शान्त महाधिवेशनबाट शक्ति फर्काउने चुनौती- समाचार - कान्तिपुर समाचार

शान्त महाधिवेशनबाट शक्ति फर्काउने चुनौती

नीति र नेतृत्वको समीक्षा आफैं गर्ने, निर्मम आत्मालोचना गर्ने र आफूले आफैंलाई थप जिम्मेवारी पनि दिने दाहालको पुरानै शैली हो । यही शैलीअनुसार उनले यसपालि पनि आफू र नेताहरुका लागि पद विभाजन गर्नेछन् ।
गंगा बीसी

काठमाडौँ — माओवादीको सातौं महाधिवेशन (२०६९ माघ) मा हेटौंडामा भइरहेका बेला देशमा संविधानका विषयवस्तुमा भीषण संघर्ष भइरहेको थियो । माओवादी र मधेसी एकातिर, कांग्रेस र एमाले अर्कोतिर । माओवादी सबभन्दा ठूलो राजनीतिक दल रहेको संविधानसभा संविधान बनाउन नसकी विघटन भइसकेको थियो ।

तर माओवादीका सयौं नेता, हजारौं कार्यकर्ता ‘विद्रोहको राप र ताप’ बोकेर हेटौंडामा भेला भएका थिए । हुप्रा चौरमा सातौं महाधिवेशन भव्य उद्घाटन गरेको माओवादीले बन्द भएको हेटौंडा कपडा उद्योगमा बन्दसत्र गर्दा देशमा उत्सुकता थियो ।

हेटौंडा महाधिवेशनले पार्टी र देशको समृद्धिका लागि के कस्ता नीति लिएको थियो भन्ने सम्झना स्वयं माओवादी नेतृत्वलाई नै छैन । तर, अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गरेको तत्कालिक नीतिअनुरूप सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर देश चुनावमा गएको थियो ।

तर आठौं महाधिवेशनमा न त्यस्तो रौनक छ न उत्सुकता । राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा बढुवा गरेर माओवादीले ‘मौन’ महाधिवेशन आइतबार सुरु गरेको छ । हेटौंडा महाधिवेशन जस्तो प्रतिनिधिको भीडभाड यसपालि छैन, सातौं महाधिवेशनमा सात हजार प्रतिनिधि थिए, यसपालि १६८१ मात्रै सहभागी छन् ।

ठूला राजनीतिक कार्यक्रम होइन, विचार गोष्ठीहरू हुने राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशन उद्घाटन गर्दै दाहालले ‘क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि निर्मम’ नीति लिने दाबी गरेका छन् । तीन दशक बढी पार्टीको नेतृत्वमा रहेका दाहालले आफने राजनीतिक प्रतिवेदनमा आत्मसमीक्षा, आत्मालोचना गरेको बताए । ‘विचार संगठन रणनीति कार्यनीतिमा कहाँ चुक्यौ । सबभन्दा बढी आत्मसमीक्षा मेरै गरेको छु । मैले प्रमुख नेताका हैसियतले मभित्र नै खोज्नुपर्छ,’ उनले भने, ‘हामी कहाँ आइपुगेका छौं । हाम्रा चुनौती के छन् ? सामना कसरी गर्ने ? विषय छन् ।’

दाहालले भनेजस्तै उनले राजनीतिक प्रतिवेदनमा आत्मालोचना गरेको विषयमा कसैलाई पनि शंका छैन । तर नीति र नेतृत्वको समीक्षा आफैं गर्ने, तिखो आत्मालोचना गर्ने र आफूले आफैंलाई थप जिम्मेवारी दिने उनको पुरानै शैली हो । यही शैलीअनुसार उनले नेताहरूलाई पनि पद विभाजन गर्नेछन् । अध्यक्ष दाहाल र सिंगो माओवादीले लिने नीति कति कार्यान्वयन होला भन्नेबारे स्वयं माओवादी नेतामा नै कौतुहल छैन ।

‘खुट्टा हेरेर जुत्ता बनाउने कि जुत्ता हेरेर खुट्टा ?’ एक नेताले भने, ‘अध्यक्ष आफ्नो अनुकूल हुने गरी नीति बनाउनु हुन्छ न कि जनतालाई अनुकूल हुने गरी ।’ हुन पनि महाधिवेशन उद्घाटनकै दिन बिहान विधान संशोधन गरेर माओवादीले एक वरिष्ठ र ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र तीन सचिव बनाउने भएको छ । स्थायी कमिटीका सबै नेतालाई पुग्ने गरी पद सिर्जना गर्न माओवादीले विधान संशोधन गरेको हो ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

दाहालको राजनीतिक प्रतिवेदनमा सोमबार बन्दसत्रमा प्रस्तुत हुनेछ । माओवादीको टुटफुट र वैचारिक अस्पष्टताका कारण कमजोर धरातलमा उभिएको महाधिवेशनले आगामी दिनका लागि भने बलियो रणनीति बनाउने नेतृत्वको दाबी छ । ‘समाजवाद उन्मुख समृद्धि हुँदै सामाजिक विकास र न्यायको नयाँ युगतर्फ देशलाई लैजाने, यो देशको सबै उत्पीडित जाति, क्षेत्र, समुदायका हक अधिकारलाई सुरक्षित गर्ने के उपाय हुन सक्छ ? भन्ने विषयमा नयाँ र परिमार्जित कार्यनीति र रणनीति प्रस्तुत गरिएको छ,’ दाहालले आफ्नो कार्यदिशाबारे बताए ।

सत्ता र शक्तिमा आएपछि माओवादी आधारभूत वर्गबाट टाढिँदै गएको गुनासो छ । सशस्त्र संघर्ष गर्नुअघि र त्यसपछि श्रम शिविर गरेर आकर्षित गरेका माओवादी पछिल्लो समय श्रम नगरी लाभ लिने अवस्थामा पुगेको दाहालको प्रतिवेदनमा छ । ‘यो संविधानमा जे परिकल्पना गरेका छौं, पहिले आफैं बदलिनुपर्छ । पार्टी बदलिनुपर्छ । जनतासँग जोडिने श्रमसँग जोडिने काम गर्नुपर्छ र उत्पादन श्रम र संस्कृति अभियान सुरु गर्नुपर्छ,’ दाहालले अघि सारेको नीतिमा उल्लेख छ ।

नेता नारायणकाजी श्रेष्ठले महाधिवेशनले राजनीतिक कार्यदिशाका रूपमा चार काम गर्ने बताए । उनले राजनीतिक कार्यदिशामा ‘समाजवाद उन्मुख एक्काइसौं शताब्दीको स्पष्ट मोडेल’ सहित तत्कालीन काम अघि सार्ने बताए । ‘पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्‍यो । सामूहिक ढंगले चलाउनुपर्‍यो । व्यक्तिवाद गुटवादविरुद्ध जानुपर्‍यो,’ उनले भने ।

माओवादीमा भ्रष्टीकरणको प्रभावबाट मुक्त पार्ने गरी छलफल हुने उनको भनाए छ । ‘समाज भ्रष्टीकरणको प्रभाव हाम्रो पार्टीमा पनि छ । त्यसलाई रूपान्तरण गर्नुपर्छ,’ उनले थपे ।

‘शोषित पीडित वर्ग र जनतासँग सम्बन्ध घट्दै गएको छ । दलाल नोकरसाहीसँग सम्बन्ध बढ्दै गएको छ । त्यसलाई समीक्षा गरेर आमजनतासँग सम्बन्ध गाढा गराई उनीहरूको हित हेर्नुपर्छ,’ श्रेष्ठले भने । उनले महाधिवेशनले यी विषयमा केन्द्रित भएर नीति तय गर्ने तयारी भएको जानकारी दिए । ‘यी काम गर्न सक्यौं भने क्रान्तिकारी पार्टी बनाउन सक्छौं । समृद्धि र समाजवादको नेतृत्व गर्न सक्छौं,’ उनले भने, ‘हैन भने यो पार्टीको औचित्य नै गुमाउँछौं । यसलाई सम्बोधन गर्नुपर्छ ।’

कार्कीले फरक मत राख्ने

अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्ने भएका छन् । स्रोतका अनुसार उनले फरक मत बन्दसत्रमा वितरण गर्न आग्रह गर्दै दाहाललाई बुझाएका छन् ।

‘मैले अध्यक्षलाई आगामी कार्यदिशाबारे प्रतिवेदन बुझाएको छु,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षले बन्दसत्रमा वितरण गर्नु हुन्छ कि हुन्न सोमबार थाहा हुन्छ ।’ आइतबार बिहान केन्द्रीय समिति बैठकमा कार्की, परशुराम तामाङ, धर्मनन्द देवकोटाले फरक मत राख्न पाउनुपर्ने धारणा राखेका थिए । ‘हाम्रो विचारमा दमन नगरियोस्’ बैठकमा उनीहरूले भनेका थिए ।

प्रकाशित : पुस १२, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

कमजोर धरातलमा ‘क्रान्तिकारी’ बन्ने चुनौती

शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले आफ्नो शक्तिलाई बेलैमा चिनेर रुपान्तरण गर्न सकेन, निम्नवर्गको उत्थानका लागि आफूले उठाउँदै आएका मुद्दा नछाडेको भए, ती मुद्दालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न इमानदार देखिएको भए माओवादी सफल बन्न सक्थ्यो
गंगा बीसी

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहाललाई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् ।

पार्टीबाट ती नेता बाहिरिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौकाचाहिँ छैन । राजनीतिक, वैचारिक र सांगठनिक रूपमा फरक मत राख्ने नेताहरू नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ । के अब नयाँ माओवादी पार्टी निर्माण होला ? दाहालले पार्टी निर्माणका लागि निर्मम कदम चाल्ने बताएका छन् । पार्टीको आइतबारदेखि सुरु हुने महाधिवेशनबाट दाहाल पुनः अध्यक्ष हुने निश्चितजस्तै छ ।

उनी तीन दशकभन्दा बढी पार्टीको नेतृत्वमा रहिसकेका छन् । उनले आफू नेतृत्व छोड्न तयार भए पनि केही वर्ष सक्रिय हुनुपर्ने स्थिति आएको बताए । ‘मलाई अहिले पनि व्यक्तिगत रूपले मेरो उमेर, अवस्था, परिवारको स्थिति हेर्दा अर्को खालको भूमिका खेलेर संस्मरण लेखेर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ दाहालले भने, ‘तर देशको आवश्यकता, लोकतन्त्रको अवस्था हेर्दा र पार्टीमा उत्तराधिकारीहरू तयार पार्ने आवश्यकता हेर्दा अझ केही वर्ष नेतृत्व गर्नुपर्ने बाध्यता देख्छु ।’

पार्टीबाट बाहिरिएका माओवादी नेताहरूलाई जोड्ने प्रयासमा लागेकाले अझै नेतृत्वमा रहनु आवश्यक रहेको उनको भनाइ छ । ‘प्रचण्ड नै त्यस्तो पात्र हो, जसले यी सबै नेताहरूको टिमलाई तीस वर्ष सँगसँगै राखेको थियो भन्ने बुझ्नुपर्‍यो,’ उनले भने, ‘अहिले म सबैलाई ल्याउनेमा छु । गल्ती कहाँ भयो त भन्ने समीक्षा गरेर, कमरेडहरूलाई उत्प्रेरित गरेर, हामी सबै एक ठाउँमा हुनुपर्छ ।’

माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले माओवादी विभिन्न धारामा विभाजित भएको उल्लेख गर्दै वैचारिक राजनीतिक रूपमा फरक रहेको बताए । ‘सबै माओवादी एक ठाउँमा आउने सम्भावना हामी देख्दैनौं, माओवादी केन्द्रले आफूलाई क्रान्तिकारी भन्छ, कार्यदिशा, लाइनमा क्रान्तिकारी नहुने, शब्दमा भनेर हुँदैन,’ उनले भने, ‘माओवादी केन्द्रले वर्तमान राज्यसत्ता, संसदीय व्यवस्था, संविधान सबैको रक्षा गर्ने भनेपछि नयाँ ठाउँमा आउने देख्दैनौं ।’ अध्यक्ष दाहालले भने वैद्य र नेत्रविक्रम चन्दसँग एक ठाउँमा आउने विषयमा कुरा भइरहेको बताए । ‘इमानदार कम्युनिस्टलाई एक ठाउँमा ल्याउने प्रयास चलेको छ,’ उनले भने, ‘म माथि जानुभन्दा पहिला फेरि एक पटक सबैलाई जुटाएर आरामसँग जान पाए हुन्थ्यो भन्ने छ ।’

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भएपछि माओवादीमा दम्भ सुरु भयो । युद्धको धङधङीले त्यो दम्भ आउनु अस्वाभाविक थिएन किनकि त्यसबेलासम्म ऊसँग युद्धको रापताप बाँकी नै थियो ।

जब माओवादी शान्ति प्रक्रियामा आयो, तब अन्तरकलहमा फस्यो । सरकारको नेतृत्व गरिसकेपछि पनि माओवादीको कार्यदिशा मुखमा शान्ति प्रक्रिया, मनमा जनविद्रोह थियो । बाहिर शान्ति प्रक्रियाबाट संविधान निर्माण, भित्र जनविद्रोहको तयारी । यहींबाट माओवादी विरोधाभासमा फसेको हो ।

पार्टीमा मोहन वैद्य समूह जनविद्रोहको पक्षमा थियो । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई अग्रगामी संविधान निर्माणको पक्षमा उभिए । पार्टीभित्र लामो समयसम्म यो अन्तरसंघर्ष जारी रहेकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा भ्रम सिर्जना भयो । अहिले पनि यो भ्रम रहेकामा अध्यक्ष दाहाल जानकार छन् । महाधिवेशनपछि पार्टी निर्माणका लागि चाल्ने अभियानलाई अन्यथा ठान्न नहुने दाहालले बताए । ‘पार्टीका तर्फबाट हुने राजनीतिक अभियान हो, फेरि हामी अहिलेको प्रक्रिया छोडेर हिँड्न लागेको हो कि भन्ने कतिपयलाई लागेको हुन सक्छ, यो प्रक्रिया छोड्ने भनेको होइन,’ उनले स्पष्ट गरे ।

२०६३ वैशाखमा बालाजुमा भएको विस्तारित बैठक तथा २०६६ मंसिरमा खरिपाटी र २०६७ मंसिरमा गोरखाको पालुङटार प्लेनमसम्म पुग्दा माओवादी शान्तिपूर्ण बाटोबाट संविधान निर्माण कि जनविद्रोह भन्ने आन्तरिक द्वन्द्वमा फस्यो । शान्ति प्रक्रियाप्रति असहमति जनाउँदै वैद्यले २०६९ मा तत्कालीन माओवादीबाट अलग भई नयाँ पार्टी घोषणा गरे । माओवादी शक्ति त्यहींबाट कमजोर हुन थाल्यो ।

२०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता गरिसकेपछि माओवादीले राजनीतिक कार्यदिशा स्पष्ट गर्न सक्नुपर्थ्यो । त्यतिबेला उसले बहुदलीय प्रतिस्पर्धात्मक बाटोबाट अघि बढ्ने स्पष्ट निर्णय गरेको भए माओवादीप्रति शंका/उपशंका हुने थिएन । २०६४ मा भएको पहिलो संविधानसभामा सबैले विश्वास गरी ठूलो पार्टी बनाइसकेपछि फेरि विद्रोहको रणनीति लिएपछि जनताले धोका दिएको महसुस गरे । १० वर्ष सशस्त्र द्वन्द्व भोगिसकेका जनताका लागि फेरि विद्रोह स्वीकार गर्नर् सक्ने अवस्था थिएन । त्यसैले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीलाई जनताले पत्याएनन् ।

शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले आफ्नो शक्तिलाई बेलैमा चिनेर रूपान्तरण गर्न सकेन । उसले शान्तिपूर्ण राजनीतिमा आफूलाई अब्बल सावित गर्न जुन कसरत गर्नुपर्ने थियो, त्यो गरेन । मुलुक रूपान्तरणका लागि शान्तिपूर्ण राजनीतिमा माओवादी इमानदार भएको भए, यो अवस्था नआउन पनि सक्थ्यो । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई कारबाही गर्ने असफल प्रयास नगरेको भए, राजधानीमा विद्रोह गर्ने भन्दै २०६७ जेठमा राजधानी घेराउ गर्ने प्रयास नगरेको भए र बेलाबेला विद्रोहको असफल हुँकार नगरेको भए माओवादी कमजोर बन्ने थिएन । निम्नवर्गको उत्थानका लागि आफूले अघि सारेका मुद्दा नछाडेको भए, ती मुद्दालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न इमानदार देखिएको भए माओवादी सफल बन्न सक्थ्यो ।

मुख्यगरी राजनीतिक कार्यदिशा बदलिरहने रणनीतिका कारण माओवादी अस्थिर शक्तिका रूपमा रह्यो । अस्थिर राजनीतिक शक्ति सरकार बनाउन, ढलाउन हतियार बन्न सक्छ तर ऊ कतिबेला भत्किन्छ टुंगो हुँदैन । चाँडो–चाँडो बदलिरहने कार्यदिशाले राजनीतिक पार्टीलाई उँधो लगाउँछ । सशस्त्र छापामार युद्धमा चाँडो–चाँडो रणनीति बदल्दा सफलता पाउन सकिन्छ तर शान्तिपूर्ण राजनीतिमा त्यो काम लाग्दैन । त्यसको उदाहरण माओवादी हो । ऊ जति युद्धमा सफल थियो, शान्ति प्रक्रियापछि आंशिक सफलता मिल्यो ।

विस्तृत शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले त्यसयता दर्जनौं सम्झौता गरिसकेको छ । २०६३ मा शान्ति सम्झौता गरेपछि माओवादीले युद्ध स्थगित गर्‍यो । २०६९ चैतमा लडाकुका सम्पूर्ण हतियार नेपाली सेनालाई बुझाएपछि पूर्णरूपमा निःशस्त्र भयो । शान्ति प्रक्रियामा आएको करिब १५ वर्षमा उसले समाज रूपान्तरणका लागि अग्रगामी मुद्दा छोड्दै गयो । १५ वर्षको अवधिमा १० वर्ष माओवादी सरकारमा सहभागी भइसकेको छ । अध्यक्ष दाहाल (२०६५, २०७३) ले दुई पटक र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई (२०६८) ले एक पटक सरकारको नेतृत्व गरे । सरकारमा सहभागी भइसकेपछि माओवादीले अरूभन्दा फरक काम गर्न सकेन ।

माओवादीले राजनीतिक धरातल निम्न (गरिब) वर्गलाई भुलेको आरोप लागेको छ । विश्लेषकका अनुसार उसले न आफ्नो धरातल टेक्यो, न आकाश चुम्न सक्यो । माओवादीले सशस्त्र युद्धमा उठाएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्दा स्थापित भए । तर माओवादीले ती मुद्दाको पूर्ण स्वामित्व लिन सकेन । आफैंले लिएका मुद्दा बलियो बनाउने दिशामा अघि बढेन । त्यसको उदाहरणका रूपमा प्रदेश सरकार देखिएको छ । सरकारमा सहभागी भए पनि प्रदेशलाई बलियो बनाउने दिशामा उसले काम गर्न सकेन । एमालेसँग पार्टी एकतापछि बनेको सरकारले प्रदेश अनुकूल हुने गरी कानुन निर्माण गरेन । बरु प्रदेशका अधिकार संकुचन गर्ने (प्रहरी, कर्मचारी) कानुन बनायो । त्यसबेला माओवादीका नेताहरू सरकारमा थिए तर चुपचाप बसे । उनीहरूले आफ्नै एजेन्डा भुले ।

आकाश छुने उद्देश्य राखेको माओवादीले सरकारमा सहभागी भएपछि आफ्नो धरातल छोड्यो । नेता राम कार्कीले भने, ‘अरू पार्टीजस्तै हामीले पनि धरातल छाडेको हो । अब आफ्नो एजेन्डामा टेकेर अघि जानुपर्छ, एजेन्डामा नउभिने हो भने माओवादी नाममात्र रहन्छ ।’ अध्यक्ष दाहालले अब निम्नवर्गतिर फर्कने नीति लिने बताए । ‘जुन कारणले हाम्रो पार्टी अरूजस्तै पद, प्रतिष्ठा र स्वार्थका निम्ति लाग्नेजस्तो भयो, जनताबाट बिस्तारै कट्याजस्तो भयो,’ उनले भने, ‘अब जनतातिर फर्किने, फेरि उत्पादनसँग, श्रमसँग, श्रमिक वर्गसँग जोडिनेतिर जान्छ ।’

सिद्धान्त र व्यवहारको बेमेल

माओवादीले पथप्रदर्शक सिद्धान्तका रूपमा मान्दै आएको मार्क्सवाद, लेनिनवादले भन्छ– व्यवहारमा नउतारिएको सिद्धान्त काम लाग्दैन । माओवादीले लिएका नीति निम्नवर्गको हितमा भनिएको छ तर सरकारमा सामेल भइसकेपछि उसले निम्नवर्गका लागि नीतिलाई व्यवहारमा प्रयोग गर्न सकेन । जसका कारण माओवादीप्रति निम्न र मध्यमवर्गको विश्वास घट्दै गयो ।

खासगरी ग्रामीण क्षेत्रका भुइँमान्छेका लागि शिक्षा, स्वास्थ्य, रोजगारसम्बन्धी कार्यक्रम लागू गर्न सरकारमा भएका बेला पहल गरेको भए ती मान्छे माओवादीप्रति सकारात्मक हुने थिए । माओवादी नेताहरूको वरिपरि देखिने समूह निम्न वर्गीय धरातलबाट माथि उक्लिइसकेको छ । त्यो वर्ग श्रमबाट टाढिएको छ र श्रम नगरी कमाउने धन्दामा लागेको छ । आफ्ना सिद्धान्त, मूल्य, मान्यतालाई व्यवहारमा उतार्न माओवादी चुक्यो । नेताहरू पारदर्शी भएनन्, कार्यकर्ता अपारदर्शी ढंगबाट कमाउने बाटोमा लागे । उनीहरू निम्नवर्गबाट टाढा हुँदै गए । यसको अर्थ हो, माओवादीले आफ्नो वर्गलाई भुल्यो ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले सिद्धान्तलाई व्यवहारमा उतार्न सजिलो नभएको बताए । ‘माओवादी केन्द्रका नेताहरू क्रान्तिकारी कुरा गर्नुहुन्छ, यही संसदीय व्यवस्थालाई बचाएर जाने भन्नुहुन्छ,’ वैद्यले भने, ‘सिद्धान्तलाई व्यवहारमा उतार्न ठूलो मिहिनेत गर्नुपर्छ ।’ उनले माओवादी केन्द्रको राजनीतिक लाइन गलत दिशामा गएकाले ‘क्रान्तिकारी’ बाटोमा फर्कन नसक्ने बताए ।

माओवादी अध्यक्ष दाहालले बेलाबेला भन्दै आएका छन्, ‘माओवादी अर्कै धातुले बनेको पार्टी हो ।’ सशस्त्र युद्धको बलमा स्थापित पार्टी भएको हुनाले माओवादी अरूभन्दा फरक भयो । उसको पहिचान नै पूर्वविद्रोही शक्ति हो । त्यो विद्रोही शक्तिलाई संविधानसभा र संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले अनुमोदन गर्‍यो । अरू पार्टीजस्तै देखिनु र आममानिसलाई त्यस्तै लाग्नु माओवादीका लागि घातक छ । विद्रोहको रूपान्तरण समाज परिवर्तनमा देखिनुपर्ने हो, खासगरी सामान्य नागरिकको जीवनमा । अध्यक्ष दाहाल माओवादी अरू पार्टीजस्तै भएको स्वीकार गर्छन् । ‘आज यो पार्टी र अरू पार्टीको भिन्नता देखिन छोड्यो, सबै उस्तै हुन् भन्याजस्तो जो बन्न गयो,’ दाहालले कान्तिपुरसँग भने, ‘सबैभन्दा मुख्य कुरा विचार, राजनीतिक उद्देश्य र मिसनमा स्पष्टता हुनुपर्छ,’ उनले भने, ‘हामी जाने कहाँ हो, गर्ने के हो भन्ने कुराको एउटा वैचारिक राजनीतिक कार्यदिशामा अस्पष्टताका कारणले यो भएको भन्ने हाम्रो ठहर छ ।’

पूर्वमाओवादी नेता एवं विश्लेषक मुमाराम खनाल माओवादी सैद्धान्तिक र व्यावहारिक विरोधाभासमा फसेकाले पहिचानमा संकट आएको बताए । ‘माओवादीको दस्ताबेजमा वामपन्थी लफ्फाजी बाँकी छ,’ उनले भने, ‘क्रान्तिकारी कुरा गर्नु तर व्यवहारमा उतार्न नसक्नु आफैंभित्रको अन्तरविरोधका कारण हो ।’ उनले माओवादी ‘प्रचण्डपथ’ जस्ता स्थगित भइसकेका विषय बहसमा ल्याएर पछाडि फर्कन खोजेको बताए । ‘माओवादीले यस्ता पुराना बहस ल्याएर पछाडि जान खोज्दै छ, अगाडि जाने ठोस योजना देखिएन,’ उनले भने, ‘संविधानलाई सुदृढीकरण गरेर अघि जानुपर्ने हो ।’

प्रकाशित : पुस ११, २०७८ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×