कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चिसो बढेसँगै जनजीवन कष्टकर

शीतलहर चल्दा वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित 

भैरहवा — बड्का थारू सबेरै अटोरिक्सा लिई मणिग्राम चोकतिर लाग्थे । दिनभरि मान्छेलाई गन्तव्यमा पुर्‍याइदिने काम गरेबापत भएको कमाइले साँझ चामल किनी घर फर्किन्थे । रूपन्देहीको तिलोत्तमा–६ का उनलाई तीन दिनयता चिसोले निकै सताएको छ ।

चिसो बढेसँगै जनजीवन कष्टकर

रिक्सा लिएर जसोतसो चोकमा पुगे पनि ग्राहक नपाएर छट्पटिनु परेको उनले बताए । ‘हात कठ्यांग्रिएर रिक्सा चलाउन पनि मुस्किल पर्छ,’ उनले भने, ‘चिसो बढी हुँदा छाक नै रोकिने चिन्ता छ ।’

हुस्सुसँगै एकाएक बढेको चिसोले लुम्बिनी प्रदेशका पहाडी, हिमाली र तराईका जिल्ला प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । बेमौसमी वर्षासँगै जाडो बढेपछि बजार क्षेत्रमा चहलपहल घटेको छ । चिसोले बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

पछिल्ला केही दिनयता रूपन्देहीमा चिसो बढ्दै गएको छ । गत मंगलबार र बुधबार भएको वर्षासँगै बढेको चिसोले जिल्लाको जनजीवन कष्टकर बनेको हो । बिहानैदेखि लाग्ने बाक्लो हुस्सुका कारण सडकमा यातायातका साधन पनि न्यून संख्यामा गुडेका छन् । चिसोका कारण अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन् । बजार, पसल, सार्वजनिक स्थल, सरकारी कार्यालयलगायतमा मान्छेको चहलपहल पातलो छ ।

चिसोका कारण दैनिक ज्यालामजदुरी गर्ने श्रमिक बढी मर्कामा परेका छन् भने बालबालिका, महिला तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । सर्वसाधारणले कतिपय ठाउँमा आगो बालेर चिसो भगाउने प्रयास गरिरहेका छन् । बालबालिकालाई स्वास्थ्य समस्या हुने भन्दै जिल्लाका केही स्थानीय तहले विद्यालय बन्द गर्न आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिकाले गत बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

विद्यालयले बर्खे र हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ मा बिदा दिएको थियो । त्यस्तै, रोहिणी गाउँपालिकाले आइतबार र सोमबार विद्यालय बन्द गर्‍यो । सोमबारपछि पनि मौसममा सुधार नदेखिए बिदा लम्ब्याउने विषयमा गाउँपालिकाले थप निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएपछि भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट हुने हवाई उडान पनि प्रभावित भएका छन् । भैरहवाबाट काठमाडौं, पोखरा र चितवन गरी दैनिक २७ वटासम्म उडान हुने गरेका छन् ।

चिसो बढेपछि कपिलवस्तु सदरमुकाम तौलिहवा, जितपुर, कृष्णनगर, चन्द्रौटा र महाराजगन्जलगायतका ठाउँमा सर्वसाधारण दिउँसै चोकचोकमा आगो बालेर बसेका छन् । चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन् । बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयलगायतमा मान्छेको चहलपहल नगण्य छ । स्कुले बालबालिकालाई समस्या हुने भन्दै कृष्णनगर नगरपालिकाले पुस १९ देखि तीन दिन बिदा दिएको छ ।

बुधबारपछि पनि मौसममा सुधार नदेखिए बिदा लम्ब्याउने विषयमा नगरपालिकाले थप निर्णय गर्ने नगर प्रमुख रजतप्रताप शाहले बताए । ‘दिनभरि लाग्ने बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बनाएको छ,’ कपिलवस्तु नगरपालिका–३ मालटोलकी पुष्पा रेग्मीले भनिन्, ‘चिसोले जनजीवन नराम्ररी प्रभावित भएको छ ।’ तीन दिनदेखि घाम नलागेपछि मुटु कठ्यांग्रिने गरी चिसो बढेको उनले बताइन् ।

यता बाँकेमा शीतलहरले जनजीवन आक्रान्त छ । दिउँसो पनि चिसो बढ्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । शीतलहरसँगै कुहिरोले गर्दा नेपालगन्ज विमानस्थलमा बिहानका उडान प्रभावित भएका छन् । दुई दिनदेखि बिहान र साँझ शीतलहरसँगै कुहिरो लागेको छ । नेपालगन्जको तापक्रम घट्दै गएको छ ।

हावापानी कार्यालयका अनुसार नेपालगन्जमा न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियसमा झरेको छ । सर्वसाधारणलाई शीतलहरबाट जोगाउन गाउँ र टोलका चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउने योजना बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । ‘तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेका छौं,’ उनले भने ।

डुडुवा गाउँपालिकाले सर्वसाधारणलाई शीतलहरबाट जोगाउन गाउँ र टोलका चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउने योजना बनाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

नरैनापुर गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्ने भएको छ । वडा कार्यालयमार्फत कम्बल वितरणको कार्यक्रम रहेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । शीतलहरबाट जोगिन नेपालगन्ज उपमहानगरपालिकाले चोक–चोकमा आगो बाल्ने योजना बनाएको उपप्रमुख उमा थापामगरले बताइन् । ‘चिसोबाट जोगिने उपाय र सावधानीसहित सन्देशमूलक सूचना प्रवाह गर्दै आएका छौं,’ उनी भन्छिन् । कोहलपुर नगर, बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिकाले पनि शीतलहरका बेला चोकमा आगो बालेर ताप्न दाउरा वितरण गर्ने योजनाबाहेक अन्य कुनै तयारी गरेका छैनन् ।

शुक्रबारदेखि बढेको चिसोसँगै चलेको शीतलहरले पश्चिम नवलपरासीको जनजीवन प्रभावित छ । बाक्लो हुस्सु लागेपछि बजार र सडकमा चहलपहल घटेको छ । मजदुर र किसानलाई बढी मर्का परेको छ । जाडोबाट बच्नका लागि किसानले खेतबारीमा काम गर्न जान छाडेका छन् भने मजदुरसमेत काम छाडेर घरमा बस्न थालेका छन् । तराईमा गहुँमा सिँचाइ गर्ने, उखु काट्ने र तरकारी बालीको काम गर्ने सिजन भए पनि जाडोका कारण काम नै रोकेर बस्नुपरेको परासीका रामचन्द्र ज्ञवालीले बताए ।

विपन्न बस्तीका मजदुर जाडोले दैनिक ज्यालादारी गर्न जान नपाएपछि बिहान–बेलुकीकी छाक कसरी टार्ने भन्ने पिरलोमा छन् । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित बनेका छन् । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा रुघा, दम–खोकी, चिसोको एलर्जी, निमोनिया, टन्सिल, पिनास र भाइरल तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या बढेको छ ।

परासी, बर्दघाट, भुमही, सुनवललगायतका क्षेत्रमा दिनभरिजसो बाक्लो हुस्सु लागेपछि पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने सवारी साधनले दिउँसै बत्ती बालेर हिँड्ने गरेका छन् । राजमार्गमा लामो दूरीका बाहेक निजी र सार्वजनिक सवारीसाधनको चाप घटेको छ । तीन दिनअघि परेको पानीसँगै बर्दियामा बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । चिसो हावासँगै बाक्लो हुस्सु र शीतलहर चलेको छ । हुस्सुले सवारीसाधन दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।

चिसोका कारण निमोनिया, रुघाखोकी र पखालाका बिरामी बढेको जिल्ला अस्पताल बर्दियाका डा. विश्वनाथ साहले बताए । कतिपय ठाउँमा चिसोबाट बच्न निजी खर्चमा स्थानीयले समूह–समूहमा आगो बालेर तापेका छन् ।

सन्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु), रूपा गहतराज (नेपालगन्ज), नवीन पौडेल (परासी) र कमल पन्थी (बर्दिया)

प्रकाशित : पुस २०, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?