परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौँ — ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएकै दिन बिहीबार नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र भारतका विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरु बीचमा स्थगित भ्रमणका सम्बन्धमा कुराकानीदेखि द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको हो ।

देउवाले पुस २५ देखि २७ सम्म भारतको भ्रमण गर्ने कार्यतालिका थियो । तर पुस २६ देखि २८ सम्म हुन लागेको उक्त ग्लोबल समिट ओमिक्रोन संक्रमणको कारण स्थगित भएको हो ।

भारतका विदेश मन्त्री जयशंकरले ट्वीटमार्फत आफूले नेपालका परराष्ट्र मन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा फोन गरेको प्रष्ट पारेका छन् ।

जयशंकरले धेरै विषयहरुमा प्रगति पहिचान गर्ने अवसर मिलेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो विकास साझेदारी र कोभिड–१९ को सहकार्य उल्लेखनीय छ । हाम्रो सहयोगको दृष्यलाई फराकिलो बनाउन सहमत भएको छ,’ जयशंकरले ट्वीटमा भनेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई जना बीचमा नयाँ वर्षको शुभकामना आदान–प्रदानको साथै दुई पक्षीय विकास र कोभिड–१८ सम्बन्धी सहयोग लगायतका विभिन्न विषयमा छलफल भएको थियो । ‘सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेका थिए,’ मन्त्रालयले ट्वीटमार्फत जनाएको छ ।

प्रकाशित : पुस २२, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?