कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बाघ नियन्त्रण गर्न प्राविधिक टोली परिचालन

मान्छेमाथि आक्रमण गरेर ज्यानै लिने बाघ धेरैवटा नभई एउटै मात्र हुन सक्ने प्राविधिकको शंका, ट्रयापिङ क्यामरा राखेर निगरानी गरिँदै

काठमाडौँ — बाँकेको राप्ती सोनारी गाउँपालिकाका विभिन्न वडाका वन क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण गर्ने क्रम बढेपछि सरकारले पहिचान गरी नियन्त्रणमा लिन प्राविधिक परिचालन गरेको छ । बाघ नियन्त्रणका लागि बर्दियामा रहेको टोली पर्याप्त नभएपछि चितवन निकुञ्जको सौराहाबाट पनि प्राविधिक परिचालन गरिँदै छ ।

बाघ नियन्त्रण गर्न प्राविधिक टोली परिचालन

राप्ती सोनारीका विभिन्न गाउँबाट घाँस काट्न जंगल गएका महिला पटक–पटक बाघको निसानामा पर्न थालेपछि बाघ पहिचान गर्न क्यामेरा ट्रयाप जडान गर्न र बाघ नियन्त्रणमा लिन हात्तीसहितका प्राविधिक परिचालन गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले राष्ट्रिय निकुञ्ज विभागले बाँके निकुञ्ज बाहिरको क्षेत्रमा समस्या ल्याउने बाघ पहिचान गरी नियन्त्रणमा लिन प्राविधिक परिचालन गर्ने र अन्य समन्वय गरिरहेको बताए ।

शृंखलाबद्ध बाघ आक्रमण:

– बुधबार सालको पात टिप्न गएका ९ मध्ये दुर्गा थारूलाई आक्रमण

– बिहीबार घाँस काट्न गएकी लीला विष्टको निधन

– शुक्रबार बलबहादुर पुनमाथि आक्रमण

– शनिबार सालको पात टिप्न गएकी चाँदनी थारूको निधन

गत साता डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्र पर्ने दाङसँग जोडिएको राप्ती सोनारी गाउँपालिकाका सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको थियो । बिहीबार घाँस काट्न गएकी राप्ती सोनारी–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्ट र शनिबार सालको पात टिप्न गएकी राप्ती सोनारी–६ अब्रहवाकी चाँदनी थारूको बाघको आक्रमणबाट ज्यान गएको हो । बाघको मुखबाट विष्टको शव छुटाउन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । गत बुधबार पनि राप्ती सोनारी–४ की दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । खुर्पाको सहारामा उनी बाघसँग भिड्दै जोगिएकी थिइन् । त्यो दिन पनि गौरी सामुदायिक वनमा पात टिप्न ९ जना महिला गएका थिए । राप्ती सोनारी गाउँपालिकाका विभिन्न वन क्षेत्रमा ५ महिनामा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ । केही दिनअघि राप्ती सोनारी–५ र ६ को वनमा मोटरसाइकलमा सवार एक शिक्षकलाई पनि बाघले झम्टेको थियो । त्यस्तै, बाँकेको गाभर र नरैनापुरमा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

लुम्बिनी प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका सचिव पशुपतिनाथ कोइरालाले प्रकृति संरक्षण कोषको बर्दिया कार्यालयलाई प्राविधिक परिचालनका लागि आग्रह गरिएको र छिट्टै बाघ पहिचान गरी नियन्त्रणमा लिइने बताए । ‘क्यामेरा जडान गरी बाघ पहिचान गर्ने र नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बाँकेले बर्दियास्थित एनटीएनसीको कार्यालयसँग सहकार्य गरिरहेको छ,’ उनले भने ।

दिनहुँजसो आक्रमणका घटना भएपछि डिभिजन वन कार्यालय बाँकेले केही दिनका लागि जंगल प्रवेशमा रोक लगाएको छ । ‘समस्या निम्त्याइरहने बाघको पहिचान गरी नियन्त्रणमा नलिएसम्म जंगल जान रोक लगाइएको छ,’ कोइरालाले कान्तिपुरसित भने । एनटीएनसीको बर्दिया संरक्षण कार्यक्रमका प्रमुख वन्यजन्तुविद् डा.रविन कडरियाले राप्ती सोनारीमा पटक–पटक मान्छेमाथि आक्रमण गर्ने बाघ एउटै हुुन सक्ने भएकाले पहिचानका लागि क्यामरा राखेर हेर्न लागिएको बताए । ‘मान्छे खान पल्किएको बाघ हो कि भन्ने हाम्रो आशंका छ,’ उनले भने । बच्चासँग भएको अवस्थामा पनि आफ्नो संरक्षणका लागि बाघ आक्रमणमा उत्रने कडरियाले बताए ।

निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले राप्ती सोनारी क्षेत्रमा समस्या निम्त्याइरहेको बाघ एउटै हुन सक्ने भएकाले क्यामेरा जडान गरी यकिन गर्न खोजिएको बताए । ‘बाघ गणना भइरहेकै बेला कोर क्षेत्र र मध्यवर्ती क्षेत्रभन्दा बाहिर पनि बाघ देखिएका छन्,’ कँडेलले भने, ‘त्यसैले यो पटकको गणनामा हामीले चुरेसँग जोडिएका भागसम्मै क्यामरा जोड्नुपर्ने देखिन्छ ।’

सन् २०१८ को गणनाअनुसार बाँके निकुञ्जमा २१ बाघ छन् । बर्दिया–बाँके कम्प्लेक्समा अहिले बाघ गणना जारी छ । बर्दियाको गेरुवा र मधुवन तथा बाँकेको राप्ती–सोनारीका विभिन्न स्थानमा पछिल्ला वर्षहरूमा भएका बाघ आक्रमणका शृंखलाबद्ध घटनाले यो क्षेत्रमा बाघ संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने सरकारी अधिकारीहरूको आकलन छ ।

यी पनि पढ्नुहोस् :

प्रकाशित : पुस २५, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?