२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो

हिमपहिरोले टेन्ट बगेपछि १६ जना ओडारमा, उद्धारका लागि हेलिकोप्टर जान सकेन
ऋषिराम पौड्याल

काठमाडौँ — हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ ।

पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो

हिउँबाट ज्यान जोगाउन उनीहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन ।

टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार ३ बजेर ४ मिनेट जाँदा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिएका छन् । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उनले फोनमा बताए । उनका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ । अप्ठेरोमा परेको भन्दै उनले कुरा टुंग्याउन नपाउँदै फोन सम्पर्क टुटेको थियो ।

गत असार र साउनमा उक्त स्थानबाटै हिमपहिरो बगेर हेलम्बु र मेलम्ची क्षेत्रमा धनजनको ठूलो नोक्सानी गरेको थियो । पहिरोले मेलम्ची खानेपानीको मुहानलाई क्षति गरेकाले एडीबी टोली त्यसको अध्ययनका लागि एक साताअघि त्यता गएको थियो । एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता हो ।

टोली हिउँमा फसेको जानकारी पाएपछि खानेपानी मन्त्रालयले रक्षा र गृह मन्त्रालयलाई उद्धारका लागि अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले आफूले उद्धारका लागि रक्षा र गृहलाई अनुरोध गरेको बताइन् । ‘रक्षा सचिवलाई उद्धारमा सहयोग गर्न भनेकी छु,’ उनले भनिन् । हिमपातका कारण समस्यामा परेको टोली राति अबेरसम्म कुन अवस्थामा कसरी बसेका छन् भन्ने यकिन जानकारी नभएको उनले बताइन् ।

श्री एयरलाइन्सको हेलिकोप्टरबाट सबै जना बुधबार फर्कने तयारी गर्दैगर्दै अघिल्लो दिन रातिबाटै अचानक वर्षात् र हिउँ परेका कारण टोली रोकिएको थियो । टोलीमा सहयोगी, पथप्रदर्शक र सर्वेक्षकलगायत छन् । सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले आफूहरू उद्धारका लागि तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘सेनाको स्थानीय युनिट र सिन्धुपाल्चोक स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ ।’ सेनालाई पनि उक्त स्थानमा जान दुई दिन लाग्ने भएकाले हेलिकोप्टरको विकल्प नभएको उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मेलम्ची आयोजनासँग जोडिएको विषय भएकाले अध्ययन गर्न जरुरी रहेको बताए । ‘मौसम यसरी बिग्रेला भन्ने अनुमान गर्न नसक्दा तत्काल समस्या देखिएको छ,’ उनले भने । वर्षात्‌मा उक्त स्थानबाट आएको हिमपहिरो एकै स्थानमा जम्मा भएर भेमाथाङबाट ठूलो पहिरो गएको थियो ।

प्रकाशित : पुस १४, २०७८ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?