कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
राष्ट्रिय सभा सदस्य निर्वाचन

सत्ता गठबन्धनमा उम्मेदवार छान्न गृहकार्य

प्रकाश धौलाकोटी

काठमाडौँ — सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्न गृहकार्य थालेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि गठबन्धन गरेरै उम्मेदवारी दिन लागेका हुन् । 

सत्ता गठबन्धनमा उम्मेदवार छान्न गृहकार्य

दलहरूले कुन दलले कति सीट लिने र कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धन र पार्टीभित्र छलफल थालेका छन् । तर, दलहरूबीच पदको बाँडफाँड भने मिलिसकेको छैन ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबार १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान गठबन्धनका शीर्ष नेताहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनौट गर्ने सन्दर्भमा छलफल गर्न बैठक बोलाएका छन् । त्यसपछि सोमबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा समेत त्यसबारे छलफल हुने नेताहरूले बताएका छन् ।

देउवानिकट नेता प्रकाशशरण महतले राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयमा गठबन्धनभित्र छलफल भइरहेको बताए । ‘गठबन्धन गरेरै निर्वाचनमा जाने तयारी हो, त्यसैले उम्मेदवार चयन गर्नेबारे गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने, ‘सोमबारसम्म गठबन्धन र पार्टी दुवैतिर त्यसको टुंगो लाग्छ ।’

राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिदैंछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य छन् । बाँकी १९ पदका लागि निर्वाचन हुन लागेको हो । ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । स्रोतका अनुसार गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाले गठबन्धन गर्दा १९ सीटलाई भागबण्डा गरेर उम्मेदवार चयन गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार कांग्रेसले १० सीट दाबी गरेको छ । ‘१९ सीट खाली हुने हो, त्यसमध्ये १० सीटमा हामीले दाबी गरेका छौं,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४–४ सीट र जसपाले १ सीटमा उम्मेदवारी दिने सामान्य तयारी हो, टुंगिएको छैन ।’

आकांक्षीहरूले आ–आफ्नो पार्टीभित्र दबाब बढाएका छन् । तर, दलहरूले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन नजिकिँदा पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

गठबन्धनसम्बद्ध नेकपा माओवादी केन्द्र आफ्नो आठौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनमा व्यस्त भएकै कारण अहिले गठबन्धनले त्यसबारे टुंगो लगाउन सकेको छैन । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्नेबारे पार्टीमा अहिले कुनै छलफल नभएको बताए ।

‘सबै दलहरू आ–आफ्नो महाधिवेशनमा लागेका छन्, गठबन्धनसम्बद्ध माओवादी केन्द्रको महाधिवेशन चलिरहेको छ, त्यसैले गठबन्धनकै बैठक बसेको छैन, गठबन्धनको बैठक नबसी पार्टीले उम्मेदवार छान्ने कुरा पनि भएन,’ नेता यादवले इकान्तिपुरसँग भने, ‘गठबन्धनमा सीट संख्या बाँडफाँटको टुंगो लागेपछि बल्ल पार्टीमा छलफल हुन्छ ।’

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । नेकपा विभाजनका कारण यसपटक सातै प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित हुने अवस्था छ ।

राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदकालागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।

कांग्रेसमा छैन संसदीय समिति

गठबन्धनको ठूलो दल भएकाले कांग्रेसले सीट संख्या पाउने निश्चित छ । त्यहीअनुसार उम्मेदवारका आकांक्षीको रस्साकस्सी सुरू भइसकेको छ । तर, विधानअनुसार संघीय संसदकालागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने संसदीय समिति नै बनेको छैन ।

जसले गर्दा उम्मेदवार छनौट कसरी हुन्छ भन्ने प्रश्न उठेको छ । विधानअनुसार पार्टीका सभापति र महामन्त्री नै केन्द्रीय संसदीय समितिको सभापति र महामन्त्रीको भूमिकामा हुन्छन् । पार्टी पदाधिकारी संसदीय समितिका सदस्य हुन्छन् । सभापतिले केन्द्रीय सदस्यमध्येबाट समावेशी सिद्धान्तमा आधारित भएर बढीमा ११ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ । तर, अहिले भर्खरै महाधिवेशन भएकाले कांग्रेसले त्यस्तो संसदीय समिति गठन गरिसकेको छैन ।

विधानले राष्ट्रियसभा सदस्यको उम्मेदवारी चयनबारे अलग्गै व्यवस्था समेत गरेको छ ।

जसअनुसार राष्ट्रिय सभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नामध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमति अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रले प्राप्त नाम आफूसँग विवरण राखी केन्द्रीय संसदीय समितिमा पठाउनेछ । केन्द्रीय संसदीय समितिले प्राप्त नाम मध्येबाट सहमति हुन सकेमा सहमति, नभए बहुमतबाट निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषण गरी सम्बन्धित उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था छ ।

केन्द्रीय संसदीय समितिले त्यसरी तय गरेका उम्मेदवारको नाम केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, संसदीय समिति नै नभएको अवस्थामा सभापति देउवाले सोमबार केन्द्रीय समितिकै बैठक बोलाएका छन् ।

देउवानिकट एक नेताका अनुसार संसदीय समिति नभएपनि त्यसको निर्णयका लागि सभापति देउवासँग नै प्रष्ट बहुमत भएकाले अहिलेको परिस्थिति अनुकुल हुने गरी उम्मेदवारको छनौट गर्ने तयारी छ ।

यता कोइराला पक्षका नेता अर्जुननरसिंह केसीले भने सभापति देउवाले पार्टीमा अहिले त्यसबारे कुनै सल्लाह नगरेको बताए । ‘अहिलेसम्म कुनै छलफल भएको थाहा छैन, त्यसकालागि संसदीय समिति बनाउनुपर्ने हो, त्यो पनि गठन भएको छैन,’ केसीले भने ।

यसअघि ११ पुसमै केन्द्रीय समिति बैठकबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारको मनोनयन पत्रमा सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भने गरिसकेको छ ।

२०२५ मतदाता, ८ मतदान केन्द्र

यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगका अनुसार सात प्रदेशमा मतदानस्थल समेत तोकिसकिएको छ ।

प्रदेश नं. १ मा २ वटा मतदान स्थल तोकिएका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा मतदान हुनेछ भने यहाँ मतदाताको संख्या २६४ छ । प्रदेश २ मा महेन्द्रनारायण निधि भवनलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३७२ मतदाता छन् ।

बागमती प्रदेशमा हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३४६ मतदाता छन् । गण्डकीमा मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय पोखरा र मतदाताको संख्या २२९ छ ।

त्यस्तै, लुम्बिनीमा २९६ जना मतदाता छन् भने दाङको कर्मचारी मिलन केन्द्र भवनमा मतदान केन्द्र तोकिएको छ ।

कर्णालीमा १९१ मतदाता छन् । यहाँको मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय सुर्खेत हो । सुदूरपश्चिममा २२७ जना मतदाता छन् भने प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ ।

क–कसको पदावधि सकिदैछ ?

यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, बागमतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बिसी, लुम्बिनीबाट चन्द्रबहादुर खड्का र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिदैछ ।

समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदुरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तावाको पदावधि सकिदैछ । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिदैछ ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

प्रकाशित : पुस १८, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?