३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ओमिक्रोन फैलिए बालबालिकालाई जोखिम

'५ कक्षासम्म पढ्ने बच्चाले सबै काम आफू गर्न सक्दैनन् । मास्कको सदुपयोग, विद्यालय तथा बसमा दूरी कायम गराउने विषयमा अभिभावकले ध्यान दिनैपर्छ ।'
बुनु थारु

काठमाडौँ — कोरोना महामारीमा विद्यालय बन्द हुँदा ललितपुर गोदावरीकी बिना थापा बच्चाहरू बिग्रिने हुन् कि भनेर चिन्तत हुन्थिन् । विद्यालय खुल्न थालेपछि भने उनमा भने अर्को चिन्ता थपिएको छ– बच्चाहरूमा संक्रमण पो हुने हो कि ∕ ‘विद्यालय नजाँदा घरमा चकचक गर्छन् भने पीर, विद्यालय जाँदा कोरोना सर्ला भन्ने डर,’ उनले भनिन्, ‘खोप लगाइदिन पाए अलि ढुक्क भइन्थ्यो कि ।’ उनका ८ वर्षीय छोरा र ३ वर्षकी छोरी विद्यालय गइरहेका छन् ।

ओमिक्रोन फैलिए बालबालिकालाई जोखिम

दाङकी ११ वर्षीया प्रतिभा चौधरी विद्यालय खुलेपछि फुरुंग छिन् । उनी विद्यालयको बसमा जान्छिन् । ‘कत्ति पछि स्कुल लाग्यो । सुरुमा त पठाऊँ कि नपठाऊँ भएको थियो तर अहिले कोरोना कम भएको छ,’ प्रतिभाकी आमा भन्छिन्, ‘नानीलाई मास्क लगाउन, हात धुन सिकाउन पर्दैन । तर स्कुल बसमा भने भीड हुने रहेछ । त्यसैले डर लाग्छ ।’

यी दुईझैं अरू अभिभावक बालबालिकालाई विद्यालय पठाउँदा खुसी त छन् तर संक्रमण सर्न सक्ने जोखिमबारे उत्तिकै चिन्तित देखिन्छन् । कोरोनाले बन्द भएका विद्यालय पुनः खुलेपछि बालबालिका विद्यालय जान थालेका छन् । पठनपाठन चलिरहेको छ ।

हाल परीक्षणका आधारमा संक्रमण दर कम देखिए पनि जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १८ वर्ष उमेर समूहकामा पहिलो लहरमा २१ हजार ५ सय २३ जना संक्रमित भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो । संक्रमणको दोस्रो लहरमा ४५ हजार ३ सय ६७ जना संक्रमित भएकामा ५२ जनाको मृत्यु भयो । भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णयपछि कोरोना संक्रमणको रोकथामका लागि ध्यान पुर्‍याउँदै आएको विद्यालय सञ्चालकको दाबी छ ।

पाँगा सेकेन्डरी बोर्डिङ स्कुल कीर्तिपुरकी सहप्रधानाध्यापक बसुन्धारा वज्राचार्यका अनुसार प्रत्येक बेन्चमा दुई जनाभन्दा बढी विद्यार्थी राखिएको छैन । जनस्वास्थ्यका सबै मापदण्ड कडा रूपमा पालना गर्न भनिएको छ । विश्व निकेतन त्रिपुरेश्वरका प्रधानाध्यापक हेलम्बराज कँडेल भन्छन्, ‘हामीले सुरक्षाका विधिमा कडाइ त गरेका छौं तर बालबालिका चकचके हुन्छन्, भीडभाड नहोस् भनेर फरक समयमा ब्रेक गरेका छौं । अनिवार्य मास्क लगाउने र जगेडा मास्क बोक्न अनुरोध गरेका छौं, नभएकालाई विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’ गेटमै विद्यार्थीको तापक्रम नाप्ने गरिएको उनले बताए ।

भारतमा गत मार्चमा कोरोनाको दोस्रो लहर देखिएको थियो । अप्रिल/मेमै नेपालमा पनि कोरोना संक्रमण उत्कर्षमा पुग्यो । मंगलबारसम्म भारतमा ६ सय ५३ वटा ओमिक्रोनको केस देखा परिसकेको छ । विगत २४ घण्टामा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण बढ्दो क्रममा देखिएसँगै सोमबारबाट भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरिएको छ । संक्रमण बढ्नुमा ओमिक्रोन भेरिएन्ट कारक रूपमा देखिएको छ ।

सबैभन्दा धेरै ओमिक्रोन फैलिएको अमेरिकाका बाल अस्पतालहरूमा कोरोना संक्रमणबाट बालबालिका भर्ना हुनेको संख्या बढ्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् । न्युयोर्कमा पछिल्लो ४ सातामा ८० प्रतिशत बालबालिका संक्रमण भएर अस्पताल भर्ना भएका छन् । न्युयोर्क स्टेट हेल्थ डिपार्टमेन्टकी कमिस्नर डा. मेरी टी बासेट भन्छिन्, ‘धेरैले अझै पनि बालबालिकामा कोभिडको संक्रमण हुँदैन भन्ने सोच्छन्, यो सत्य होइन । उनीहरू संक्रमित हुन सक्छन् र केहीलाई अस्पताल भर्ना पनि गर्नुपर्ने हुन सक्छ ।’ त्यस्तै, दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनअनुसार ओमिक्रोन भेरिएन्टले बालबालिकामा संक्रमण बढाउने २० प्रतिशत बढी सम्भावना छ किनकि धेरलाई खोप लगाइएको छैन ।

नेपालमा ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई पुस ४ देखि १४ गतेसमम पहिलो डोजको खोप अभियान सञ्चालन भइरहेको छ । अरू जिल्लामा पनि फाइजर खोप दिइने सरकारको योजना छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप सन् २०२२ को मार्चसम्म दिइसक्ने सरकारले लक्ष्य लिएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भौतिक रूपमा विद्यालय चलाउँदै गर्दा खोपको महत्त्व झन् बढेर गएको छ । ‘खोप लगाएमा धेरै ढुक्क हुने अवस्था आउँथ्यो । योग्य बालबालिकालाई निरन्तर छिटोभन्दा छिटो खोप दिनुपर्छ । खोपले सुरक्षा त दिन्छ नै अभिभावकलाई पनि चिन्तामुक्त बनाउँछ,’ उनले भने, ‘नेपालमा अहिले ओमिक्रोनले केस बढाइहालेको छैन । खोप दिन यो नै एकदम उपयुक्त समय हो ।’ बालबालिकाले खोप नलगाइसकेकाले उनीहरू जोखिमको दायरामा बढी पर्न सक्ने उनको भनाइ छ ।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्त समुदायमा जोखिम कायमै भएकाले संक्रमणको सम्भावना जीवितै रहेको बताउँछन् । ‘हामीले लापरवाह गर्ने हो भने संक्रमण फेरि पनि विस्तार हुन सक्छ । त्यसका लागि हामीलाई अर्को भेरिएन्ट नै चाहिँदैन,’ उनले भने, ‘त्यसमाथि नयाँ भेरिएन्ट आएको छ भने अझै बढी सतर्क र सुरक्षाका विधि अपनाउनैपर्छ ।’ विद्यालयमा सुरक्षाका मापदण्ड पालना भएका छन्/छैनन् भनेर सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि प्रवेश भइसकेको छ । यसले हालसम्म कति प्रभाव पार्‍यो भनेर स्पष्ट तथ्यांक नआए पनि संक्रमणको विस्तार भइरहेको हुन सक्ने विज्ञ बताउँछन् । बालबालिकाले अनिवार्य मास्क लगाउने, दूरी कायम गर्ने, परीक्षणमा ध्यान दिने हो भने विद्यालयलाई सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा बालरोग विशेषज्ञ तथा डा. कृष्णप्रसाद पौडेल धेरै ठाउँमा विद्यालय खुल्नाले संक्रमण बढ्न सक्ने जोखिम रहेको बताउँछन् । ‘संक्रमण विस्तार घटाउन अभिभावक, शिक्षक, विद्यालय र विद्यार्थीको सामूहिक जिम्मेवारी छ । बालबालिका उमेरअनुसार फरक छन्,’ उनले भने, ‘५ कक्षाभन्दा कममा पढ्ने बच्चाले सबै काम आफूले गर्न सक्दैनन् । त्यसो भएकाले मास्कको सही सदुपयोग, विद्यालय तथा बसमा दूरी कायम गराउने कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।’ बच्चामा ज्वरो वा रुघाखोकी देखिए अभिभावकले विद्यालय पठाउन नहुने उनको भनाइ छ । विद्यालयले नजिकको स्वास्थ्य संस्थासँग परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायतका बारेमा समन्वय गर्नुपर्ने उनको सुझाव छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीका अनुसार बालबालिका अस्पताल भर्ना हुने संख्या बढेको छ । ‘दुई सातायता बालबालिका भर्ना हुने दर बढेको देखिन्छ । कोभिडका एक जना उपचाररत छन् भने शंकास्पद बिरामी १५ जना भर्ना भएका छन्,’ उनले भने, ‘रुघाखोकीका बिरामी बढेका छन् । ओमिक्रोन भेरिएन्टमा धेरै लक्षण नदेखिएकाको हामी यसबारे पनि अध्ययन गरिरहेका छौं ।’

प्रकाशित : पुस १४, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?