१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

झारफुकको क्रममा किशोरीको मृत्यु, माता भनिने झाँक्री पक्राउ

काठमाडौँ — काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्कीस्थित उपचार गराउन भन्दै झारफुकका लागि राखिएकी १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक चौतारा नगरपालिका–२ बतासे घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

किशोरीको मृत्युपछि झारफुक संचालक माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको छ । मृतक किशोरीको शरीरमा निलडामहरू देखिएको प्रहरीको भनाइ छ ।

ती किशोरीलाई टाउको दुख्ने समस्या भएपछि कथित माताकहाँ पुर्‍याएको पारिवारिक श्रोतले जनाएको छ । माता भनिने ठकुरीले धेरै बिरामीहरूलाई 'ठीक पारेको' भन्ने विश्वासमा झारफुक केन्द्रमा ती किशोरीलाई २१ दिनअघि नै आमा राधिका श्रेष्ठले लगेकी थिइन् ।

‘यहीँ बसेर उपचार गराउँदा चट्टै ठीक हुन्छ, तपाईंकी छोरी मेरै छोरी सरह हो, छोडेर जानुस् भनिन्,’ मृतक किशोरीका आमा राधिकाले भनिन्, ‘छोडेर आएँ । कुटेरै मारी ।’

परिवारका अनुसार गणेश मावि नगदेश कक्षा ६ मा अध्ययनरत रोशनीको पुस २२ गतेदेखि आन्तरिक परीक्षा थियो । परीक्षा दिनका लागि भन्दै उनकी आमा राधिका झारफुक केन्द्रमा लिन गइन् । तर, माता भनिने ठकुरीले परीक्षाभन्दा ठूलो कुरा स्वास्थ्य भएको भन्दै पठाउन मानिनन् । ‘छोरीले परीक्षा दिने ममी जान्छु भन्दै थिइ, उनले आउन दिइनन्,’ उनले भनिन् ।

शनिबार बिहान रोशनी बेहोस भएको जानकारी परिवारलाई गराइएको थियो । परिवार नागार्जुन पुगेपछि मात्र किशोरीलाई मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरी वृत्त स्वयम्भू प्रमुख डीएसपी मिलन केसीले बताए ।

माता भनिने ठकुरीलाई कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको लागि म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । मृतक किशोरीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मृतकको पोष्टमार्टम भइसकेको तर रिपार्ट आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २५, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?