कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्वाचनमा जान माओवादीलाई कठिन

सर्वसम्मत नेतृत्व चयन प्राथमिकतामा
निर्वाचन कार्यतालिका स्थगन

काठमाडौँ — माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो ।

निर्वाचनमा जान माओवादीलाई कठिन

सहमतिमा केन्द्रीय समिति चयनको गृहकार्यसँगै माओवादीको निर्वाचन आयोगले औपचारिकताका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनबाट शनिबार विधान अनुमोदन भएलगत्तै आयोगले केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, सहमतिका लागि भन्दै निर्वाचन प्रक्रियाका सबै काम आइतबार २ बजेसम्मका लागि रोकिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा सहमतिमा नेतृत्व टुंग्याउने प्रस्ताव राखेका थिए । माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिका अनुसार शनिबारको बन्दसत्रमा अध्यक्ष दाहालले केन्द्रीय समिति सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराएका थिए । केन्द्रीय समिति सहमतिबाट चयन गर्न महाधिवेशन आयोजक समितिमा छलफल गर्ने भन्दै त्यसका लागि अनुमति दिन बन्दसत्रसमक्ष दाहालले प्रस्ताव गरेका थिए ।

दाहालले सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव राखेका थिए । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेपछि सहमतिबाटै केन्द्रीय समिति चयनका लागि दिनभर छलफल चलेको थियो ।

शनिबार अपराह्न १ बजेबाट बन्दसत्र सुरु भएको थियो । त्यसपछि सहमति जुटाउन भन्दै ५ बजेसम्मका लागि स्थगित भएको थियो । महाधिवेशन आयोजक समितिको बैठकमा सर्वसम्मतिको प्रयास जारी राख्दै केही सदस्यले गरेको मागअनुसार आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन प्रक्रिया सुरु गरेका थिए । पछि आइतबार दुई बजेबाट प्रक्रिया थाल्ने गरी संशोधित कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ बाहेक बाँकी प्रदेशले करिबकरिब केन्द्रीय सदस्यको नामावली टुंगो लगाएका छन् । ‘प्रदेश २ को टुंगिन बाँकी छ, त्यहाँ पनि आइतबार आंशिक रूपमा टुंगिन्छ,’ उनले भने, ‘आइतबार बिहान स्थायी समिति बैठक बसेर सबै फाइनल गर्ने र सहमतिमा केन्द्रीय समितिको घोषणा गर्ने भन्नेछ ।’ साहका अनुसार केन्द्रीय समिति चयन भएलगत्तै पदाधिकारी पनि सहमतिमा आइतबारै टुंग्याउने तयारी भएको छ । दाहालले गृहकार्य गरेर पदाधिकारीको नाम ल्याउने र त्यसमा सहमति नभए निर्वाचनमा जाने साहले बताए । आइतबार ११ बजेसम्म सहमतिका लागि गृहकार्य सक्ने, ११ बजे स्थायी समिति बैठकमा छलफल गरेर केन्द्रीय सदस्यको नाम टुंग्याउने र दिउँसो १ बजे बन्दसत्र बस्ने कार्यतालिका बनाइएको छ । स्थायी समितिको बैठकपूर्व सबै प्रदेश र विभागले केन्द्रीय सदस्यका आकांक्षीको नाम बुझाउनेछन् । शनिबार पनि विधान पारित भएलगत्तै विधानले व्यवस्था गरेका क्लस्टरअनुसार केन्द्रीय सदस्यको नाम जुटाउन सबै प्रदेशका प्रतिनिधिको भिन्दाभिन्दै छलफल भएको थियो ।

माओवादीको विधानमा मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति र केन्द्रीय समितिबाट पदाधिकारी चयनको व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय समितिमा १५४ जना समानुपातिकतर्फबाट र १४५ जना खुलातर्फबाट निर्वाचित हुने गरी सूचना जारी भएको थियो । विधानमा समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी जनजाति, खस–आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । १५ प्रतिशत मनोनीत प्रक्रियाबाट केन्द्रीय समितिमा प्रवेश गर्नेछन् । सहमतिमा यी नाम टुंग्याउन थप गृहकार्य चाहिएकाले आइतबार दिउँसोसम्मका लागि बन्दसत्र स्थगित भएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । ‘सहमतिबाटै केन्द्रीय समिति चयन गर्नुपर्छ भन्ने सबैको कुरा आएपछि गृहकार्यका लागि स्थगित गरिएको हो, सहमति भएन भने आइतबारै निर्वाचन हुन्छ,’ उनले भने ।

माओवादी केन्द्रको निर्वाचन आयोगको सूचनाअनुसार केन्द्रीय समितिमा निर्वाचन वा सर्वसम्मत जसरी आए पनि समानुपातिकतर्फको खस–आर्यतर्फ ४५ जना (पुरुष १२, पुरुष युवा ३, महिला २४, महिला युवा ६), दलिततर्फ २२ (पुरुष ६, पुरुष युवा १, महिला १२, महिला युवा ३), मुस्लिमतर्फ ७ (पुरुष १, पुरुष युवा १, महिला ४, महिला युवा १), मधेसीतर्फ २३ (पुरुष ६, पुरुष युवा १, महिला १३, महिला युवा ३), आदिवासी–जनजाति ४३ (पुरुष ११, पुरुष युवा ३, महिला २३, महिला युवा ६), थारूतर्फ १० (पुरुष २, पुरुष युवा १, महिला ६, महिला युवा १), अपांगतातर्फ २ (पुरुष १, महिला १), पिछडिएको क्षेत्रतर्फ २ (पुरुष १, महिला १) जना आउनेछन् । खुलातर्फ १४५ जनाको निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगको सूचनामा छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने विधानले व्यवस्था गरेको छ ।

विधानअनुसार महाधिवेशनले केन्द्रीय समिति बनाएपछि केन्द्रीय समितिले पदाधिकारी, पोलिटब्युरो र स्थायी समिति चयन गर्नेछ । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी समिति रहनेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

आयोगले सुरुमा आइतबार ११ः३० मा मतदान सुरु गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोहीअनुसार १ हजार ७ सय ४२ जना अन्तिम मतदाताको नामावली सार्वजनिक गरिएको थियो । सूचीमा आयोजक समिति, विभिन्न विभाग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका र मनोनीत प्रतिनिधिलाई समेटिएको छ । कार्यक्रमअनुसार शनिबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता, सूची प्रकाशन र आइतबार ११ः३० बाट मतदान गर्ने कार्यतालिका थियो । संशोधित तालिकाअनुसार आयोगले मनोनयन दर्ता आइतबार २ देखि ३ः३० बजेसम्म तय गरेको छ । मतदान ६ः२५ देखि १०ः२५ बजेसम्मका लागि तोकिएको छ ।

महाधिवेशनको शनिबारको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए । सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको थियो ।

पारित विधानमा माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । त्यसैले केन्द्रीय समितिको पहिलो बैठकले नै पदाधिकारीको संख्या टुंग्याएर विधान परिमार्जन गर्नेछ । नेताहरूका अनुसार यसअघि १५ सदस्यीय पदाधिकारी हुने भनिए पनि त्यो संख्या बढ्न सक्नेछ ।

प्रकाशित : पुस १८, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?