१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : प्रेम आले

‘पहिले त काले–काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । 

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : प्रेम आले

शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए । सीईको रेग्मीकै कारण आफ्नो बेइज्जत भएको पनि आलेको भनाइ छ ।

लन्डन जाँदाको टिकटबारे पनि अनावश्यक विवाद निकालिएको पनि उनको भनाइ छ । ‘यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लन्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो,’ उनले भने ।

त्यस्तै उनले बोर्डका उच्च अधिकारीबाटै आफूलाई प्रलोभन देखाइए पनि त्यसमा आफू नपर्ने बताए । ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । पहिलाको मन्त्री जस्तो ठानेको होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चेयरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । मन्त्री आलेले भने, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्ता यस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ । म आइसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डीजीसाब आउनु भएको थियो । उहाँलाई पनि थाहा थिएन । टेन्डर एउटा अनाउन्स भयो । त्यो टेन्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेन्डर पाउने । फस्टमा टेन्डर निस्क्यो, एउटाले टेन्डर बिट गर्छ उसले ठेक्का पायो । दोस्रो वर्ष टेन्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले । मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेन्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ । त्यहीँ भित्र म नाम लिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिले त काले–काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’

मन्त्री आलेले डब्लूटीएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?