सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २६ वर्षीय हस्त नेपाली रहेका छन् ।

यस्तै, छायाँनाथ रारा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन् ।

सुर्खेतबाट काम खोज्दै बनेपाका लागि हिँडेकी महिला गत सोमबार राति बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए । सुरुमा एक्लै होटल पुर्‍याएका ती युवकले पछि अन्य ८ जना साथीहरुलाई पनि बोलाएको प्रहरीले जनाएको छ ।

पीडित महिला होटलबाट भागेर मंगलबार दिउँसो बसपार्क नजिकैको प्रहरी बिटमा घटनाबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गिरीका अनुसार पीडित महिलालाई थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेल्टरमा उपचार गरिएको छ ।

पीडित महिलाले प्रहरीमा दिएको बयानअनुसार कामको सिलसिलामा भारत गएका उनको श्रीमान् वर्षौंसम्म पनि फर्किएनन् । श्रीमान् नभएपछि उनले श्रीमानको घर (हुम्ला) छाडिन् । नाबालक २ सन्तान च्यापेर उनी सुर्खेत माइतीमा बस्दै आएकी थिइन् । छोराछोरीको लालनपालनमा समस्या भएपछि उनलाई गाउँकै मान्छेले काठमाडौं बनेपा जान सल्लाह दिए । ‘बनेपामा ढलानको काम पाइन्छ आम्दानी पनि हुन्छ भनेर गाउँका मानिसले भनेपछि म १२ गते बिहानै काठमाडौंका लागि हिँडे,’ पुलिसको बयानमा उनले भनेकी छिन् ।

राति ८ बजे बसपार्क ओर्लेर बनेपा जाने बस खोज्दै गर्दा जुम्ला घर बताएका ती युवकले आत्मीयता देखाएर होटेलमा लगेको उनको बयानमा उल्लेख छ । काठमाडौंका लागि उनी अन्जान भएकाले सहजै विश्वास गरेको उनले बताइन् ।

प्रकाशित : पुस १६, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्

विमान उडेपछि कोरोना पुष्टि, ५ घण्टा शौचालयमै 'आइसोलेसन'

कान्तिपुर संवाददाता

काठमाडौँ — एक जना अमेरिकी शिक्षिकाले विमानमा उडिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छिन् ।

गत डिसेम्बर २० मा आइसल्यान्ड एयरमार्फत अमेरिकाको सिकागोबाट आइसल्यान्डको रिक्याभिकको यात्रा गरिरहेका बेला मारिसा फोसियोले आफूलाई विमानको शौचालयमै आइसोलेट गरेकी हुन् । विमानमा घाँटी दुखेपछि उनले आफूसँगै ल्याएको र्‍यापिड टेस्ट किटमार्फत कोभिड परीक्षण गरेकी थिइन् । परीक्षणमा पोजिटिभ देखिएपछि उनले बाँकी यात्रा शौचालयमै बसेर पूरा गरेको बताएकी छिन् ।

विमान परिचारिकाले शौचालयमै उनलाई खाना र पेय पदार्थ उपलब्ध गराएकी थिइन् । विमान चढ्नुअघि नै उनले कोभिड परीक्षणको रिपोर्ट बुझाउनुपर्ने अवस्था थियो/थिएन भन्नेबारे भने अहिलेसम्म केही खुलेको छैन । 'यो एउटा अद्भुत अनुभव थियो,' मिसिगनकी स्थायी बासिन्दा फोसियोले एनबीसी न्युजसँग भनिन्, 'विमानमा १५० जना यात्रु थिए । अरुलाई संक्रमण हुन्छ भन्ने मलाई ठूलो डर थियो।'

विमानको शौचालयमा आइसोलेट भएर बस्दाको भिडियो उनले टिकटकमा पनि पोस्ट गरेकी छिन् । अहिलेसम्म उक्त भिडियो ४४ लाखभन्दा बढी पटक हेरिएको छ । उनले विमान परिचारिकाको पनि प्रशंसा गरेकी छिन् । ५ घण्टासम्म आफूलाई चाहिने सबै चिजको प्रबन्ध मिलाइदिएको र बेलाबेलामा आफ्नो हालखबर सोधिरहेको भन्दै उनले परिचारिकाको प्रशंसा गरेकी हुन् । रिक्याभिक पुगेपछि भने उनले रेड क्रस होटेलमा आइसोलेसनमा बसेकी थिइन् ।

पछिल्लो समय ओमिक्रोन र डेल्टा भेरिएन्टका कारण अमेरिका र युरोपेली मुलुकहरूमा संक्रमण तीव्र रूपमा विस्तार भइरहेको छ । समाचार संस्था रोयटर्सका अनुसार विश्वभर दैनिक ९ लाखको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ ।

प्रकाशित : पुस १६, २०७८ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×