ने घोषणा गर्दै क्यालेन्डरमै समेटिएको छ । तर, सञ्चालन भने भएको छैन । राष्ट्रिय लिग पछिल्लोपल्ट २०७१–७२ मा भएको थियो, जसको च्याम्पियन थ्रीस्टारले १ करोड रुपैयाँ पुरस्कार कब्जा गरेको थियो । नेपाली फुटबलमा अहिलेसम्मकै ठूलो पुरस्कार त्यही हो ।

प्रकाशित : पुस २६, २०७८ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×