गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् ।

नेकपा एमाले शंकरापुर–२ मा मंगलबार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन् ।

अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए । उनले भने, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौं क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शंखरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे ।

“आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ,” उनले भने, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।”

सो कार्यक्रममा उनले नेकपा एमाले शंकरापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित : पुस २१, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

चिसो बढेपछि बर्दियाका अधिकांश विद्यालय बन्द

कान्तिपुर संवाददाता

बर्दिया — अत्यधिक चिसोसँगै चलेको हावाले जनजीवन प्रभावित भएपछि बर्दियाका अधिकांश पालिकाले दुईदेखि चार दिनसम्म विद्यालय बन्द गरेका छन् । गुलरिया नगरपालिकाले पुस २२ देखि २५ सम्म आफ्नो पालिकाभित्र पर्ने विद्यालय बन्द गराएको छ ।


शिक्षा‚ युवा तथा खेलकुद शाखाका प्रमुख शतिश यादवले चिसो बढेका कारण बालबालिका निकै प्रभावित भएकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाए ।

थप चिसो बढे गर्मी बिदामा कटौती गरी विद्यालय बन्द गरिने उनले बताए । चार दिनयता जिल्लामा चिसोसँगै बाक्लो हुस्सु लागेकाले बारबर्दिया र मधुवन नगरपालिकाले पनि केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

बाक्लो हुस्सुले दिउँसै अँध्यारोजस्तै भएको छ । सिमसिमे पानीजस्तै शीत परेपछि धोएका लुगा लामो समयसम्म सुक्न पाएका छैनन् ।

प्रकाशित : पुस २१, २०७८ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×