कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जसले छिमेकीको घरमा लागेको आगो निभाउन जाँदा ज्यान गुमाए

पर्वत पोर्तेल

काँकडभिट्टा — घर बनाउने श्रमिक शरद राजवंशी, ४५ दिनभरिको कामले थकित थिए । खाना खाएर सुत्ने तरखरमा थिए । मेचीनगर–८ स्थित गाउँमा अचानक होहल्ला मच्चियो । गाउँमा झगडा भयो कि ! भन्ने लागेर उनी निस्किए आँगनमा । 

जसले छिमेकीको घरमा लागेको आगो निभाउन जाँदा ज्यान गुमाए

घरदेखि करिब दुई सय मिटर पश्चिमको एक घरमा आलो लागेका कारण गाउँलेको दौडधुप देखे । उनी छोरा दिपुलाई बोलाउने बहानामा घटनास्थलतिर हानिए । ‘मैले नजानुभन्दा भन्दै छोरा लिएर आउँछु भनेर जानु भयो,’ श्रीमती पावनी राजवंशीले भनिन्,‘आज यो अवस्था देख्नु पऱ्यो ।’ सहयोगी मनका राजवंशी छिमेकमा लागेको आगो निभाउन अग्रमोर्चामा खटिएका थिए ।

आगोको लप्काले निल्न लागेको घर बचाउन कोही पानी खन्याउन थाले, कोही भाँडावर्तन झिक्न लागे । यत्तिकैमा ग्यासको एउटा सिलिन्डर पड्कियो । ‘सम्भवत: पहिलो चोटी पड्किएको रित्तो थियो’, एक स्थानीयले भने । सिलिन्डर पड्किसक्यो भनेर सबै नडराई आगो निभाउन लागेका थिए । त्यहीबेला अर्को सिलिन्डर ठूलो आवाजका साथ विस्फोट भयो । ‘घरको टाटी तान्दै गरेका बुवा ढल्नु भएछ’, छोरी एप्सिला राजवंशीले भनिन्,‘बुवा बितेको खबर हामीले बिहान मात्रै थाहा पायौँ ।’

भरिएको ग्याससहितको सिलिन्डर विस्फोटका क्रममा १२ जना छिमेकी घाइते भए । कसैको अनुहारमा चोट लागेको छ । कसैको टाउकोमा । ‘छरछिमेक रुँदै कराउदै आएको देखेपछि म पनि बेहोस भएछु,’ एप्सिलाले भनिन् । विस्फोटको आवाज दुई किलोमिटर आसपाससम्म सुनिएको थियो । पोस्टमर्टमका क्रममा मृतक राजवंशीको गर्धनमा गम्भीर चोट देखिएको थियो ।

छिमेकी केशव पाठकको घरमा बुधबार राति पौने १० बजे लागेको थियो । रामेछाप घर भएका कुमार पाण्डे उक्त घरमा भाडामा बस्दै आएका थिए । पेशाले चालक उनी यात्रु बोकेर चरिकोट गएका थिए । श्रीमती पनि माइत गएकी थिइन् । ‘कोही नभएको घरमा अचानक विद्युत् सर्ट हुन गई आगो लागेको थियो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले भने,‘आगो निभाउन जुटेका छिमेकीले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । घाइते बन्नुपर्‍यो ।’

प्रहरीका अनुसार टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चीघरमा लागेको आगो निभाउने क्रममा बिर्तामोड–९ का २० वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का दिपेन्द्र काकी, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, हरि विक, ८ वर्षीया छोरी सुशीला अधिकारी र निर्मल शर्मा घाइते भएका छन् । मेचीनगरको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

प्रकाशित : पुस २३, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?