आक्रमणको त्रासले बाघ को ‘हाइटेक’ गणना

 सबै गणकको बास सेना र निकुञ्जको पोस्टभित्र, मुख्यालयमा विशेष सुरक्षा टोली सतर्क

ठाकुरद्वारा, बर्दिया — वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढी देखिएकाले यसपटक राष्ट्रिय बाघ गणनालाई विगतको तुलनामा उच्च प्रविधियुक्त बनाइएको छ । गणनामा खटिएका जनशक्तिमाथि विशेष सुरक्षा सतर्कतासमेत अपनाइएको छ । 

आक्रमणको त्रासले बाघ को ‘हाइटेक’ गणना

पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ गणना जारी छ । बर्दिया र बाँके निकुञ्जलाई एउटा कम्प्लेक्स बनाएर बाघ गणना भइरहेको छ । यही कम्प्लेक्समा पर्ने बाघ गणनाका लागि २ किमि लम्बाइ र २ किमि चौडाइका ८ सय १६ वटा खण्ड (ग्रिड) मा विभाजन गरिएको छ ।

बर्दिया निकुञ्जको खाता र कर्णाली तटीय क्षेत्रमा जडान गरिएका क्यामेरा भर्खरै निकालिएको छ । ती क्यामेरामा कैद भएका बाघका तस्बिरको विश्लेषण–पहिचान विशेषज्ञले देशभरको गणना सकिएपछि गर्नेछन् ।

बाघ गणनाका लागि बर्दिया–बाँके कम्प्लेक्सलाई चारवटा ब्लकमा विभाजन गरिएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बर्दिया–बाँके कम्प्लेक्सअन्तर्गतको पहिलो ब्लकबाट क्यामेरा निकालेर दोस्रो ब्लकतिर काम सुरु गरिएको छ । एउटा ब्लकमा कम्तीमा पनि २० दिनसम्म क्यामेरा राखिन्छ । दोस्रो ब्लकअन्तर्गत बर्दिया निकुञ्जको राजमार्गसमेत पर्ने रम्भापुर, लामिदमार र बाँसपानीबाट पूर्वको जंगलमा प्राविधिक टोलीले क्यामेरा जडान गर्नेछन् ।

बाघ ओहोर–दोहोर गर्ने सम्भावित विभिन्न नाकामा १ सय ९१ जोडी स्वचालित क्यामेरा जडान गरिनेछ । क्यामेरा जडान गर्नमात्र ४२ जनाको प्राविधिक टोली खटिएको छ । ६ जनाको दरले सातवटा समूहले क्यामेरा जडान गर्नेछ ।

बर्दियामा तीन वर्षयता बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेकाले यसपटकको गणनाशैली अघिल्लोभन्दा भिन्न प्रकृतिको बनाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । ‘यस पटकको गणनामा हामीले जंगलभित्र (कोर क्षेत्र) कुनै पनि क्याम्प खडा गरेका छैनौं,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘गणनामा खटिएका प्राविधिकले सेना र निकुञ्जको स्थायी पोस्टभित्रै बसेर काम गरिरहेका छन् । सुरक्षाका लागि सेना र हात्ती परिचालन गरिएको छ । असुरक्षित लागेको स्थानमा हात्तीबाट निगरानी गरिन्छ ।’

बाघको डरले सम्साँझै बस्ती सुनसान

चितवन–पर्सा कम्प्लेक्समा भने मंसिर १९ देखि गणना जारी छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले चितवनबाटै गणनाको औपचारिक सुरुवात गरेका थिए । गणनाका लागि चितवन–पर्सा र लालझाडी–शुक्लाफाँटा–जोगबुढा कम्प्लेक्समा भन्दा बढ्ता सुरक्षा चुनौती बर्दिया–बाँके कम्प्लेक्सलाई मानिएको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार गणनाका लागि क्यामेरा जडान गर्ने प्राविधिक टोलीलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ ।

‘निकुञ्जको मुख्यालय ठाकुरद्वारामा सैनिक र कर्मचारीसहितको विशेष सुरक्षा कार्यदल सतर्क राखिएको छ,’ उनले भने, ‘कुनै स्थानमा दुर्घटना भएको खबर पाउनेबित्तिकै टोलीलाई तुरुन्तै परिचालन गरिनेछ ।’ टोलीले मुख्यालयमा सम्पर्क गर्न सहज होस् भनेर स्याटेलाइट फोन प्रयोग गरिएको छ । जंगलको भित्री भागमा मोबाइल नेटवर्कको समस्या हुने भएकाले त्यो व्यवस्था गरिएको हो ।

२०७६ सालपछि बर्दिया निकुञ्जका भित्री भाग र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणले धेरै जनाको ज्यान लिएपछि यस पटकको गणना शैलीलाई ‘हाइटेक’ बनाइएको राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । गत चैत २० मा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका क्रममा खटिएका वन्यजन्तु प्राविधिक विनोद श्रेष्ठ धुव्रे हात्तीसँगको जम्काभेटपछि भागदौडमा परेर सख्त घाइते भएका थिए । ‘सुरक्षा चुनौतीलाई उच्च प्राथमिकतामा राखेर गणना गर्न निर्देशन दिइएको छ,’ कँडेलले भने, ‘अहिलेसम्म अप्रिय घटना भएको रिपोर्टिङ आएको छैन ।’

बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जंगली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैंडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको कँडेलले बताए । जंगलभित्र जडान गरिएका क्यामेरा अनुगमन गर्न र क्यामेराका ब्याट्री बदल्न परिचालन गरिएका कर्मचारीलाई पनि हिँडडुल गर्दा सतर्कता अपनाउन भनिएको छ ।

गणनामा निकुञ्ज क्षेत्रका जानकार र अनुभवी प्राविधिकलाई परिचालन गरिएको छ । श्रेष्ठले जंगलभित्र सुरक्षा टोलीबिना नहिँड्न प्राविधिकलाई सचेत गराइएको बताए । क्यामेरा जडान गर्ने प्राविधिक टोली सेना र अन्य कर्मचारीसँगै हात्तीमा आउजाउ गर्ने गरेको छ । उनीहरूको बास बस्ने व्यवस्था सेना रहेको पोस्ट र निकुञ्जको पोस्टमा मिलाइएको छ ।

निकुञ्जबाहिरको मध्यवर्ती क्षेत्र, करिडोर र सामुदायिक वन क्षेत्रमै बाघले आक्रमण गरेका धेरै घटना भएकाले यसपटक संवेदनशील मानिएका स्थान र कोर क्षेत्रभित्र क्याम्प बनाइएको छैन । विगतका गणनामा भने प्राविधिक टोली भित्रीभागमा क्याम्प खडा गरेर टेन्टमै पनि बस्थ्यो । बर्दिया निकुञ्जमा गणना सकिएलगत्तै बाँके निकुञ्जमा क्यामेरा जडान सुरु गरिनेछ । बर्दिया निकुञ्जअन्तर्गतको भागमा करिब तीन सातामा गणना सकिने आकलन छ । तेस्रो र चौथो ब्लक बाँके निकुञ्जअन्तर्गत पर्छन् ।

बर्दिया–बाँके कम्प्लेक्समा माघभित्र गणना सकिनेछ । यसपटक बर्दियामा बाघको संख्या उल्लेख्य बढ्ने प्राविधिकले अपेक्षा गरेका छन् । मानिस र पशुधनमाथि पछिल्लो समय भएका शृखंलाबद्ध आक्रमणले त्यसको संकेत गर्ने प्राविधिकहरू बताउँछन् । चालु आव २०७८/७९ का चार महिनामा बाघको आक्रमणबाट बर्दियामा चार र बाँके निकुञ्ज क्षेत्रमा तीन जनाको ज्यान गइसकेको छ । बर्दियामा आव २०७७/७८ मा १३ र आव २०७६/७७ मा ६ जनाको ज्यान गएको थियो । आव २०७६/७७ मा बाँके निकुञ्ज क्षेत्रमा दुई जनाले ज्यान गुमाए ।

‘पटक–पटक घटना भएका र संवेदनशील भागमा क्याम्प खडा गरिने छैन,’ राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को बर्दिया संरक्षण कार्यक्रमका प्रमुख रविन कडरियाले अघिल्ला पटकभन्दा यसपटक फरक र उच्च सतर्कता अपनाएर गणना गरिरहेको बताए । ‘विगतमा नदीतटीय क्षेत्र र जंगलको भित्री भागमा टेन्ट राखेर बसेका थियौं,’ कडरियाले भने, ‘यसपटक नितान्त मान्छेको चहलपहल भएको स्थान र सेना–निकुञ्जको पोस्टमा क्याम्प बनाइएको छ ।’

‘टाइगर एन्ड प्रे–बेस मोनिटरिङ प्रोटोकल २०१७’ ले निर्दिष्ट गरेअनुसार क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधि अपनाएर बाघ गणना गरिनेछ । गणनामा १० हजार ९ सय ४४ मान्छेदिन (म्यान डे) लाग्ने अनुमान गरिएको छ । फागुनसम्म सबै कम्प्लेक्समा गणना सक्ने र साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गरिने विभागको तयारी छ ।

नेपालमा यो गणनामा बाघको संख्या करिब दोब्बर अर्थात् २ सय ५० को हाराहारी पुग्ने अपेक्षा गरिएको छ, सन् २०१० ताका नेपालमा १ सय २१ बाघ थिए । पहिलो गणनामा सन् १९९५/९६ मा करिब सय, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले गणनामा सहयोग गरेका छन् । गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित : पुस २३, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?