बतास समूहले नारायणहिटीमा बनाएका संरचना भत्काइए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बतास समूहले नारायणहिटीमा बनाएका संरचना भत्काइए

सुरज कुँवर

काठमाडौँ — नारायणहिटी परिसरमा बतास समूहले रोयल बगैंचा रेस्टरेन्टका लागि निर्माण गरिरहेका भौतिक संरचना संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको ठाडो आदेशमा भत्काउन थालिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक दाहालले शुक्रबार रेस्टरेन्ट निर्माणको जिम्मा लिएको बतास समूहको बि म्यानेजमेन्टलाई नभई संग्रहालय नियमित मर्मत सम्भारको काम गरिरहेको नवयुवा कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई बगैंचामा निर्माण गरिएका टहरा र सटर भत्काउन लगाएको त्यहाँ सुरक्षाका लागि राखिएको नाराणहिटी प्रहरी गारद गुल्मले जनाएको छ ।

प्रहरीका अनुसार, निर्देशक दाहालले नवयुवा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष रमेश ढकाललाई मौखिक निर्देशन दिँदै गेट, सटर, जस्ता संरचना हटाउन लगाएको हो । कार्यकारी निर्देशकको आदेशअनुसार सप्लायर्स कम्पनीका अध्यक्ष ढकालले शुक्रबार ११ जना कामदार लगाई बतासले निर्माण गरेका स्टेज, सटर आदि भत्काएका थिए । ढकालले शनिबार पनि भत्काउने कार्य जारी रहने कान्तिपुरसँग बताए । ‘ग्राइन्डरका सहायतामा दुइटा सटर, ८/१० वटा जस्ता, गेट, बार हटायौं । भोलिका लागि पनि काम बाकि छ,’ ढकालले भने ।

यस विषयमा नारायणहिटी संग्रहालयका प्रवक्ता बुद्धि गुरुङले निर्माणाधीन रेस्टरेन्ट भत्काएका आफूले देखेको जानकारी दिए । उनले शुक्रबार मन्त्रालयले गठन गरेको छानबिन समितिका पदाधिकारीहरु संग्रहालयमा आई कागजात लिएर गएको बताए । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालक समितिले एक वर्षअघि (०७७ पुस १७ गते) बतास समूहको कम्पनी बी म्यानेजमेन्ट प्रालिलाई रोयल बगैंचा नामको क्याफ्टेरिया संचालन गर्न अनुमति दिएको थियो । असारदेखि संचालनमा आउने पर्ने क्याफे कोभिडका कारण निर्माणाधीन अवस्थामै छ ।

पोखराको बतास समूह अर्न्तगतको बी म्यानेजमेन्ट प्रालिलाई समितिले तीन वर्षका लागि संचालन गर्न ७ हजार ९ सय २६ वर्गफिट (१ रोपनी ७ आना) जग्गा तथा क्यान्टिन घर बहालमा दिएको छ । बी म्यानेजमेन्टले प्रति वर्गफिटको १ सय ५ रुपैयाँका दरले खाली जग्गा क्यान्टीन घर मासिक २ लाख २१ हजार रुपैयाँमा बहाल दिने सर्तमा लिएको छ ।

प्रकाशित : पुस २३, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

प्राध्यापक गजुरेलको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको रसायनशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका प्राध्यापक डाक्टर छविलाल गजुरेलको ८२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार तीनकुनेस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।


सन् १९६३ देखि प्राध्यायपन गरेका प्राध्यापक गजुरेल सन् २००२ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागबाट सेवा निवृत्त भएका थिए । उनी रसायनशास्त्र विभागको सन् १९८४-१९८५ र १९८७ मा प्रमुखका रुपमा कार्यरत थिए ।

राष्ट्रिय शिक्षा समितिका तत्कालीन सदस्य सचिव समेत रहेका प्राध्यापक गजुरेलल सन् १९८०मा मदन पुरस्कार पाएका थिए । उनको पुस्तका 'नेपालका परम्परागत प्रविधि'ले सन् १९८०मा मदन पुरस्कार पाएको थियो ।

प्राध्यापन पेसाबाट अवकाश भएपछि प्राध्यापक गजुरेलले रसायनशास्त्र विभागमा 'प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार'को स्थापना गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमा लाग्न प्रेरित गरेका थिए ।

प्राध्यापक गजुरेलले तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव हुँदा काठमाडौं बाहिर पनि कक्षा ११ र १२ पढाइ हुनुपर्छ भन्दै उच्च शिक्षा नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विभिन्न वैज्ञानिक एवं प्राज्ञिक संघसंस्थामा प्राध्यापक गजुरेलको संलग्नता रहेको थियो । प्राध्यापक गजुरेलले सन् १९७२ सालमा अमेरिकाबाट अर्गानिक केमेस्ट्रीमा विद्यावारिधी गरेर फर्किएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा मुख्य लेखकको रुपमा उनका दुई दर्जनभन्दा बढी अनुसन्धनात्मक कृति प्रकासित छन् । यस्तै १७ वटा पुस्तक प्रकासित छन् । प्राध्यापक गजुरेल पछिल्लो समय आध्यात्मिक क्षेत्रमा लागेका थिए । उनको सन् २०२० मा अध्यात्मसँग सम्बन्धित पुस्तक 'इमोर्टल स्टोरिज' प्रकासित थियो ।

प्राध्यापक गजुरलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए । नास्टको 'ब्लू प्रिन्ट' निर्माणमा प्राध्यापक गजुरेलको महत्वपूर्ण योगदान रहेको बताइन्छ ।

प्रकाशित : पुस २३, २०७८ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×