संकीर्ण जातिवादले राष्ट्रिय पहिचान बन्‍न सक्दैन : अध्यक्ष ओली- समाचार - कान्तिपुर समाचार

संकीर्ण जातिवादले राष्ट्रिय पहिचान बन्‍न सक्दैन : अध्यक्ष ओली

रासस

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३५औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिए । राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो ।

“वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलंकीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै हो,” नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले भने, “जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो । हामीले योजनाबद्धरूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ ।” एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उनले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाए ।

उनले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताए ।

एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले विश्वको परिवेशलाई समेत ख्याल गरेर कम्युनिष्ट धारलाई जनतामुखी बनाउन संस्कृतिकर्मीको भूमिका हुने बताए । एमालेका जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले महासंघले सबै कलाकर्मीलाई एकतबद्ध बनाउँदै एमालेले मुलुकको पहिलो शक्तिका रूपमा स्थापित गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : पुस १९, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी बैठक स्थगित, पुस २५ को बैठकले पदाधिकारी टुंगो लगाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक पुष्पकमल दाहाललाई अध्यक्षमा चयन गर्दै स्थगित भएको छ । ललितपुरको सानेपामा भएको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो।


अर्को बैठक पुस २५ गते बस्ने बताइएको छ । माओवादी केन्द्रको आइतबार ८ औं महाधिवेशनले केन्द्रीय समितिको चयन गरेको थियो । सोमबारको बैठकबाट अध्यक्षमा दाहाल चयन भए पनि पदाधिकारीहरूको भने टुंगो लागेको छैन ।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो २५ गतेको बैठकले लगाउने कृष्णबहादुर महराले जानकारी दिएका छन् । सोमबार नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाल सर्वसम्मतबाट चयन भएका हुन् ।

यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् । उनले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई महत्वपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी आएको प्रतिक्रिया दिएका थिए ।

माओवादीले १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

प्रकाशित : पुस १९, २०७८ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×