२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निगमको विमान दोहामा ग्राउन्डेड

सुरज कुँवर

काठमाडौँ — इन्जिनमा खराबी देखिएपछि नेपाल वायु सेवा निगमको न्यारोबडी विमान मंगलबारदेखि दोहामा ग्राउन्डेड भएको छ । काठमाडौंबाट गएको उक्त विमान सुरक्षित अवतरण भइसकेपछि पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगम प्रवक्ता अर्चना खड्काले बताइन् ।

निगमको विमान दोहामा ग्राउन्डेड

मर्मतको जिम्मा पाएको कतार एयरवेजका प्राविधिकले जाँच गरी इन्जिन खोलेर मर्मत गर्नुपर्ने बताएपछि निगम जगेडा इन्जिनको खोजीमा छ ।

निगम स्रोतका अनुसार बायाँ इन्जिनमा समस्या देखिएको सगरमाथा नामको विमान झन्डै एक महिना दोहामै रहने भएको छ । ‘चाँडै निगमको बोर्ड बैठकबाट अर्को इन्जिन खोजेर ग्राउन्डेड विमानमा राख्ने विषयमा निर्णय गर्ने छौं,’ स्रोतले भन्यो, ‘त्यो विमान रिलिज हुन कम्तीमा पनि १५–२० दिन लाग्न सक्छ ।’

दुई न्यारोबडी र दुई वाइडबडीबाट ७ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमलाई एउटा न्यारोबडी थन्किएपछि मंगलबारयता समयमै उडान गर्न चाप परिरहेको छ । एउटा विमानबाट दैनिक ६ देखि १० घण्टा उडान गर्दै आइरहेको निगमले तीन दिनयता जापान र दुबईमा समयमै उडान गर्न सकिरहेको छैन ।

निगमका एक निर्देशकका अनुसार तीन दिनमा निगमले ५ वटा उडानका यात्रुलाई निगमकै अतिरिक्त खर्चमा होटलमा राख्नुपरेको छ । ‘जापान र दुबईमा यात्रुलाई ट्याक्सी भाडा दिएर घर पठाइरहेका छौं,’ ती निर्देशकले भने, ‘नेपालमा कतिपय घरमै बसिरहेका छन् भने होटलमा बसिरहेकालाई नियमित होटलमै राखेर बिल हामी भुक्तानी गर्दै आइरहेका छौं ।’

त्यस्तै, निगमको एउटा वाइडबडी विमान मर्मतका लागि शनिबार श्रीलंका उड्ने भएको छ । उक्त विमान करिब एक साता श्रीलंकामा रहनेछ । त्यसपछि निगमसँग एक न्यारो र एक वाइडबडीले दिल्ली, दोहा, दुबई, मलेसिया, हङकङ, बैंकक र जापान उडान गर्नुपर्नेछ । दुईवटा विमान थन्किने भएपछि अबको एक महिना निगमलाई उडान तालिकासँगै आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

प्रकाशित : पुस १६, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?