बाघको डरले सम्साँझै बस्ती सुनसान

पछिल्लो एक वर्षमा बर्दिया निकुञ्जमा बाघको आक्रमणबाट १३ जनाको मृत्यु, चौपायामाथि पनि निरन्तर आक्रमण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न रणनीतिक योजना लागू 

गेरुवा, बर्दिया — मंसिरयता गेरुवा गाउँपालिका–४ राजीपुरकी निर्मला चौधरीको दिनचर्या बदलिएको छ । घाम नअस्ताउँदै घरभित्र छिरिसक्छिन् र उज्यालो भएपछि मात्र बाहिर निस्किन्छिन् । गत मंसिर १२ मा अपराह्नतिर घरबाट केही पर भैंसीलाई पानी खुवाउन लगेका बेला निर्मलाका ससुरा कालुराम थारूलाई बाघले आक्रमण गरेर मारेपछि राजीपुर र गोला क्षेत्रका स्थानीयको दिनचर्या बदलिएको हो । 

बाघको डरले सम्साँझै बस्ती सुनसान

‘साँझ नपर्दै घरभित्र छिरेपछि उज्यालो नभएसम्म बाहिर निस्कँदैनौं,’ निर्मलाले भनिन्, ‘दिसा–पिसाब पनि घरभित्रै कोपरामा गर्न बाध्य भएका छौं ।’ गाईभैंसी चराइरहेका र घाँस काटिरहेका धेरै मानिस भएको ठाउँनजिकै रहेका कालुरामलाई बाघले आक्रमण गरेको थियो । राजीपुर र गोला जंगलनजिकै जोडिएका बस्ती हुन् । निकुञ्जको सीमानजिकैका यी बस्ती अचेल घाम नअस्ताउँदै सुनसान हुन्छन् । लाग्छ– बस्तीमा ‘कर्फ्यु’ लगाइएको छ ।

स्थानीयबासीका अनुसार तीन वर्षयता दुवै बस्तीमा दिनहुँजसो बाघ छिरिरहेको छ । हात्तीको मात्र समस्या भोग्दै आएका यहाँका बासिन्दा अहिले बाघका कारण बढी त्रसित छन् । बाघको तुलनामा हात्तीले गर्ने क्षतिका घटना केही वर्षयता कम छन् । एकै दिन एउटा बस्तीमा बाघले बितण्डा मच्चाइरहेको देखिन्छ भने नजिकैको अर्को बस्तीमा हात्तीले बबन्डर गर्ने गरेको छ । बस्तीको चारैतिर जंगल छ । ओहोर–दोहोर गर्नेक्रममा हात्ती बस्तीमा छिर्ने गरेका हुन् ।

९६८ वर्गकिमि क्षेत्र निकुञ्ज र ३२७ वर्गकिमि मध्यवर्ती क्षेत्र रहेको बर्दियामा सन् २०१८ को गणनामा ८७ वयस्क बाघ थिए । चार वर्षपछि अहिले सरकारले बर्दियासहित बाघ रहेका सबै निकुञ्जमा गणना गरिरहेको छ । आक्रमणका घटना बढेकाले निकुञ्जले धान्ने बाघ संख्या (क्यारिङ क्यापासिटी) कति हो भनेर पनि अध्ययन गर्दै छ ।

गेरुवाका गोला र राजीपुर क्षेत्रमा २०७६ देखि बाघ बस्तीनजिक आउन थालेको स्थानीय बताउँछन् । त्यसअघि आक्कलझुक्कल घरपालुवा चौपायामाथि आक्रमण गरे पनि मान्छेमाथि आक्रमण गरेका घटना कम थिए । यो क्षेत्रमा २०७६ भदौमा एक महिलालाई बाघले मारेको थियो । २०७७ कात्तिकमा अर्का एक पुरुषलाई मारेको थियो । तीन वर्षमा एउटै ठाउँमा बाघबाट तीन जना मारिएका छन् ।

गाई, भैंसी र बाख्रालगायतका पशुमाथि बाघले आक्रमण गरेका घटना कैयौं छन् । बाघबाहेक कहिलेकाहीं चितुवाले पनि क्षति गरेको छ । बस्ती पुग्ने निकुञ्जका हरेक कर्मचारीलाई स्थानीयले बाघ समातेर अन्यत्रै सारिदिन आग्रह गर्ने गरेका छन् । ‘यो बस्तीका ३२ घरमध्ये सबै कुनै न कुनै घटनाबाट पीडित छौं,’ राजीपुरका राजु चौधरीले भने, ‘बस्ती छेउबाटै बाघ कराउँदै हिँड्छ । धेरै पटक गोठबाटै गाईगोरु र बाख्रा तानेर लगेको छ । बरु, दिसा–पिसाब घरभित्रै गर्छौं बाहिर निस्कने आँट छैन ।’ बस्तीमा सबैका शौचालय घर बाहिर छन् ।

मान्छे र पशुमाथि आक्रमण गर्न थालेपछि निकुञ्जले बाघ पहिचान गर्न र तिनको आउजाउ अनुगमन गर्न बस्ती आसपास स्वचालित क्यामेरा जडान गरेको थियो । क्यामेरा जडानपछि गत मंसिर १२ मा कालुराम थारूलाई दिउँसै आक्रमण गर्ने बाघले भोलिपल्टै बस्तीमा छिरेर एउटा भैंसीलाई आक्रमण गरेको पुष्टि भएको थियो । त्यसलगत्तै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को बर्दिया संरक्षण कार्यक्रमका प्राविधिकले त्यो बाघलाई नियन्त्रणमा लिएका छन् ।

दिनहुँजसो बाघले आजित पार्न थालेपछि गाउँलेको मनोबल बढाउन निकुञ्जले अहिले गेरुवा–४ राजीपुरमा तीनवटा हात्तीसहित ६ जना प्राविधिक परिचालन गरेको छ । उनीहरूको टोली बस्तीको बीचमा ‘क्याम्पिङ’ गरेर बसेको छ । बस्तीनजिकै बाघलगायतका वन्यजन्तु देखापरे हो–हल्ला गरेर धपाउन र अनुगमन गर्न हात्तीसहितका कर्मचारी परिचालन गरिएको हो । स्थानीयको गुनासो तत्कालै सम्बोधन गर्न सकियोस् भनेर गेरुवा–५ बन्जरियामा (बन्जरिया रेन्जपोस्ट) मा प्राविधिकसहितको गाडी ‘स्ट्यान्ड बाई’ राखिएको छ ।

गेरुवाको मनाउदेखि गोलासम्मकै बस्ती पछिल्ला दिनमा बाघ र हात्तीका कारण अक्रान्त छन् । गेरुवाभित्र पशुपतिनगर, गोला, पाताभार र मनाउ गरी साविकका चार गाविस छन् । विगतमा यी सबै हात्तीपीडित क्षेत्र हुन् ।

हात्तीमा विद्यावारिधि गरिरहेका बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार भारतको नन्धौर वाइल्डलाइफ सेन्चुरीमा समूहमा रहेका हात्ती कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी हुँदै खाता करिडोरबाट बर्दिया छिर्छन् । तिनै हात्तीले बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रका बस्तीमा क्षति गर्ने गरेका छन् । पछिल्लो पटक पुस १८ मा राजापुर–९ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । उक्त घटनाको दुई दिनपछि मंगलबार त्यही क्षेत्रनजिक विद्युतीय धरापमा परेर एउटा जंगली हात्ती मरेको छ ।

पटक–पटक मान्छेमाथि आक्रमण गरेको पुष्टि भएपछि त्यस्तो बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ तर बस्तीआसपास बाघ आउन भने छाडेको छैन । अहिले पनि बस्ती आसपासमै तीनवटा बाघ हिँड्ने गरेको छ । बस्ती छिर्ने बाघ पहिचान गर्न अहिले निकुञ्जले क्यामेरा जडान गरेको छ । गत साता गेरुवा–४ को खल्लागाउँमा एउटै बाघले दुईवटा गोरुलाई आक्रमण गरी घाइते बनाएको थियो भने अर्को गोठबाट एउटा गाई लगेको थियो । ‘बाघ आएको थाहा थियो तर धपाउन सक्ने आँट भएन, उज्यालो नभएसम्म बाहिर निस्किँदैनौं,’ खल्लागाउँका दलबहादुर हमालले सुनाए, ‘रातैभरि बस्तीआसपास बाघको रजाइँ छ ।’

बस्तीनजिकको खेतमा बाढी पसेर बगर बनेका कारण उब्जनी गर्न छाडिएपछि स्थानीयका धेरै जमिन घाँसेमैदानमा परिणत भएको छ । खाली जमिनमा बाघका आहार मृग प्रजाति र जंगली बँदेलको संख्या बढेको छ । ती आहारकै खोजीमा आएका बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ । त्यही भएर निकुञ्ज र गाउँपालिकाको लगानीमा साना प्रजातिका वन्यजन्तुलाई बस्ती आउनबाट रोक्न गत वर्षदेखि नै मेसजाली बार लगाउन सुरु गरिएको छ । मेसजालीबाट साना वन्यजन्तु छिर्न नसक्ने भएकाले ती वन्यजन्तु बस्तीतिर नआउँदा बाघसमेत रोकिने प्राविधिकहरूको बुझाइ छ ।

खेती गर्न छाडेपछि झाडी बनेको जमिनलाई खुला गर्ने काम पनि सुरु गरिएको छ । त्यसो गर्दा सीधै बस्तीबाट टाढासम्म वन्यजन्तुको आउजाउ अवलोकन गर्न सकिने भएकाले सम्भावित जोखिमबाट बच्न सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । झाडी हटाएर सम्याउने काम पनि भइरहेको छ । चालु वर्ष बस्ती फैलिएका र जंगलसँग जोडिएका गाउँलाई छेक्ने गरी १२ देखि १४ किलोमिटर लामो बार लगाउने योजना छ । ‘त्यसो गर्न सकिए केही हदसम्म बाघका आहार प्रजाति बस्तीनजिक नआउलान् भन्ने विश्वास छ,’ राजीपुरका राजु चौधरीले भने, ‘हाम्रो अर्को माग भनेको समस्या निम्त्याइरहेका र मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हो ।’

मधुवन नगरपालिकामा पर्ने भारतीय सीमा जोडिएको खाता जैविकमार्ग क्षेत्रमा पनि बाघको आक्रमणबाट २०७५ माघदेखि २०७८ जेठसम्म ७ जनाको ज्यान गएको छ । त्यसरी आक्रमण गर्नेमध्येको एउटा बाघ निकुञ्जले २०७७ चैत ५ मा नियन्त्रणमा लिएर बाँके निकुञ्जको खोरमा पठाएको थियो । सीमाक्षेत्रमा जडान गरिएको स्वचालित क्यामेराले उक्त क्षेत्रमा ५ वटा बाघ नेपाल–भारत ओहोरदोहोर गर्ने देखाएको छ ।

निकुञ्जको भित्री क्षेत्रमा फरक–फरक समयमा तीन जनाको ज्यान लिएको बाघलाई पनि नियन्त्रणमा लिएर निकुञ्जले २०७७ चैत २२ मा सदर चिडियाखाना पठाएको थियो । निकुञ्जका माउतेद्वय मंगरु थारू र पुलिसराम थारू तथा न्युरो टिप्न गएकी डल्ली राउतलाई त्यही बाघले आक्रमण गरेको पुष्टि भएपछि बगौराफाँटाबाट नियन्त्रणमा लिइएको थियो ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघले समस्या गरेको क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनुगमन गरिरहेको बताए । ‘समस्या दोहोरिएका क्षेत्रलाई निगरानी गर्ने, क्यामेरा जोडेर समस्याग्रस्त बाघ पहिचान गर्ने काम भइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘मान्छेलाई धेरै आक्रमण गरेका, धेरै पशु क्षति गरेका र अशक्त बाघलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यो काम जारी छ ।’

आर्थिक वर्ष २०७७/७८ मा मात्र बर्दिया निकुञ्जमा बाघको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दीर्घकालीन समाधानका रूपमा निकुञ्जले बढी प्रभावित क्षेत्रमा बिमा गर्ने नीति लिएको छ । पहिलो चरणमा वन्यजन्तुले बढी क्षति गरेको ठाकुरबाबा नगर र गेरुवा गाउँपालिकाबाट बिमाको थालनी गर्न खोजिएको श्रेष्ठले बताए । त्यस्तै, पालिकाहरूसँगको सहकार्यमा एकीकृत फेन्सिङ (मेसजाली) गर्ने, बस्तुभाउलाई चराउने प्रचलनबाट विस्थापित गरी उन्नत जातका पशुपालनमा जोड दिने र डाले घाँस रोप्न पनि प्राथमिकता दिइएको छ ।

निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक योजना (२०७८–२०८३) पनि लागू गरेको छ । पाँचवर्षे योजनामा निकुञ्ज, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट द्वन्द्व न्यूनीकरण गर्ने तथा स्थानीयको जीविकोपार्जनमा सुधार कार्यक्रमलाई जोड दिइएको छ ।

‘वन्यजन्तुको आक्रमणमा परी अंगभंग भएका र मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई राहत रकमको अतिरिक्त जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने’ योजनामा उल्लेख छ । यो कार्यक्रमका लागि बर्दियामा ५ वर्षमा २ अर्ब ७७ करोड २३ लाख ५० हजार रुपैयाँ खर्च गर्ने उल्लेख छ ।

हात्तीले घरमै आएर मानवीय र धनको क्षति गर्ने गरे पनि अहिलेसम्म बाघबाट भएका सबै घटना घरभन्दा बाहिर भएका छन् । ‘घाँस काट्न गएका बेला वा न्युरो टिप्न जंगलभित्र गएको बेलामा धेरै मानवीय क्षतिका घटना भएका छन्’, राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण कार्यक्रमका प्रमुख तथा वन्यजन्तुविद् रबिन कडरियाले भने, ‘त्यही भएर मान्छेले आनिबानी परिवर्तन गर्नै पर्छ ।’

वैकल्पिक आयआर्जन, घाँसका लागि जंगल जानै नपर्ने, छाडा पशुपालनमा रोक र विद्युतीय र मेसजालीलाई प्रवद्र्धन गर्ने हो भने अहिले देखिएको द्वन्द्वको समस्या न्यूनीकरण हुने कडरिया बताउँछन् । ‘बस्ति आसपासमा वन्यजन्तुको आउजाउका लागि नियमित रुपमा अनुमगन गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ’, उनी भन्छन्, ‘त्यसले समस्या निम्त्याउने वन्यजन्तुको पहिचान गर्न सकिन्छ र नियन्त्रण गर्न सघाउ पुग्छ । जसले गर्दा संभावित क्षति रोकिन्छ ।’

सरकारले अहिले मानव क्षति, बालीनाली र घरगोठ क्षतिबापत राहत रकम दिन्छ । त्यसका लागि वन्यजन्तुबाट हुने क्षतीको राहत निर्देशिका २०६९ छ । त्यसमा मानवीय मृत्युको हकमा प्रकृति कोषबाट घटना भएलगत्तै किरिया खर्च भनेर ५० हजार दिइन्छ । मानवीय मृत्युबापत परिवारले १० लाख रुपैयाँ पाउने व्यवस्था छ, तर, त्यो झन्झटिलो र अव्यवहारिक छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल त्यस्तो राहत रकम सम्वन्धित पालिकाबाटै दिन सकिए पीडितलाई सहज हुने भएकाले संशोधन प्रक्रिया अघि बढाइएको बताउँछन् । ‘सकेसम्म त्यस्ता घटना न्यूनीकरण गर्नेतिर हामीले ध्यान दिएका छौं’, उनले भने, ‘घटना भइहाले पनि राज्यबाट पाउने राहत सहज तरिकाले जनतालाई उपलव्ध गराउने गरी हामी काम गरिरहेका छौं ।’

प्रकाशित : पुस २२, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?