कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
माओवादी महाधिवेशन

नेता व्यवस्थापन गर्न पदाधिकारी थप

अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक जना कोषाध्यक्ष 
बबिता शर्मा

काठमाडौँ — माओवादी केन्द्रले महाधिवेशनको पूर्वान्हमा १५ सदस्यीय पदाधिकारी रहने विधान संशोधन गरेको छ । उद्घाटनकै दिन आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकबाट संशोधित विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहनेछ । 

नेता व्यवस्थापन गर्न पदाधिकारी थप

पदअनुसारका नेता छान्न होइन, नेताअनुसारको पद दिन माओवादीले पदाधिकारी संख्या बढाएको हो । माओवादी पुष्पकमल दाहाल पदेन अध्यक्ष जस्तै छन् । अन्य सीमित पदका लागि आकांक्षी धेरै भएपछि पद पनि बढाइएको हो । नेताको आकांक्षा सम्बोधन गर्न माओवादीले करिबकरिब एमालेकै जस्तै संरचना सिर्जना गरेको छ ।

एमालेमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र सात सचिव छन् । अहिले स्थायी कमिटीमा भएका सबैजसो नेतालाई कुनै न कुनै पद दिने गरी माओवादीले विधान संशोधन गरेको हो । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन् । माओवादी स्रोतका अनुसार दाहालले उपाध्यक्षमा कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतको सम्भावना छ ।

महासचिवमा जनार्दन शर्माको मुख्य दाबी छ भने पम्फा भुसालको सम्भावना छ । भुसाललाई महासचिव बनाउन नसके उपाध्यक्ष वा कोषाध्यक्ष बनाउने दाहालको तयारी छ । गुरुङ पनि महासचिव हुन चाहेका छन् तर उनलाई उपाध्यक्षमै व्यवस्थापन गर्ने सम्भावना छ ।

दुई उपमहासचिवमा हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, गणेश साहलगायतको दाबी छ । यद्यपि गजुरेलले महासचिव वा उपाध्यक्षमध्ये एकमा आफ्नो दाबी रहेको बताएका छन् । उपमहासचिवमा नअट्ने नेतालाई सचिव बनाउने तयारी छ ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गर्दै पछाडि परेका समुदायलाई नेतृत्वमा ल्याउन खोजेको छ । कुल २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित विधानमा महिला ३५, युवा २०, दलित १५ र मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने उल्लेख छ । केन्द्रीय समितिबाट पारित विधानमा दलित समुदायलार्ई विशेषाधिकारको व्यवस्थासहित पार्टी संरचनामा प्रतिनिधित्व बढाउने नीति लिएको छ ।

केन्द्रीय कमिटीमै पहिलो पटक १५ प्रतिशत दलित समुदायका प्रतिनिधित्वको व्यवस्था गरेर माओवादीले विशेषाधिकारको अभ्यास सुरु गरेको हो । महाधिवेशनबाट विधान पारित भएसँगै केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जनाको प्रतिनिधित्व हुनेछ, जसमा महिला १३, युवा महिला ३, युवा पुरुष ६ र खुला २३ जना रहनेछन् । माओवादीले प्रदेश र स्थानीय तहमा पनि दलितका लागि १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको छ ।

विधानअनुसार केन्द्रीय समितिमा मुस्लिमबाट १५ जनाको प्रतिनिधित्व हुनेछ, जसमा महिला चार, युवा महिला एक, पुरुष दुई र खुला आठ जना हुनेछन् । केन्द्रीय समितिमा कम्तीमा ६७ महिला हुनेछन् । ४८ युवाको प्रतिनिधित्व हुँदा त्यहाँ महिला १७ र पुरुष ३१ जना हुनेछन् । १ सय २४ सदस्यमा खुला प्रतिस्पर्धा हुनेछ । यसैमा खस, आर्य, मधेसी, थारू, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति आउनेछन् ।

आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्र सोमबारबाट सुरु हुने भएको छ । बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन र देव गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रतिनिधिलाई १५ भन्दा बढी समूहमा विभाजन गरेर छलफल गराउने तयारी छ । समूहगत छलफलपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ । महाधिवेशन पुस १५ सम्म चल्नेछ ।

प्रकाशित : पुस १२, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?