कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनमत पार्टीले बन्द घोषणा गरेपछि सिरहामा निषेधाज्ञा जारी

भरत जर्घा मगर

सिरहा — सिरहा प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जनमत पार्टीले बन्द घोषणा गरेपछि सिरहामा निषेधाज्ञा जारी

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरी निषेधाज्ञाबारे जानकारी दिएका छन् । पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पी.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो । जनमत पार्टीले माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका ७ बुँदे माग राखेर जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम गर्दै आएको छ ।

आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार १६ वटा सवारी साधन तोडफोड र एक ट्रकमा आगजनी गरेका थिए ।

आइतबार मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा १३ सेल अश्रुग्यास प्रहार गरेको थियो ।



प्रकाशित : पुस १३, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?