२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सहरमा फेरिँदै ल्होसार शैली

आश गुरुङ

लमजुङ — क्व्होलासोंथर गाउँपालिका–३ बगुमकी लोकमाया घलेले सानै हुँदा बुबाआमाबाट ‘ल्होसार’ शब्द सुनेकी हुन् । जब किशोरी भइन्, साथीसंगीको संगतमा १५ पुसको दिनमा स्योकैं (सामूहिक भोज) खान थालिन् । ‘हाम्रो पालामा चामल, दूध, घिउ, नुन, तेल उठाएर भोज खाँदै रमाइलो गर्ने चलन थियो । दौंतरी केटाहरूले कुखुराको व्यवस्था गर्थे,’ उनले भनिन्, ‘हिजोआज साथीसंगी मात्रै होइन, बजारका टोल–टोलका जम्मा भएर खाने र नाचगान गर्ने गर्छौं ।’

सहरमा फेरिँदै ल्होसार शैली

मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङका पूर्णसिंह गुरुङका अनुसार ल्होसार मनाउने चलनसँगै यसको रौनक पनि फेरिएको छ । ‘पहिले साथीसँगै मात्रै एकजुट हुन्थ्यौं । अहिले त टोल–समाज नै एकजुट भएर मीठोमसिनो खाने, नाचगान गर्ने र एकआपसमा सुखदुःख साटासाट गर्ने गरेका छौं,’ उनले भने । उनका अनुसार १५ पुसका दिन स्योकैं खाएर ल्होसार मनाइने चलन गाउँदेखि सहरबजारमा झरेको छ ।

सहर झरेपछि ल्होसार मनाउने चलन फेरिएको छ । ‘सहरको ल्होसार गाउँको जस्तो हुँदैन । हामी रातभर रोधीमा नाचगान गर्थ्यौं । यो अवस्था सहरमा छैन,’ उनले भने, ‘अहिले समाजमा पैसा तिरेर खाद्यान्न किन्ने र पकाएर ल्याएपछि खाने चलन छ ।’ उनका अनुसार पहिले एक ठाउँमा जम्मा भएर आफैं परिकार बनाएर खाइन्थ्यो । अहिले टोलटोल मिलेर खाने चलन छ ।


तमु प्ये ल्हु संघ युवा समितिका अध्यक्ष शेषबहादुर गुरुङका अनुसार युवा संस्कृति जोगाउनतर्फ अग्रसर छन् । तर, भाषागत समस्या रहेको उनले बताए । ‘हाम्रो पहिचान धर्म बोन र भाषा गुरुङ हो भनेर सबैलाई थाहा छ । हामी घ्याब्रे–पच्यु (गुरुङ पुरोहित) मार्फत संस्कार गर्छौं । अझै पनि हरेक युवामाझ पुर्‍याउन सकेका छैनौं,’ उनले भने, ‘सबैलाई आफ्नो धर्म, संस्कृति, पर्वबारे सचेतना फैलाउने जिम्मा युवाको काँधमा आएको छ ।’ उनले हिजोआज ल्होसार परम्परागत तवरले भन्दा आधुनिक तवरले मनाउन थालिएको छ । ‘पहिले सबै खाद्यान्न आ–आफ्नो घरबाट जम्मा गरेर पकाएर सँगसँगै खाइन्थ्यो । अहिले पसलबाट किनेर कुनै एक ठाउँमा पकाएर ल्याएपछि खाने चलन बढ्दो छ,’ उनले भने ।

बेंसीसहर नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार ल्होसारले गुरुङ समुदायको पहिचान झल्काएको छ । नेपालभित्रको सबै जातजाति नेपाली भएकाले गुरुङको संस्कृति नेपाली संस्कृति भएको उनको भनाइ छ । उनले एउटाको संस्कृतिलाई अर्कोले सम्मान गर्न सकेमा सामाजिक सहिष्णुता अझ बढ्ने बताए ।

‘नेपालमा भिन्दाभिन्दै समुदायका भिन्दाभिन्दै भाषा, संस्कृति, पर्व छन् । यसका बीचमा एकता कायम गरेर राज्य अघि बढ्नुपर्छ,’ उनले भने ।

पूर्वसांसद जमीन्द्रमान घलेले ल्होसार राष्ट्रिय पर्व भएकाले यसलाई जोगाउन र राज्यले सम्बोधन गर्नुपर्ने बताए । ‘ल्होसारजस्ता आदिवासी जनजातिका राष्ट्रिय पर्वले जातीय सद्भावलाई सुमधुर कायम गरेर राखेको छ,’ उनले भने, ‘यस्ता चाडपर्व पहिचान र संस्कृतिसँग जोडिएकाले राज्यले यसलाई छुट्टै महत्त्व दिनुपर्छ ।’

तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष मिलबहादुर गुरुङले गुरुङ समुदाय धार्मिक र संस्कारिक रूपमा एकतामा आउनुपर्ने आजको आवश्यकता रहेको बताए । भाषा जोगिएमात्र संस्कार, संस्कृति जोगिने उनको भनाइ छ ।

‘पुरोहितले पढ्ने सबै शास्त्र हाम्रै भाषामा छ । प्रकृतिका पूजा गर्ने हामी धार्मिक रूपमा पनि एकता हुन आवश्यक छ,’ उनले भने । पश्चिमा संस्कृतिलाई अँगाल्ने चलन र युवायुवतीमा मौलिकपनको आकर्षण कम भएकाले चाडपर्व मनाउने शैली परिवर्तन भइरहेको उनको बुझाइ छ ।

तमु ह्युला छोंज धीं बेंसीसहर इकाईका अध्यक्ष मोहनप्रसाद गुरुङका अनुसार गुरुङ समुदायको १२ वटा वर्गचक्रमध्ये पुस १५ देखि वर्ग फेरिन्छ । वर्ग फेरिएको अवसरमा गुरुङ समुदायले धुमधामका साथ स्योकैं खाने र नाचगान गरी ल्होसार मनाउने चलन छ । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष ठाकुरप्रसाद गुरुङका अनुसार यस वर्ष गुरुङ समुदायले ‘लों ल्हो’ अर्थात् गाई वर्गको बिदाइ गरी ‘तो ल्हो’ अर्थात् बाघ वर्गको स्वागत गरेको हो ।

प्रकाशित : पुस १६, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?