कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लुङ्खिम ब्युँताउने मेसो

पाँच परिवारका १२९ जनामा मात्र सीमित रहेको भाषा स्थलगत अध्ययनमा लोपोन्मुख भेटेपछि सुरू भयो संरक्षण पहल

इलाम — ‘आङ्का लुङ्खिम रुङ्खा पुक्लुक्ङा ।’ (म लुङ्खिम भाषा बोल्छु ।)
‘आङ्का लुङ्खिम रुङ्खा पुक्लुक्ङाना ।’ (म लुङ्खिम भाषा बोल्दिन ।)

लुङ्खिम ब्युँताउने मेसो

उमेरले ७० वर्षका दिलबहादुर लुङ्खिम राईले मातृभाषा कक्षाको पाँचौं दिन यी वाक्य पढेर गृहकार्य बुझाए । प्रशिक्षक अरुणकुमार लुङ्खिम राईले उक्त प्रस्तुतिलाई सिलसिलेवार मिलाइदिए । त्यतिखेर सहभागीहरूको ध्यान भित्ताको सेतोपाटीमा सच्चिएको वाक्यमा केन्द्रित थियो ।

दिलबहादुरले बाजेको पालादेखि छुटेको मातृभाषा अहिले सिक्न पाउँदा औधी खुसी भएको सुनाए । उनी इलाम सूर्योदय नगरपालिका–११ केराबारीका बासिन्दा हुन् । ‘बाजेको पालासम्म लुङ्खिम भाषा बोलेको थाहा छ, त्यसपछि पितृपूजा गर्दामात्र कुलपुजारीले बोलेको सुनेको हो,’ उनले भने, ‘अहिले फेरि त्यो भाषा सिक्न पाउँदा खुसी लागेको छ ।’ नाति, पनातिसमेतलाई सिकाउने धोको रहेको उनले सुनाए ।

भाषा आयोगको पहलमा यही पुस पहिलो साताबाट डेढ महिने लुङ्खिम भाषाको आधारभूत कक्षा सुचारु छ । भाषा कक्षामा चार महिलासहित ३० जना सहभागी छन् । त्यसमध्ये उमेरले सबैभन्दा कान्छो २१ वर्षीय दिवस राई र २४ वर्षीया कान्छी अञ्जु राई हुन् । ‘पितृ पुज्दामात्र सुनेको भाषा अहिले सिक्न पाउँदा राम्रै लागेको छ,’ अन्जुले भनिन्, ‘घर परिवारमा बोल्नको लागि अझै धेरै सिक्नुपर्छ ।’

सहभागी सबैको हातमा ‘लुङ्खिम खा’ (लुङ्खिम भाषा कक्षाको पाठ्यसामग्री) छ । त्यसमा समावेश गरिएका सामग्रीका आधारमा प्रशिक्षक र प्रशिक्षार्थीवीच संवाद र अभ्यास जारी छ । कक्षा सञ्चालन भएको पाँचौं दिनबाट व्यवहारिक रूपमा मातृभाषामा बोलचाल गर्ने अभ्यासको थालनी भएको लुङ्खिम राई समाजका अध्यक्ष जंगबहादुर लुङ्खिम राईले बताए ।

तथ्यांकअनुसार लोपोन्मुख भाषामध्ये लुङ्खिम एक हो । यो भाषा बोल्नेको संख्या १ सय २९ जना छ । भाषाशास्त्रीको टोलीले स्थगत अध्ययन गरेपछि लुङ्खिम भाषा पाँच परिवारमा सीमित रहेको फेला पार्‍यो । त्यसपछि आयोगले संरक्षण पहल गरेको हो ।

लुङ्खिम भाषाको अध्ययनमा संलग्न भाषाशास्त्री डा. तारामणि राईले किरात राई जातिभित्र २६ वटा भाषामध्ये तिलुङ र लुङ्खिम लोपोन्मुख छन् । ‘हामीले पहिलो चरणमा लुङ्खिम भाषा हो होइन भन्ने खुट्याउने काम गर्‍यौं किनभने यसअघि बान्तावा भाषाको भाषिका भन्ने थियो,’ स्थलगत अध्ययन तथा सर्वेक्षणबारे त्रिविमा प्राध्यापनरत राईले भने, ‘लुङ्खिम भाषा इलाममा जीवित रहेको पत्ता लाग्यो । त्यसपछि यो भाषाको आधारभूत काम भयो । त्यसमा शब्द संकलन, व्याकरणसमेत पहिल्याउने काम भएको छ ।’

अध्ययनको चरणमै लुङ्खिम भाषाका ज्ञाता ९३ वर्षीय मुन्धुमविज्ञ नन्दकुमार लुङखिम राईको गत जेठमा निधन भएको भाषाशास्त्री राईले जनाए ।

‘लुङ्खिम भाषाको राम्रो वक्ताको निधनले अध्ययन कार्य ढिलो भएको महसुस भयो,’ उनले भने, ‘तर जसरी भएपनि उनका परिवारका सदस्यबाट आधारभूत तहको मातृभाषा सिकाइको काम भइरहेको छ । अब समुदायले बोलेर संरक्षण गर्ने काम समुदायको हो ।’

प्रशिक्षक अरुणकुमार लुङ्खिमले आफ्नो परिवारमा दैनिक बोलीचाली व्यवहारमा रहेकाले मातृभाषा सिकाइमा सहज भएको बताए । ‘बुवा (नन्दकुमार) ले मुन्दुमी काममा गर्नु भएको सबै बोली टिप्न त सकिएन तर घर व्यवहारमा चलाइने भाषाचाहिँ सिकाइरहेको छु,’ उनले भने, ‘डेढ महिनाभित्र धेरै अभ्यास हुने र प्रत्येक घरमा बोलीचालीमा ल्याउन सक्ने हुनेछौं भन्ने लागेको छ ।’ मातृभाषा सिकाइसँगै किरात सिरिजंगा लिपिसमेत प्रशिक्षण दिइएको उनले जनाए ।

भाषा आयोगका उपसचिव तथा सूचना अधिकारी गेहनाथ गौतमले कुसुन्डा, तिलुङ, दुरा, बराम र लुङ्खिम गरी पाँचवटा लोपोन्मुख भाषाको संरक्षणको काम भइरहेको बताए । ‘एकजना मात्र वक्ता रहेको कुसुन्डा भाषा प्रशिक्षण दिएर समुदायले बोलीचाली व्यवहारमा उतारेका छन्,’ गौतमले भने, ‘कुसुन्डा भाषामा गीत पनि गाउने भइसकेका छन् । अब लुङ्खिम भाषाको पनि त्यसरी नै संरक्षण पहल हुनेछ ।

लुङ्खिम समुदायका नागरिकले घरमा मातृभाषा बोल्नुपर्छ ।’

प्रकाशित : पुस १६, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?