कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महिनावारीमा टालोको भर

‘सासू, माइतीमा आमा, भाउजूलगायतले सिकाएअनुसार चलन मानिरहेका छौं । छोरीले प्रयोग गर्ने सेनेटरी प्याड हाम्रा लागि उचित लाग्दैन ।’
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको मर्चवारी–३ की सविता कोइरीलाई महिनावारी हुने बेला नजिकिएसँगै तनाव हुन्छ । पेट दुख्ने र कम्मर करकर्ती खाने समस्या हुन्छ । शारीरिक र मानसिक रूपमा कमजोर महसुस हुने उनले बताइन् । ‘महिनावारीका बेला कुनै पनि काम गर्न सक्दिनँ,’ उनले भनिन्, ‘राम्रोसित निद्रा पनि लाग्दैन ।’

महिनावारीमा टालोको भर

महिनावारीको पीडा सम्झिँदा दिक्क लाग्ने गरेको उनले सुनाइन् । एकातिर दुखाइको पीडा, अर्कोतर्फ रगत रोक्नका लागि प्रयोग गर्ने कपडा (टालो) भिजिरहँदा हैरानी हुने गरेको उनले बताइन् । ‘धोएर तुरुन्तै फेर्न सकिन्न,’ उनले भनिन् । यस्तो बेला महिलाले भान्सामा पस्न नहुने, राम्रा कपडा लगाउन नहुने मान्यता छ । ‘सासू, माइतीमा आमा, भाउजूलगायतले सिकाएअनुसार चलन मानिरहेका छौं,’ उनले भनिन्, ‘छोरीलाई भने यस्तो चलनमा बाध्य पारेका छैनौं । छोरीले प्रयोग गर्ने सेनेटरी प्याड हाम्रा लागि उचित लाग्दैन ।’ उनका अनुसार छोरीले विद्यालयबाट प्याड पाउँछिन् । ‘मैले किनेर कतिन्जेल लगाउनु ?’ उनले भनिन्, ‘प्याड किन्ने पैसाले नुन–तेल किन्न पुग्छ ।’

मर्चवारी–३ की ३० वर्षीया अमरावती मुराउको समस्या पनि उस्तै छ । विवाहको १८ वर्ष भइसक्यो । सेनेटरी प्याड देखेकी छैनन् । महिनावारीका बेला टालो बनाउन सुतीकै साडी काम लाग्ने उनले बताइन् । पाँच सन्तानकी आमा उनले महिनावारीलाई घृणाको अवधिका रूपमा लिने गरेको बताइन् । ‘काममा व्यस्त भइन्छ, टालो पूरै नभिजेसम्म फेरिँदैन,’ उनले भनिन्, ‘कहिले त २४ घण्टासम्म एउटै टालो रहन्छ, कहिलेकाहीं केही छिटो बदल्छु ।’ सुरुमा प्रयोग गरेको कपडा भिजेर साडीमा रगत नलागेसम्म थाहै नपाउने गरेको उनले बताइन् । उक्त अवधिमा

हिँड्नुपरे मानिसहरूले रगत देख्ने पिरलो हुने गरेको उनले बताइन् । महिनावारीमा चलाएका टाला डिटर्जेन्ट पाउडरले धुने गरेको मुराउले बताइन् । गाउँभरिकै महिलाले यस्ता टाला धोएपछि लुगाले ढाकेर अरूले नदेख्ने ठाउँमा सुकाउने गर्छन् । ती नच्यातुन्जेल प्रयोग गर्ने मुराउको भनाइ छ । महिनावारी हुँदा काम लाग्छ भनेर नै चिप्लाको साटो सुतीका साडी लगाउने गरेको उनले बताइन् ।

स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएपछि सुरु गरेको सेनेटरी प्याड वितरण र प्रयोगबारेको सचेतना विद्यालय, क्याम्पसका छात्राका लागि उपयोगी बनेको छ । घर गृहस्थीमा भुल्ने ती छात्राका आमा भने प्याडको प्रयोगबारे अनभिज्ञ पाइन्छन् । छोरीले विद्यालयमा पाएर घरमा ल्याई प्रयोग गर्ने भए पनि महिनापिच्छे प्याड किनेर लगाउने आफूहरूको भाग्यमा नरहेको गुनासो उनीहरूको छ । सहरी क्षेत्र र पहाडी समुदायको बाहुल्य रहेका गाउँमा भने अग्रज महिला र किशोरीहरू धेरैजसोले टालोको सट्टा तयारी वा घरमै बनाउने सेनेटरी प्याड प्रयोग गर्ने गरेका छन् । महिनावारीका बेलासमेत निरन्तर काममा खटिनुपर्ने बाध्यता रहेका मधेसी महिलाले भने टालोबाट छुटकारा पाएका छैनन् । कसैगरी कहींबाट प्याड हात लागे पनि त्यसको प्रयोग प्रभावकारी नलाग्ने र प्रयोग नगर्ने गरेको उनीहरू बताउँछन् । मर्चवारी–४ की साम्रती कोहारको महिनावारी धेरै रगत जान्छ । उनी रगत थाम्नका लागि एकैपटकमा तीनवटासम्म टालो लगाउँछिन् । ‘कपडा बाफिएर कतिपटक घाउ भइसकेको छ,’ उनले भनिन्, ‘नलगाऔं रगत बग्छ, धेरै बग्ने भएकाले लुगाले जोगाउनुपर्छ ।’ दैनिक कपडा बदल्नुपर्ने भन्दै उनले धुन र सुकाउनुको झन्झटले महिनावारी नै रोकिए हुन्थ्यो जस्तो लाग्ने गरेको बताइन् । चाहेर पनि प्याड उपयोग गर्न नपाएकाले कहिलेकाहीं गरिबीप्रति रिस उठ्ने गरेको उनले गुनासो गरिन् ।

सम्मरीमाई–७ की झिन्की लोनियाले रजस्वला भएको वर्षदेखि टालो लगाएरै महिनावारीका दिन कटाएकी छन् । उनले भनिन्, ‘आफ्ना पालामा पाइएन ।’ ५० वर्ष पुगिसकेकाले दुई महिनामा एकपटक महिनावारी हुने गरेको भन्दै उनले कपडा बाँधेर अड्याएका दिन सम्झँदा अहिले पनि आँसु बग्ने बताइन् । लुगामा रगत लाग्ने, कहीं बस्दा रगताम्य हुने घटना धेरै भोगेको उनले बताइन् । ‘आफूसँग जे छ, त्यसैले काम चलाउनुपर्ने रहेछ,’ उनले भनिन्, नयाँ पुस्ताले आमाहरूका यस्ता दुःखको निदानबारे ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

प्याड किन्न महिनैपिच्छे चाहिने पैसा आफूले नकमाउने भएकाले घरमा माग्न नसकिने तिलोत्तमा–५ की सुनिता चौधरीले बताइन् । ‘बल्लतल्ल कमाएको पैसाले छाक टार्नै पुग्दैन,’ उनले भनिन्, ‘सन्तानलाई पढाउन र खुवाउन सके आफूले जसोतसो निर्वाह गरौंला भन्ने लाग्छ ।’ किशोरावस्थादेखि अहिलेसम्म कपडाकै जोहो र उपयोग गरिरहेकाले त्यसमै निर्भर भइरहेको उनी सुनाउँछिन् । घरमा आफूसँगै अन्य दुई देउरानीले समेत कपडाको टालो नै लगाइरहेको उनको भनाइ छ । टालोले पाछ्ने, बाहिर गएको बेलामा धुन नपाउँदा कटकटिने र असर गर्ने डर हुँदाहुँदै पनि कपडाको विकल्प सपनासरह नै हुने हो कि जस्तो लागेको उनले बताइन् ।

ग्रामीण महिलाका यस्ता समस्याबारे जानकार रहेर काम पनि भइरहेको जनप्रतिनिधि बताउँछन् ।पालिकास्तरमै हरेक विद्यालयमा छात्राका लागि सेनेटरी प्याड वितरण गरिएको मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनीता कलवारले बताइन् । आफूले जितेर आएपछि पालिकाका छोरीहरूलाई स्वस्थ राख्न र सफाइ सिकाउन सुरु गरेको उनको भनाइ छ । ‘सचेतनाका कति धेरै कार्यक्रम गर्छौं,’ उनले भनिन्, ‘पुराना परम्परा मान्ने महिलालाई सकिएन, नयाँलाई पढ्ने ठाउँमै सुविधा उपलब्ध गराइएको छ ।’

हरेक महिलालाई स्वास्थ्यबारे बुझ्नुपर्ने कार्यक्रम गरी जानकारी दिलाएको उपाध्यक्ष कलवार बताउँछिन् । विद्यालय र क्याम्पसका छात्राले समेत कक्षामा आउँदा मात्र प्याड लगाउने र घरमा कपडा नै चित्त बुझाउन गरेको पाइएको कलवारको भनाइ छ । छात्राहरूमध्ये पनि केहीले प्याड थपक्क राख्ने हो जस्तो मानेर कपडा नै लगाउने गरेको पनि पाइएको उनले बताइन् । कुनै छात्राको महिनावारी हुने पालो आएमा सम्बन्धित शिक्षकलाई भनी आफ्ना लागि आवश्यक प्याड लैजाने र त्यसलाई उपयोग गर्ने चेतना थप आवश्यक रहेको उनले जनाइन् ।

सीमावर्ती बस्तीबाट स्वास्थ्य समस्या लिएर उपचारमा आउने धेरैजसो महिलामा महिनावारीका बेला प्रयोग गर्ने टालोका कारण फंगल, ब्याक्टेरियल र प्रोटोजोअल संक्रमण भएको पाइएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विष्णु गौतम बताउँछन् । ‘सामान्य अल्ट्रासाउन्डबाट नदेखिने भए पनि शल्यक्रियाका बेला पाठेघरको पाइपदेखि पिप बग्ने गर्छ,’ उनले भने, ‘महिनावारीमा सफा र स्वस्थ नरहे बच्चा नबस्ने समस्या पनि हुन्छ ।’

प्रकाशित : पुस १८, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?