कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अमूल्य सम्पदा कौडीको भाउमा बेचिनबाट रोकेँ : पर्यटनमन्त्री आले

माधव ढुंगाना

भैरहवा — पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयमा रहेका अमूल्य सम्पदा र सम्पत्ति कौडीको भाउमा बेचिन लागेकोले बतास समूहलाई हटाइएको बताएका छन् ।

अमूल्य सम्पदा कौडीको भाउमा बेचिनबाट रोकेँ : पर्यटनमन्त्री आले

होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले राजतन्त्रको अन्त्य हुँदैमा नारायणहिटी संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने बताए । ‘राजतन्त्रको सम्पत्ति लुट्नका लागि नै गणतन्त्र ल्याउन खोजिएको हो ?’ आलेको प्रश्न थियो ।

पशुपती क्षेत्र विकास कोषअर्न्तगत भारतीय सहयोगमा निर्मित तिर्थालुलाई निर्माण गरिएको धर्मशाला (होटल) पनि कौडीको भाउमा अरुलाई लिजमा दिने काम भएकाले आफूले छानबिन थालेको उनले बताए । सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको भनाइ उनको थियो । ४० करोड रुपैयाँ लगानीमा निर्मित उक्त धर्मशाला भारतीय तीर्थालुलक्षित रहेको मन्त्री आलेले बताए । ‘१९ रोपनी जमिनमा ३ सय ९७ बेडको ८८ वटा कोठा रहेको ३ तले धर्मशाला पनि कौडीको भाउमा दिने काम भयो’, आलेले भने, ‘जम्मा मासिक साढे ८ लाख भाडा पाउने गरी दिन थालिएकोले छानबिन अघि बढाएको हुँ’, उनले भने ।

उनले लुम्बिनी क्षेत्रमा पनि लुम्बिनी विकास कोषको अधिनमा रहेको जमिनमा निर्मित होटल यसरी नै सस्तो मूल्यमा लिजमा दिइएको बताए । कोरोनाका कारण लामो समयसम्म थलिएको होटल तथा पर्यटन व्यवसाय प्रवर्द्धनका लागि व्यवसायीसँग नै सहकार्य र छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको उनको भनाइ थियो ।

पर्यटन बोर्डमा साना तथा मझौला होटल पनि दर्ता हुन पाउनु पर्ने व्यवसायीको मागप्रति आफ्नो ध्यानाकृष्ट भएको र ५० बेडभन्दा माथिका होटल निर्माणका लागिमात्र वातावरणीय प्रभाव मूल्याकंन (इआइए) गर्नु पर्ने नियमका लागि पहल गर्ने उनले बताए ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको र मौसममा सुधार हुनासाथ उडान थालिने उनले बताए । परीक्षण उडान गरिएको दुई महिनाभित्र विमानस्थल संचालनमा ल्याइने दाबी उनको छ ।

फोहर भएको ठाउँलाई सफा गर्नु पर्छ भन्ने मान्यताअनुरुप आफू अघि बढेको बताउँदै उनले आफ्नो कर्तव्य र दायित्वबाट कहिल्यै पनि बिमुख नहुने प्रतिबद्धता व्यक्त गरे । ‘जति दिन म पदमा रहेर काम गर्छु, जनताको हितमा हुने गरी गर्छु । कसैको दबाबमा परेर गर्दिन्नँ’, मन्त्री आलेले भने, ‘यदि जनताको हित विपरीतको काम गर्नका लागि दबाब आयो, थेग्न नसक्ने अवस्था आएमा मन्त्रीको झन्डा फुकालेर जनतामाझ जाने छु ।’

होटल व्यवसायीले भने कोरोनाले मारमा परेका होटल तथा पर्यटन व्यवसाय प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने माग राखेका थिए । पर्यटन व्यवसायलाई पनि उद्योगसरह मान्यता दिएपनि सेवा सुविधाबाट भने बञ्चित गरेको आरोप व्यवसायीको थियो ।

प्रकाशित : पुस २४, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?