१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भुटानको ‘हृयापी–इन्डेक्स’ भद्दा मजाक: काई बर्ड  

‘ल्होत्साम्पा जातीय सफायामा भारतको पनि मिलेमतो थियो’ 

काठमाडौँ — भुटानी शरणार्थी मामलाका जानकार पुलित्जर पुरस्कार विजेता अमेरिकी पत्रकार काई बर्डले एक लाखभन्दा बढी नेपालीभाषीलाई भुटानले जातीय सफाया गरेको इतिहासकै एक निर्मम घटना राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमा उठ्न नसक्नुलाई ‘आश्चर्यजनक’ मानेका छन् ।

भुटानको ‘हृयापी–इन्डेक्स’ भद्दा मजाक: काई बर्ड  

तीन दशकअघि भुटानी नागरिकलाई देश निकाला गरिएको घटना र भारत–नेपालको भूमिकाबारे गहिरो अध्यन गर्ने पत्रकार बर्डले एक दशकअघि नै भुटान भ्रमण गर्दै ल्होत्साम्पामाथि भएको अन्यायबारे लेखेर र बोलेर प्रतिरोध जनाएका थिए । सहलेखन कृति ‘अमेरिकन प्रोमिथस : द ट्रिम्थ एण्ड ट्राजेडी अफ जे. रोबर्ट ओपेनहेमर’ पुस्तकका लागि सन् २००६ मा प्रतिष्ठित पुलित्जर पुरस्कार पाएका बर्ड एक दशकअघि केही वर्ष काठमाडौंमैं रहेर पुस्तक लेखनमा संलग्न रहेका थिए । उनको हालै प्रकाशित ‘आउटलाइर : द अनफिनिस्ड प्रेसिडेन्सी अफ जिम्मी कार्टर’ कृति निकै चर्चामा छ ।

‘म सदैव मानव अधिकार जोडिएको विषयमा पत्रकारिता गर्न रुचाउँछु, ’ अमेरिकामा रहेका लेखक बर्डले कान्तिपुरसँगको लिखित कुराकानीमा भने—‘मैले विगतमा प्यालेस्टाइन शरणार्थी मामलामा बारेमा निकै लामो समय सोधखोज गर्दै लेख्ने काम गरेको थिएँ, भुटानी शरणार्थीमा पनि यस्तै केही समानान्तर घटनावस्तु हुन सक्छ भनेर म यो मुद्दामा जोडिएको थिएँ ।’

भुटानबाट जातीय सफाया भएपछि २००८ यता नियमित निर्वाचन प्रणाली र लोकतान्त्रिक पद्धतिको दुहाइ दिन थालिएपछि सन् २०१० मा थिम्पू भ्रमणमा पुगेका लेखक बर्डले त्यहीबेला ल्होत्साम्पामाथि भएको अन्यायको विरोधमा चर्को रुपमा टिप्पणी गरेका थिए । ‘भुटानको जातीय सफायाको गम्भीर मुद्दा संयुक्त राष्ट्रसंघको मञ्चमा किन कहिल्यै उठेन, वा किन कसैले उठाएन भन्ने सरोकारमा म सोचमग्न छु, ’ बर्डले जवाफमा भनेका छन्—‘मलाई के लाग्छ भने भुटानले बनाएको राम्रो जनसम्पर्कको पहुँच र, योभन्दा पनि महत्वपूर्ण रुपमा दिल्लीसँग रहेको सुसम्बन्धका कारण भुटान कूटनीतिक आलोचना खेप्नबाट बाचेको हो ।’ बर्डले अमेरिकाजस्ता मुलुक वा राष्ट्रसंघीय निकायसमेत संसारमा रहेका धेरै मानवीय मुद्दाहरु (भुटानी शरणार्थीजस्तै) लाई सम्बोधन गर्नबाट चुकिरहेको राय राखे ।

दक्षिणी भुटानबाट नेपालीभाषी लखेटिएर तेस्रो देश नेपालसम्म आइपुग्न बीचमा झण्डै २ सय किलोमिटर दूरीको भारतीय भूमी पार गर्नुपर्ने ‘भूराजनीतिक यथार्थ’ बारे आफू जानकार रहेको बताउँदै बर्डले भारत सरकारले भारतीय सेनालाई अहृाइखटाइ गरेरै ट्रकमा राखेर शरणार्थीलाई नेपाली सीमासम्म ल्याइएको घटना उल्लेख गरेका छन् । ‘यसकारण भुटानले गरेको जातीय सफायामा भारतको पनि मिलेमतो छ, ’ बर्डको धारणा छ ।

दक्षिण एसियाको एउटा बिन्दूमा रहेको सानो देश भुटानको नाम अझै धेरै अमेरिकीले नसुनेको र जानकार नरहेको बताउँदै ‘द नेशन’ पत्रिकाका अतिथी सम्पादकसमेत रहेका बर्डले भने—‘भुटानका बारेमा अमेरिकाले एउटा औपचारिक विरोध प्रस्ताव दर्ता गर्न सक्ला, यसभन्दा बढी केही गर्न सक्दैन । अथवा, अरु मुलुकको आन्तरिक मामलामा किन हस्तक्षेप गर्ने भनेर मौन रहने प्रवृत्तिले पनि काम गरेको हुन सक्छ ।’ पुर्नबसोबास कार्यक्रममा परेर अमेरिका आइपुगेका भुटानी शरणार्थीको बसोबास वा दैनिकी कत्तिको सहज छ भन्नेबारेमा आफू त्यति जानकार नरहेपनि अमेरिका भनेको आप्रवासी समुदायले भरिएको र अमेरिकी समाजले कतिपय सकारात्मक अर्थमा धेरैलाई नयाँ जीवनसमेत प्रदान गरिरहेको यथार्थबारे भुल्न नमिल्ने उनले बताए ।

भुटानबाट लखेटिएर नेपालका शरणार्थी शिविरमा आइपुगेका शरणार्थी समस्या समाधानमा कहींकतै उपाय नभेटिरहेका बेला तेस्रो देशमा बसोबासको प्रस्ताव(२००७ पछि) नेपालका लागि ‘विकल्पहीन उपाय’ रहेको हुन सक्ने उनले आँकलन गरे । आफ्ना नागरिकलाई जातीय सफायामा पारेर देशबाट निकालेपछि भुटानले आफ्नो मुलुकलाई खुशी र सुखी देशका रुपमा बाहिरी विश्वमा प्रचार गर्न थालेकोबारे लेखक बर्ड आश्चर्यमा छन् । ‘भुटानको हृयापी–इन्डेक्स ? यो सबैभन्दा उत्तम ‘प्रोपोगान्डा’ हो र, एकदमै खराब भद्दा जोक हो, ’ बर्डले हृयापी–इन्डेक्स बारे राखिएको जिज्ञासामा भने ।

अरुभन्दा पनि आज बाहिरी विश्वमा पुगेका भुटानी शरणार्थीको आउने पुस्ता भविष्यमा आफ्नो माटो र इतिहासको खोजी गर्दै भुटान जाने कुरामा आफू ढुक्क रहेको बताउँदै बर्डले ‘त्यसपछि भुटानसँग मागिने आफ्नो हक–अधिकारको पक्ष आफैंमा उल्लेख्य र रोचक रहने’ दाबी समेत गरे ।

एक दशकअघि काठमाडौंमा विश्व बैंकको आवासीय प्रतिनिधि रहेकी सुसन गोल्डमार्क लेखक काई बर्डकी श्रीमती हुन् जो अहिले पनि काठमाडौं उपत्यका संरक्षण कोषमा सदस्य रहेकी छन् । श्रीमतीको नेपाल संलग्न्ताका कारण पनि विगतमा लेखक बर्ड काठमाडौंमा लामै समय बसेका थिए । ‘ड्रागन–सांग्रिला (भुटान) हेरिकन काठमाडौंमा केही पनि ठीक छैन । बिजुलीको टुंगो छैन । सडकमा चर्को जाम छ । वाग्मती नदी प्लास्टिक र अरू फोहोरले गर्दा बग्न छाडेको छ । राजनीति विस्मयपूर्ण छ । तैपनि त्यहाँ(नेपालमा) स्वतन्त्रताको सुगन्ध फैलिएको छ । म आशा गर्छु, भुटानले पनि कुनै दिन यस्तै स्वतन्त्रताबोध गर्नेछ, अनुभूति गर्नेछ,’ ७० वर्षीय बर्डले नेपाललाई सम्बोधन गरेर लेख्दै र बोल्दै आएका छन् ।

प्रकाशित : पुस १२, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?