पार्टीमा व्यक्तिगत पद-प्रतिष्ठा र स्वार्थका लागि जस्तोसुकै खराब काम गर्ने प्रवृत्ति बढ्यो : दाहाल

'खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवनपद्धति अँगाल्ने नेता/कार्यकर्ता बन्न सम्भव छ ?'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको बताएका छन् । 

पार्टीमा व्यक्तिगत पद-प्रतिष्ठा र स्वार्थका लागि जस्तोसुकै खराब काम गर्ने प्रवृत्ति बढ्यो : दाहाल

आठौं महाधिवेशनको सोमबारबाट सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको निष्कर्ष निकालेका छन् ।

'व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पनि पछि नपर्ने प्रवृति हाबी हुँदै गएको छ' उनले भने 'यो स्थितिमा पार्टीको क्रान्तिकारी रुपान्तरणको प्रश्न सर्वाधिक महत्त्वको सर्वाधिक जटिल बन्दै गएको छ ।'

उनले पार्टीको रुपान्तरणको ठोस योजनाबिना अगाडि बढ्न सम्भव नभएको बताए । 'कुरा क्रान्ति र व्यवहार प्रतिक्रान्तिको गर्ने भयानक विरोधाभाषको सिकार बन्दै जान थालेको कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र व्यवहारबीचको एकरुपताको आन्दोलनमा कहाँबाट र कसरी रुपान्तरण गर्ने ?' उनको प्रश्न थियो, 'समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउँछ ।'

दाहालले 'खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवनपद्धति अँगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ?' भनेर प्रश्न गरेका छन् ।

उनले यथास्थितिमा रहने खोज्ने शक्ति र समाजवादउन्मुख आर्थिक राजनीतिक नीति लिँदै समाजवादीको बाटोमा हिँड्ने शक्तिबीचमा अन्तरविरोध अपरिहार्य रहेको हुने बताएका छन् । 'यो अन्तरविरोधको समाधान कम्युनिस्ट क्रान्तिकारीको एकता, संगठनको मजबुती, राष्ट्र र जनताको हितका निम्ति त्याग र समर्पण जरुरी छ,' दाहालले भनेका छन् ।

उनले समाजवादउन्मुख आर्थिक राजनीतिक लिन संविधानले सैद्धान्तिक राजनीतिक कानुनी आधार दिएको दाबी गरेका छन् । 'समाजवादउन्मुख अर्थराजनीति हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने आधार प्रदान गरेकै कारण दलाल नोकरशाहीले यो संविधान नै उल्ट्याउने र निरंकुश प्रणाली ल्याउने तीव्र षड्यन्त्र भइरहेका छन्,' दाहालको प्रतिवेदनमा भनिएको छ, 'केही सकारात्मक काम भएकै कारण अगाडि बढिएको छ ।'

प्रकाशित : पुस १२, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?