कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

६१ जिल्लामा एकै पटक एमाले अधिवेशन : नेताहरु भन्छन्- 'शक्ति प्रदर्शन' 

जिल्ला अधिवेशनबाट ९ हजारभन्दा बढी नेता निर्वाचित हुने
मणि दाहाल

काठमाडौँ — एमालेले ६१ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन शुक्रबार एकै पटक सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै सबै जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमतिमा जिल्ला नेतृत्व छनोट गर्न पनि आग्रह गरेका छन् ।

६१ जिल्लामा एकै पटक एमाले अधिवेशन : नेताहरु भन्छन्- 'शक्ति प्रदर्शन' 

एमालेका उपमहासचिव विष्णु रिमालले एकै पटक जिल्ला अधिवेशन गरेर एमालेले संगठनात्मक शक्ति प्रदर्शन गरेको बताए । ‘जिल्ला अधिवेशन नभएको ८ वर्ष भइसकेको थियो । किन महिनौं लगाएर गर्नुपर्‍यो र ! एकै पटक गर्दा सन्देश पनि राम्रो जाने रहेछ,’ उनले भने । अधिवेशनहरूबाट एमाले एउटै लयमा अघि बढेको उनको भनाइ छ । ‘एमालेले जस्तै गरी माओवादी र कांग्रेसले पनि एकै पटक अधिवेशन गर्न खोजे तर पूर्णता दिन सकेनन्,’ रिमालले भने ।

एमालेको भूगोलमा ७७ वटा जिल्ला कमिटी छन् । उपत्यका विशेषअन्तर्गत विद्यार्थी तथा युवा, मजदुर, पेसागत तथा उद्योगी व्यवसायीको चार वटा विशेष जिल्ला कमिटी छन् । मजदुर र पेसागत विशेष जिल्ला कमिटीको अधिवेशन शुक्रबार सुरु भएको छ । रिमालका अनुसार जिल्ला अधिवेशनबाट ९ हजारभन्दा बढी नेता निर्वाचित हुन्छन् ।

एमालेको मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटी बैठकले भूगोलतर्फका ७७ जिल्ला कमिटीको एकै पटक पुस २३ मा अधिवेशन गर्ने निर्णय गरेको थियो । शुक्रबार भूगोलतर्फ ६१ वटाको मात्रै अधिवेशन सुरु भएको छ । मौसमी प्रतिकूलताका कारण सबै स्थानमा एकै पटक अधिवेशन गर्न नसकिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए । उनका अनुसार प्रदेश १ को संखुवासभा, प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा जिल्ला अधिवेशन हुन बाँकी छ । संखुवासभामा सोमबार, सिरहामा आइतबार, धनुषामा माघ ७, महोत्तरी र सर्लाहीमा माघ ५, रौतहटमा पुस २९, बारामा पुस २८, पर्सामा पुस २७ गते अधिवेशन तोकिएको छ । ‘प्रदेश २ मा गृहकार्य पुगेन, त्यही भएर शुक्रबार जिल्ला अधिवेशन सुरु भएन,’ उपमहासचिव रिमालले भने ।

यस्तै, पूर्वी रुकुममा माघ २२ गते मिति तोकिएको छ । कालीकोटमा शनिबार, मुगुमा मंगलबार र हुम्लामा माघ २३ मा अधिवेशन हुनेछ । ‘रोल्पामा जिल्ला कमिटी सचिवको निधन भएका कारण अधिवेशन रोकिएको हो,’ अधिकारीले भने । सुदूरपश्चिम प्रदेशमा बझाङको अधिवेशन सुरु हुन बाँकी छ । युवा तथा विद्यार्थी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको पनि अधिवेशनमा हुन सकेन । एमालेमा प्रदेश सम्पर्क कमिटीको हैसियत पनि जिल्ला कमिटीको बराबर छ । प्रदेश सम्पर्क कमिटीको अधिवेशन एकै पटक पुस ३० मा हुने अधिकारीले जनाकारी दिए । प्रदेश अधिवेशन भने माघ ८ का लागि तोकिएको छ ।

प्रकाशित : पुस २३, २०७८ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?