१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सार्कका लागि भारत अझै अनिच्छुक

राजेश मिश्र

नयाँ दिल्ली — पाकिस्तानले सार्क शिखर सम्मेलनका लागि गरेको आह्वानलाई भारतले अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयले सार्क शिखर सम्मेलन गरिहाल्ने विषयमा कुनैपनि नयाँ सहमति निर्माण भइनसकेको जनाएको छ ।

सार्कका लागि भारत अझै अनिच्छुक

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीले गएको सोमबार १९ औं सार्क शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको र त्यसका लागि सबै सदस्य राष्ट्रहरुलाइ फेरि पनि निम्ता पठाइने बताएका थिए । उनले इस्लामावाद आउन समस्या भए भारत ‘भर्चुअल’ रुपमा सहभागी हुनसक्ने सुझाव दिएका थिए । भारतकै कारण सार्क संकटमा परेको उनको आरोप थियो ।

बिहीबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सार्क सम्मेलनका लागि अनुमति दिने विषयमा कुनैपनि सहमति भइनसकेको बताए । सार्कबारे पाकिस्तानी विदशमन्त्रीको टिप्पणी मिडिया रिपोर्टबाट थाहा पाएको उल्लेख गरे । ‘सन् २०१४ पछि सार्क सम्मेलन किन हुन सकेको छैन ? तपाईंहरुलाई थाहा छ,’ मिडियाको जिज्ञासामा उनले भने ‘त्यसपछिको परिस्थितिमा कुनैपनि परिवर्तन भएको छैन । त्यसैले हामी बीच कुनै त्यस्तो सहमति भइसकेको छैन जसले सार्क बैठक गर्ने अनुमति दिन्छ ।’

प्रत्येक २ वर्षमा हुने सम्मेलन सन् २०१४ यता भएको छैन । १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको शत्रुवत् सम्बन्धका कारण भारतले इस्लामावादको सार्क सम्मेलनमा सहभागी नहुने जनाएपछि सम्मेलन नै हुन पाएको छैन ।

प्रकाशित : पुस २२, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?