१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यूएन मुख्यालय र ६ देशका दूतावासमा प्रहरी संयन्त्र राख्‍न प्रस्ताव

काठमाडौँ — नेपाल प्रहरीले वैदेशिक राेजगारी र अध्ययनमा नेपालीकाे चाप भएका ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव गरेकाे छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, यूएई र संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधिकाे कार्यालयमा एसएसपीकाे दरबन्दी रहने गरी संयन्त्र राख्न प्रस्ताव गरेकाे हाे ।

यूएन मुख्यालय र ६ देशका दूतावासमा प्रहरी संयन्त्र राख्‍न प्रस्ताव

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अपराध अनुसन्धानका विशेष क्षेत्रमा सूचना संयन्त्रको विकास गर्न र अपराध सम्बन्धी सूचना आदानप्रदान गर्न उक्त प्रस्ताव गरिएकाे बताए । यसअघि पटकपटक संयन्त्र राख्ने प्रस्ताव बहसमा आएपनि परराष्ट्र मन्त्रालयकाे अनिच्छाले कार्यान्वयनमा आउन सकेकाे थिएन । संगठित अपराधमा संलग्न गिराेह विदेशमा बसेर नेपालमा अपराधिक काम गर्ने गरेको तथ्यांक छ ।

प्रहरीले गरेकाे प्रस्ताव अनुसार ६ देशमा संयन्त्र स्थापना हुन सके त्यस्ता अपराधीलाई सहजै नेपाल ल्याउन पनि सहज हुने प्रहरीकाे दाबी छ । गृह मन्त्रालयले प्रहरीबाट आएकाे प्रस्ताव अध्ययनका क्रममा रहेकाे बताएकाे छ । अहिले भारतमा प्रहरी सहचरीका रुपमा एसएसपी कार्यरत छन् । अहिले पनि नेपालमा अपराध गरेर भागेका ८० भन्दा बढी अपराध आराेपित विदेशमा लुकेर बसेका छन् । उनीहरु इन्टरपाेलकाे रेडकर्नर र डिफ्युजन नाेटिसमा समाबेस भइ खाेजी सूचीमा छन् । तर, इन्टरपाेल बाध्यकारी संयन्त्र हाेइन । इन्टरपाेलमार्फत खाेजबिनमा सहजीकरण हुन सक्छ । तर, कतिपय इन्टरपाेलकै सदस्य राष्ट्रमा नेपालबाट भागेका अपराधी लुकेर बसेका छन् ।

प्रस्तावित देशमा प्रहरी संयन्त्र स्थापना गर्न सके सम्बन्धी देशका कानुन कार्यान्वयन गर्ने संयन्त्रसँग सीधा छलफल र परामर्शमा अपराधी पहिचान र पक्राउ गर्न सकिने प्रहरीको दाबी छ । कतार, मलेसिया, यूएइलगायत मुलुक नेपालका वैदेशिक राेजगारीकाे गन्तव्य मुलुक पनि हुन् । चीन र बंगलादेश चिकित्सालगायत वैदेशिक अध्ययनमा नेपाली बढी जाने गर्छन् । एक प्रहरी अधिकारीले यूएन हेडक्वार्टरमा प्रहरी संयन्त्र राख्न सके शान्ति मिसनमा प्रहरीकाे उपस्थिति बढाउन लबिङ गर्ने प्रभावकारी माध्यम बन्न सक्छ।

त्यस्तै वैदेशिक राेजगारीमा गएका मानिस ठगिने समस्या छन् । संयन्त्र राख्न सके ठगिनबाट राेक्ने विषय सम्बन्धित देशमै पहल गर्न सकिने प्रहरीकाे भनाइ छ । वैदेशिक राेजगारीका लागि मात्रै नेपालबाट दैनिक १५ सय देखि २ हजार नेपाली विदेश जाने गरेकाे बताइन्छ ।

प्रकाशित : पुस १२, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?