१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

अवधेश झा

राजविराज — प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा बुधबार साँझ दुर्घटना भएको छ । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिइन् ।

प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उनका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताए ।तर दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेको उनको स्वकीय सविच ध्रुवकुमारमण्डलले जानकारी दिए ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताए । छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गत मंसिर ८ गते फेला परेको थियो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित : पुस २१, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?