लिमीका बालबालिका खोपबाट वञ्चित

हिमपातले बाटो पुरिएपछि खोप अभियान प्रभावित
छपाल लामा

हुम्ला — हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका कोरोनाविरुद्धको खोपबाट वञ्चित भएका छन् । हिउँले लिमी जाने बाटो बन्द भएपछि खोप अभियान प्रभावित बनेको हो । बर्सेनि झन्डै ६ महिना लिमी आसपासका डाँडाकाँडा हिउँले छोपिएका हुन्छन् । लिमी जान हिल्साबाट नाङ्मा र सदरमुकाम सिमकोटबाट न्यालु लेक पार गर्नुपर्छ । झन्डै ५ हजार मिटर उचाइका दुवै लेकमा कम्तीमा ५ फिट हिउँ परेकाले बाटाहरू पुरिएका छन् । 

लिमीका बालबालिका खोपबाट वञ्चित

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन मानबहादुर रोकायाका अनुसार हुम्लामा १२ देखि १७ वर्षका ५ हजार ४ सय ९७ (९०.६१ प्रतिशत) बालबालिकाले मोडर्ना खोप लगाइसकेका छन् । नाम्खामा लिमीबाहेकका ३ सय ३१ बालबालिकालाई खोप दिइएको छ । लिमीमा झन्डै २ सय ५० बालबालिका छन् । ‘गाउँ पस्ने बाटो नै हिउँले पुरिएको छ,’ उनले भने, ‘कसरी खोप लिएर जाने ?’ हुम्लामा ६ हजार ३ सय ७० डोज मोडर्ना खोप आएको थियो । अब २ सय २९ डोज खोप मौज्दात छ ।

कात्तिक पहिलो साता लिमीमा झन्डै ३ फिट हिउँ परेको थियो । पहिलेको हिउँ नबिलाउँदै फेरि ३ पल्ट हिमपात भएको थियो । लिमीमा झन्डै ३ फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमपातको समयमा बर्सेनि अन्य गाउँका बासिन्दासँग लिमीको सम्पर्क विच्छेद हुन्छ । त्यसैले लिमीका बासिन्दाले हिउँ पर्नुअघि नै गाउँ छोड्छन् । तर यो वर्ष कात्तिक पहिलो साता नै हिउँ परेपछि स्थानीयले गाउँ छाड्न पाएनन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ३ सातादेखि लिमीसँगको सम्पर्क विच्छेद भएको बताए । ‘गत वर्षसम्म घरकुरुवा मात्र छोडेर उनीहरू गाउँ छाड्थे,’ उनले भने, ‘तर अहिले सबै गाउँमै छन् ।’ उनीहरूले हिमपातको समयमा चाहिने खाद्यान्न र अन्य आवश्यक सामग्री जोहो गरिसकेकाले खासै समस्या नभएको आचार्यको भनाइ छ ।

लिमी समुद्र सतहदेखि झन्डै ३ हजार ८ सय मिटरको उचाइमा छ । लिमीमा तिल, जाङ र तिल गाउँ छन् । हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ । प्रजिअ आचार्यका अनुसार हल्जीमा मात्र भिस्याट फोन छ । फोन नलाग्दा त्यहाँको अवस्था थाहा हुन नसकेको उनले बताए ।

अहिले लिमीमा अहिले झन्डै ६ सय जना रहेको उनको अनुमान छ । लिमीबाट गाउँपालिका केन्द्र यलबाङ पुग्न दुई दिन र सदरमुकाम सिमकोट पुग्ने पाँच दिनको पैदल दूरी छ ।

प्रकाशित : पुस २५, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?