२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

३० वर्ष पुराना फाइल खोतल्दै प्रहरी

मानव बेचबिखन अनुसन्धान ब्युरोले ५० को दशकमा भएका मानव बेचबिखनका फाइल उधिन्दै प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम तीव्र
जनकराज सापकोटा

काठमाडौँ — प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत आइतबार (पुस १८) काठमाडौंको तारकेश्वर नगरपालिका–४, लोलाङ हाइटबाट टेकबहादुर लामिछानेलाई पक्राउ गर्‍यो । तीस वर्ष पुरानो मानव बेचबिखन घटना अनुसन्धान क्रममा लामिछाने पक्राउ परेका थिए ।

३० वर्ष पुराना फाइल खोतल्दै प्रहरी

उनीविरुद्ध २०४९ असोज १६ मा तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जीउ मास्ने बेच्ने मुद्दाअन्तर्गत कारबाही गरिपाऊँ भनेर जाहेरी दर्ता भएको थियो ।

नयाँ बजारमा डेरा गरी बस्थिन् एक महिला । बालुवा खानीमा काम गर्ने क्रममा ती महिलाका श्रीमान् घाइते भएर वीर अस्पतालमा उपचार गरी गाउँ गएका थिए । त्यही मौकामा नजिकै दालचामलको पसल गरी बसेका लामिछानेले उनलाई काम लगाइदिने प्रलोभन देखाए । २०४९ जेठ ३० मा काठमाडौंबाट झापा र सिलिगुडी हुँदै दिल्ली पुर्‍याए । पीडित महिलाले दिएको जाहेरीमा लामिछानेले दुई भारतीय महिलासँगै उनलाई ट्याक्सी चढाएर पठाएका थिए ।

दुई जनाको कुराकानीबाट आफूलाई ३५ हजार भारुमा लामिछानेले बेचेको थाहा पाएपछि ती महिला ट्याक्सीबाट हाम्फालेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । काठमाडौं फर्केलगत्तै ती महिलाले २०४९ कात्तिक २६ मा लामिछानेविरुद्ध तत्कालीन कानुन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ अनुसार कारबाही गरिपाऊँ भनेर काठमाडौं प्रहरीमा उजुरी दिइन् । उनले दिएको उजुरीमाथि वर्षौंसम्म प्रहरीले अनुसन्धान नै गरेन ।

***

ब्युरोले २०७८ मंसिर २३ मा बेल्जियन नागरिक युवराज गुरुङलाई काठमाडौं आएका बेला पक्राउ गर्‍यो । गैरआवासीय नेपाली महासंघ बेल्जियमका पूर्वअध्यक्षसमेत रहेका गुरुङ पक्राउ पर्नुको कारण थियो– २२ वर्ष पुरानो मानव बेचबिखनको घटना । संखुवासभाको मादी स्थायी ठेगाना भएका गुरुङमाथि तत्कालीन जिल्ला प्रहरी कार्यालयमा २०५६ सालमा जीउ मास्ने बेच्ने मुद्दाअन्तर्गत उजुरी दर्ता भएको थियो । उनले सुनसरीकी एक विवाहित महिलालाई बेल्जियम लगिदिने भन्दै काठमाडौंबाट भारतको दिल्ली पुर्‍याएर साढे पाँच लाख रुपैयाँ ठगेका थिए ।

प्रहरी बयानमा पीडित महिलाले आफूलाई प्रलोभन दिएर दिल्ली पुर्‍याई अलपत्र पारेको र रकमसमेत ठगेको बताएकी छन् ।

त्यतिबेला बानेश्वरनजिकै डेरा गरी बस्ने गुरुङले भने आफ्नो पीसीओमा आएका बेला महिलासँग चिनजान भएको बयान दिएका छन् । दुई सन्तानलाई छिमेकीकामा छाडी ती महिला गुरुङको प्रलोभनमा परेर हिँडेकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा थिए । साउदीबाट फर्केलगत्तै उनले गुरुङविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएका थिए ।

पुरानो मिसिलमा संलग्न फाइलका अनुसार २०५६ सालमै प्रहरीले गुरुङको खोजीमा प्रहरीको अन्तर्राष्ट्रिय संगठनलाई गुहारेको थियो । तत्कालीन एसपी रवीन्द्रप्रताप शाहले गुरुङको खोजीमा काठमाडौंस्थित बेलायती दूतावासदेखि बेल्जियम दूतावासम्म पत्राचार गरेका थिए । तत्कालीन प्रहरीले टेलिकमबाट गुरुङले प्रयोग गर्ने भनिएको ल्यान्डलाइन फोनको कल डिटेलसमेत मागेको देखिन्छ तर टेलिकमले उपलब्ध नगराएपछि र दूतावासहरूबाट पनि आवश्यक सूचना नपाएपछि वर्षौंदेखि यो फाइल प्रहरीको दराजमै थन्किएको थियो ।

***

२०७८ असोज ६ मा ब्युरोले पेप्सीकोलाबाट लक्ष्मी विश्वकर्मालाई पक्राउ गर्‍यो । लक्ष्मी पक्राउको कारण खोतल्दै जाँदा २५ वर्ष पुरानो घटनामा पुग्नुपर्छ ।

रोजगारीको खोजीमा काठमाडौं आएकी एक युवतीलाई विश्वकर्माले भात पकाउने र लुगा धुने काम मिलाइदिने प्रलोभनमा विशालबजार लगेर अपरिचित पुरुषको जिम्मा लगाइदिएकी थिइन् । ती पुरुषले उनलाई काँकडभिट्टा नाका हुँदै भारतको कोलकाता पुर्‍याएर ३० हजार भारुमा कोठीमा बेचिदिएका थिए ।

एकदिन उपचार गर्न अस्पताल जाने भन्दै युवती भागेर कोलकातास्थित तत्कालीन शाही नेपाली महावाणिज्य दूतको शरणमा पुगेकी थिइन् । नेपाल फर्केपछि उनले २०५३ साउन १ मा काठमाडौं प्रहरीमा विश्वकर्माविरुद्ध जाहेरी दिइन् । उनले दिएको जाहेरीमा प्रतिवादीको फोटो पनि थियो तर प्रहरीले वर्षौंसम्म अनुसन्धान अगाडि बढाएन ।

***

२०७६ वैशाख २९ मा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएपछि केन्द्रीय अनुसन्धान ब्युरोबाट १६ र प्रहरी परिसर काठमाडौंबाट ९२ वटा मानव बेचबिखनसम्बन्धी पुराना जाहेरीका फाइल झिकाएको थियो । तिनै फाइलको अध्ययनका क्रममा वर्षौंपछि लामिछाने, गुरुङ र विश्वकर्मा पक्राउ परेका हुन् । ब्युरोका अनुसार २० वर्षभन्दा पुरानो जाहेरीका आधारमा पछिल्लो एक वर्षमा मात्रै १३ जना पक्राउ परिसकेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मानव बेचबिखनका मुद्दामा हदम्यादको तगारो छैन । प्रहरीले वर्षौं पुराना घटनाको अनुसन्धानलाई नयाँ सिराबाट अगाडि बढाइरहेको छ । २०६४ अघि मानव बेचबिखनका घटनाबारे मुद्दा चलाउनुपरे जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ अनुसार गर्नुपर्थ्यो । अहिले भने प्रहरीले यो ऐनलाई प्रतिस्थापन गर्ने गरी बनेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाइरहेको छ ।

ब्युरोका अनुसन्धान अधिकारीहरूका अनुसार २०४० देखि २०५० को दशकमा भएका अधिकांश मानव बेचबिखनका मुद्दामा पीडित महिला देखिन्छन् । काठमाडौंका मसाज सेन्टरबाट उद्धार भएपछि महिलाले दिएका जाहेरीका आधारमा जबर्जस्ती यौनधन्दामा लगाइएको भन्ने कसुरका ३१ जाहेरी छन् भने धेरैजसो जागिर वा बिहेको प्रलोभन देखाएर भारतका विभिन्न सहर पुर्‍याई यौनकोठीमा बेचिएका छन् ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार पचासको दशकमा जीउ मास्ने बेच्ने कार्यअन्तर्गत परेका अधिकांश जाहेरीका पीडित महिला छन् । उनले मानव बेचबिखनको पछिल्लो प्रवृत्तिसँग तुलना गर्दै भनिन्, ‘पहिला मानव बेचबिखनमा अधिकांश महिलामात्रै पीडित हुन्थे र ती धेरैजसो भारतीय कोठीमा वा यौन शोषणका निम्ति बेचिन्थे ।’ अधिकांश पुराना मिसिलको अध्ययन गर्दा रोजगारी वा बिहेको प्रलोभनमा स्थलमार्ग हुँदै भारतका विभिन्न सहर पुर्‍याउने, तेस्रो देश पठाइदिनेको हकमा धेरैजसो फर्जी कागजात बनाउने गरेको देखिन्छ । पचासको दशकमा नेपाली तेस्रो देशमा जानका निम्ति दिल्लीस्थित युरोपेली देशका दूतावाससम्म पुग्नुपर्ने बाध्यता थियो । त्यसैको फाइदा उठाउँदै नेपालीलाई भारतसम्म पुर्‍याएर बेच्ने गरेको देखिन्छ ।

दशकौं पुरानो घटनाको अनुसन्धान प्रहरीको निम्ति त्यति सजिलो देखिन्न । पीडितको ठेगाना उल्लेख गरिएका कैयन् गाविस नयाँ गाउँपालिका वा नगरपालिकामा परिणत भइसकेको, आरोपित संलग्न प्रमाणको भार कम भएको र डिजिटल इन्टेलिजेन्सबाट घटनाको पुष्टि गर्ने आधार नभएकाले यस्ता घटनाको अनुसन्धान चुनौतीपूर्ण देखिन्छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार कैयन् घटनामा त पीडितले नयाँ जीवन सुरु गरिसकेको हुनाले घरबार बिग्रने जोखिमका कारण पनि अनुसन्धानमा सघाउन तयार देखिँदैनन् । गुरुङ र लामिछाने पक्राउको घटनाका पीडितले दोस्रो बिहे गरेको वर्षौं भइसक्यो । पीडितहरू परिचय खुल्ने वा पुरानो घटनाका कारण नयाँ घरबार बिथोलिने चिन्ताले खुल्न चाहँदैनन् ।

गुरुङमाथि थप कानुनी प्रक्रियाका लागि पक्राउको २२ दिनपछि ब्युरोले बिहीबार सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल पेस गरेको छ । पक्राउ परेका अन्यको हकमा भने ब्युरोले अनुसन्धान जारी राखेको छ । एसएसपी सिंहले भनिन्, ‘पुराना फाइल खोतलेर न्याय मर्दैन भन्ने सन्देश दिन खोजिरहेका छौं ।’

प्रकाशित : पुस २३, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?